भर्खरै :

“नगरकोट क्षेत्रलाई सरकारले जलाधार क्षेत्र घोषणा गरी सुरक्षा दिनुपर्छ”

काठमाडौँ, १३ भदौ । नेपाल सरकार खानेपानी मन्त्रालयको आयोजनामा काठमाडौँ उपत्यकाभित्रका ७ वटा महानगर तथा नगर प्रमुखहरूबीच ‘उपत्यकामा खानेपानी व्यवस्थापन एवम् संस्थागत सबलीकरण’ विषयक छलफल कार्यक्रम सोमबार मन्त्रालयको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी उपत्यकामा पठाउन ढिलाइ गर्न नहुने धारणा राख्दै भक्तपुरको मुख्य पानीको स्रोत नगरकोटलाई सरकारले जलाधार क्षेत्र घोषणा गरी त्यस क्षेत्रको सुरक्षा र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरका खानेपानीका पाइपलाइनहरू निकै पुराना भइसकेको अवगत गराउँदै उहाँले ती पाइपहरू फेर्नुको विकल्प नरहेको, ढल तथा खानेपानीको पाइपसँगै राख्ननहुने र मेलम्चीको पानी नआएसम्मको लागि बोडेबाट आउने पानीको मात्रा बढाउनुपर्ने बताउनुभयो ।
महादेव पोखरीमा ड्याम बनाउने कुरा छिटो छरिटो ढङ्गले अगाडि बढाउनुपर्ने सुझाव दिँदै राख्दै प्रमुख प्रजापतिले सिस्नेरी खानेपानी आयोजनालाई विकल्पको रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले खानेपानीको स्रोत अभावलाई मन्त्रालयले वैकल्पिक उपाय अपनाएर समस्या समाधानतर्फ जोड दिनुपर्ने र केयूकेएलले उपत्यकाको खानेपानी व्यवस्थापन र आपूर्तिमा क्रियाशीलता देखाउनुपर्ने बताउनुभयो ।
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्दै उपत्यकामा नयाँ बस्तीको विकाससँगै खानेपानीको समस्याले विकराल रुप लिंदै गएको बताउनुभयो ।
वर्षामा ठूलो पानी पर्दा मेलम्ची आयोजनामा क्षति पु¥याउने खतरा रहेको हुँदा मेलम्चीको पानी पथान्तरणमा रोक लगाएको जानकारी दिँदै सचिव गेलालले दसैँ–तिहार पछाडि पुनः मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने तयारीमा मन्त्रालय अगाडि बढिरहेको बताउनुभयो ।
काठमाडौँ र ललितपुर महानगरपालिकाको तर्फबाट उपस्थित प्रतिनिधिहरूले ललितपुरका धेरै क्षेत्रमा मेलम्चीको पाइप बिछ्याउन अझ पनि बाँकी रहेको हुँदा उक्त स्थानमा पाइप बिछ्याउनुपर्ने, मेलम्चीबाहेक अन्य खानेपानी स्रोतको पहिचान र संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
इ. महेश भट्टराईले ‘उपत्यकामा खानेपानी व्यवस्थापन एवम् संस्थागत सवलीकरण’ गर्ने विषयमा प्रस्तुतीकरण देखाउनुभएको थियो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीको अध्यक्षतामा बोलाइएको उक्त बैठकमा मन्त्री अनुपस्थित भएकोले मन्त्रालयका सचिव मणिराम गेलालको अध्यक्षतामा सो बैठक भएको थियो । कार्यक्रममा केयूकेएलका सीईओ मिलन शाक्य, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, पीआईडीका प्रतिनिधि, मेलम्ची खानेपानी आयोजना, एडीबीका प्रतिनिधिहरूलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *