भर्खरै :

पुँजीवादी व्यवस्थामा उच्छृङ्खल र आपराधिक गतिविधि

पुँजीवादी व्यवस्थामा उच्छृङ्खल र आपराधिक गतिविधि

पुँजीवादी व्यवस्थामा स्वतन्त्रता र खुलाको नाउँमा अराजनीतिक र उच्छृङ्खलमात्र होइन आपराधिक क्रियाकलाप पनि हुन्छ । पुँजीवादी शासकहरूले स्वतन्त्र र खुलाको भजन गाएर आपराधिक क्रियाकलापमा छुट दिइरहेका हुन्छन् । पुँजीवादी समाजमा चोरी चकारी गर्ने, भ्रष्टाचार र अनियमितता गर्ने र कालाबजारियाहरूको हाली मुहाली हुन्छ । समानता र सत्यले स्थान पाउँदैन । धर्म र रुढीवादी परम्परा भन्दै भ्रमको खेती भइरहेको छ । भ्रमको खेती चिर्ने काम राज्यले गरिरहेको छैन, सत्तासीन दलका नेताहरूले गरिरहेका छैनन् । अन्धविश्वासमै लागेर कति मान्छेको मृत्यु भइरहेको छ । जस्तोसुकै बिरामीलाई पनि झारफुक गरेर निको हुन्छ भन्ने मान्यताले गर्दा अनाहकमा सर्वसाधारण जनताले दुःख पाइरहेका छन् । मान्छेमा राजनीतिक चेतनाको कमीले गर्दा सर्वसाधारण जनता भ्रमजालमा परेका छन्, अनावश्यकरूपमा शारीरिक यातना र मानसिक यातना भोगिरहेका छन् । सर्वसाधारण जनताको राजनीतिक चेतना र सांस्कृतिक स्तर उठाउने काम भइरहेको देखिँदैन । नागरिक भावना जगाउने काम पनि राज्यले गरिरहेको छैन ।
व्यवस्था बदलियो र राजनीतिक परिवर्तन भयो । तर, संस्कार यथावत रह्यो । यसकारण, अन्धविश्वास र कुरीतिले ठाउँ पाइरह्यो । देशमा अन्धविश्वास र कुरीतिको मात्र समस्या होइन, राज्यले आपराधिक क्रियाकलाप पनि रोक्न सकेको छैन, महिला बेचबिखन रोक्न सकेको छैन । मानव तस्करी भइरहेकै छ । अपहरण गर्ने र बेपत्ता पार्ने काम रोकिएको छैन । चोरी चकारी बढ्दो छ । कहिले बोक्सीको नाउँमा त कहिले धामीझाँक्रीको नाउँमा महिलाहरू शारीरिक र मानसिक यातना सहन बाध्य छन् । यो मानवीय तथा सामाजिक दृष्टिकोणले निन्दनीय काम हो । यस्ता अमानवीय क्रियाकलाप रोक्न राज्यका संयन्त्रहरू सक्रिय हुनुपर्छ । नियन्त्रण गर्न कडाइ गर्नुपर्छ । बाध्य पारेर श्रममा बेच्नेलगायतको मानव तस्करीको जालोमा फसाउने कार्यप्रति सरकार गम्भीर हुनुपर्छ । यस्ता अपराधहरू नियन्त्रण गर्न एकचोटि एक समय सक्रिय भएर पुग्दैन । सरकारी संयन्त्रको बेवास्ता या कमजोरीले गर्दा नै अपराध नियन्त्रण नभएको हो, अपराधीहरू कारबाहीमा नपरेका हुन् । अपराध नियन्त्रण गर्न सरकार निरन्तर नलागेसम्म र अपराधीहरूलाई उचित कारबाही नगरिएसम्म यहाँ अमानवीय र आपराधिक क्रियाकलापहरू बारम्बार दोहोरिरहने छन् । सरकारले गर्नुपर्ने जिम्मेवारी छोडेर सत्ताको भागबन्डामा अल्झेर जनताको समस्या र पीडालाई भुल्ने काम सरकारको गैरजिम्मेवारी हो । यसतर्फ सत्तासीन दलका नेताहरूको ध्यान जाने कहिले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *