भर्खरै :

सरकारको काम देश जोगाउनु पनि हो

राजनीतिक दलहरूको राजनीति गर्ने बलियो आधार दलको सिद्धान्त, दर्शन र विचार नै हो । राजनीतिमा दलको नीति र नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ । दलका नेताहरूले आफ्नो भूमिका निर्वाह गरेनन् या सिद्धान्त र विचार नाघेर उल्टो काम गरे भने देश बर्बादको खाडलमा जाकेको हुन्छ र देशमा एकपछि अर्को सङ्कट देखापर्न थाल्छ । सत्तासीन दलका नेताहरू देश र जनताप्रति जिम्मेवार नबनेको दृष्टान्त विदेशीलाई पनि सजिलै नेपाली नागरिकता दिने नागरिकता विधेयक पारित गर्नु हो । यो नागरिकता विधेयक भारत सरकारलाई खुसी पार्ने मेसो हो । यो नेपालीलाई अल्पमतमा पारेर फिजीकरण गर्ने कुचाल हो ।
सिद्धान्तमा अडिग नभएपछि विदेशी शक्ति राष्ट्रले आफ्नो उठबसमा राख्न बाध्य पार्छ । सरकार एकचोटि फसेपछि बारम्बार फसाउन खोजिएको हुन्छ । सरकारको कमजोरी थाहा पाएरै विदेशी शक्ति राष्ट्रले अनेक लोभलालच देखाएको हुन्छ । कहिले विकास योजना त कहिले आर्थिक सहयोगको जाल फ्याँकेर देशको घाँटी समाएको हुन्छ । भारत र अमेरिकी सरकारले नेपाललाई गरिरहेको यही हो । यस्तै विकास योजना र आर्थिक सहयोगमा नेपाल फसेको छ र फेरि फसाउने कार्य गरिरहेको हुन्छ ।
सरकार कुनै पनि लोभलालच र सहयोगमा बिक्नु हुँदैन । सरकार फस्नु भनेकै देश फस्नु हो । देश फसेपछि विकासमा बाधा हुन्छ । जनताले रोजगारी पाउँदैनन् । गरिबी बढ्छ । भोका नाङ्गाहरूको सङ्ख्या बढ्छ र अन्ततः देशमा भोकमरी बढेर देश सङ्कटमा पर्छ र देश जहिल्यै परनिर्भर भइरहन्छ । देशको जल्दोबल्दो समस्याबारे सरकारले कहिले पनि निकास खोजेन, खोज्नेतर्फ लागेन । सरकारको यही कमजोरीले गर्दा देशको मुहार फेर्न नसकेको हो । देशले विकासको मुहान फुटाउन नसकेको हो ।
सरकारको महत्वपूर्ण काममा देश जोगाउनु पनि हो । देशलाई स्वाधीन र सार्वभौम बनाइराख्नु हो । तर, विडम्बना ! देश पराधीन बन्दै गयो । अहिलेसम्मका कुनै पनि सरकार देश र जनताप्रति जिम्मेवार भएर काम गर्न सफल भएन । सत्तासीन दलका नेताहरूको यस्तै यस्तै गैरजिम्मेवारीपूर्ण कार्यले सरकारको बदनाम भएको हो, सत्तासीन दलका नेताहरू जनतामाझ उदाङ्गिएका हुन् । जनताले पनि कुन सरकारले के कस्ता देशविरोधी, जनविरोधी काम गरिरहेको छ थाहा पाउनुपर्छ । जनतामा राजनीतिक चेतना नहुँदा, सांस्कृतिक स्तर नहुँदा सत्तासीन र ठूला दलका नेताहरूको लोभमा जनता फसिरहेका छन् । त्यही कारण पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलले देशमा रजाइँ गरिरहेको छ । जनता सचेत र सङ्गठित नभएसम्म यो काम दोहोरिरहनेमा शङ्का छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *