भर्खरै :

अग्रज किसान कार्यकर्ताको श्रद्धाञ्जली सभा

भक्तपुर, १३ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ भनपा ७ गोमारी एकाइ समितिको आयोजनामा अग्रज किसान कार्यकर्ता रामभक्त किसीको श्रद्धाञ्जली सभा आइतबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले नेमकिसङ्घको अगुवाइमा विगतमा भएको आन्दोलनहरूबारे जानकारी दिँदै ती आन्दोलनहरू सांस्कृतिक क्रान्ति भएको बताउनुभयो ।
ती आन्दोलनहरूमा अग्रज किसान कार्यकर्ता रामभक्त किसी सक्रियरूपमा सहभागी भएको उहाँले बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले देश र जनताको निम्ति सङ्घर्ष गर्ने व्यक्तिहरू जनताबीच प्रिय हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीका अग्रज नेता–कार्यकर्ताहरूको योगदानका कारण नेपाली समाज आजको यो स्थितिसम्म आएको हो । यसबारे नयाँ पुस्तालाई शिक्षित गर्नु अहिलेको आवश्यकता हो ।”
कुमार ग्वाछाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्राकिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्व, लक्ष्मीभक्त कवां, श्रीकृष्ण किसी, बलराम गोसाई, रामप्रसाद ग्वाछाले दिवङ्गत रामभक्त किसीका योगदानहरूबारे चर्चा गर्नुभएको थियो ।
अग्रज किसान कार्यकर्ता रामभक्त किसीको जन्म वि.सं. १९९६ असार ३ गते र निधन भदौ ३ गते भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *