भर्खरै :

भक्तपुर काण्डको षड्यन्त्र रच्दा पञ्चायतकै अन्त्य

भक्तपुर, १३ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा २०४५ साल भदौ ९ को भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले षड्यन्त्रकारी पञ्चायती निरङ्कुश व्यवस्थाले एक जना व्यक्तिलाई बलिको बोको बनाएर नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले रचेको षड्यन्त्रकै कारण पञ्चायत आफै अन्त्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जो आगोसँग खेल्छ उ आगोमै मर्छ जो पानीसँग खेल्छ त्यो पानीमै मर्छ” भन्ने कुरा पुस्टि भयो । राजनैतिक कार्यकर्ताहरू समस्या प¥यो भनेर आत्तिनु हुन्न । आइपरेको हरेक समस्यासँग जुझ्दै अघि बढ्नुपर्छ ।”
राजनैतिक कार्यकर्ताहरू कहिले पनि आलोचना आत्मालोचनादेखि डराउन नहुने विचार व्यक्त गर्दै उहाँले हिजोका अग्रज किसान कार्यकर्ताहरू अशिक्षित भए पनि पार्टीको निर्देशनअनुसार लागि पर्थे, उनीहरूको लागि बैठक, सभा, गोष्ठी नै कक्षा हुन्थ्यो भन्नुभयो । किसानहरू अनुशासित र सङ्घर्षशील थिए । विगतको सङ्घर्षका इतिहासबाट आजको नयाँ पुस्ताले अध्ययन गर्नु आवश्यक छ । पार्टी प्रकाशन, पत्रपत्रिका अध्ययनलाई निरन्तरता दिनुपर्छ । हरेक कार्यकर्ताहरूले आफ्नो स्वास्थ्यप्रति ध्यान दिई समय–समयमा परीक्षण गरिरहनुपर्छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले शासक दलका नेता कार्यकर्ताहरूले राजनीतिलाई गलत व्याख्या गरेर पैसा कमाउने माध्यम बनाएकै कारण देशमा गुण्डागर्दी, भ्रष्टाचारी, कमिसनखोर र दलालीहरू बढेका छन् । राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्न हो, नेपाल मजदुर किसान पार्टीले देश र जनताको निःस्वार्थ सेवा गरेकै कारण भक्तपुर काण्ड रचेको हो भन्नुभयो ।
बाग्मती प्रदेश सभासद् एवम् नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुरका अध्यक्ष सृजना सैंजुले विगतको सङ्घर्ष, आन्दोलनबाट पाठ सिकेर आजका नयाँ पुस्ता अघि बढ्दै छ, भक्तपुर काण्डको कष्टकर सङ्घर्ष कहिल्यै नमेटिने इतिहास बनेको छ । भक्तपुर काण्डकै कारण महिलाहरूले राजनैतिकरूपले सचेत र सङ्गठित हुनुपर्ने पाठ सिकाएको छ । पञ्चायती तानाशाहीको झूट मुद्दाविरुद्ध कानुनी र गैरकानुनीरूपमा आन्दोलन गरेर देशमा प्रजातन्त्र पुनःस्थापना गर्न अवसर मिलेको हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले नेपाल मजदुर किसान पार्टीले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मानी प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थामा गएर जनतालाई राजनैतिकरूपले सचेत र सङ्गठित पारी भण्डाफोर गर्नु र भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले गरेका अतिक्रमणविरुद्ध सङ्घर्ष गरेकोले पञ्चायती निरङ्कुशहरूको आँखामा गएको धुलो सम्झेर भक्तपुर काण्डको षड्यन्त्र गरिएको हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति गोविन्द दुवालले भक्तपुर काण्ड पहिलो पनि होइन अन्त्य पनि होइन कुनै पनि बेला फरक ढङ्गले प्रतिक्रियावादीहरूले अर्काे षड्यन्त्र गर्नसक्ने सम्भावनालाई मध्यनजर राखी हामीहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा जिल्ला समितिका सदस्यद्वय केशवप्रसाद तिमिल्सिना र गंगाराम ज्याख्वले पनि भक्तपुर काण्डबारे आ–आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *