भर्खरै :

तीज मनाऔँ विकृति नफैलाऔँ

तीज मनाऔँ विकृति नफैलाऔँ

नेपाल विभिन्न जनजाति, भाषाभाषी र धर्मावलम्बीहरूको देश हो । यिनीहरूको आफ्नै रहनसहन, पहिरन र चाडपर्व छ । आफ्नै नाचगानहरू छन् । आ–आफ्नै भेषभूषा छन् । हरेक जनजातिले आफ्नो पहिरन, भाषा, धर्म, नाचगान र चाडपर्वलाई जीवन्तता दिनुपर्छ । चाडपर्व मानेर निरन्तरता दिनुपर्छ । त्यसको संरक्षण गर्नुपर्छ । अहिले तीज पर्व हाम्रो घर आँगनमा पुगेको छ । तीजको आफ्नै महिमा छ, मूल्य र मान्यता छ । यसलाई संरक्षण गरेर जीवन्तता दिनुपर्छ । तर, अचेल चाडपर्व र नाचगानमा विकृति भित्रिएको छ । चाडपर्वलाई भड्किलो र खर्चिलो बनाइएको छ ।
हो, संस्कृति मनाउनुपर्छ तर, विकृति निम्त्याउनु हुँदैन । यो तीज पर्वमा पनि विकृति भित्रिएको छ । महिना दिनदेखि नै तीजको नाउँमा होटेल, रेष्टुराँ या त्यस्तै अन्य स्थानमा नाचगान गरिरहेको हुन्छ । महिना दिनदेखि नाचगान गर्नु ठीक या बेठीक । नाचगानमा सरिक महिलाहरू लुगाफाटा र गरगहनाले सजिएका हुन्छन् । त्यसमाथि भर्खरका नवजवान केटीहरू अर्धनग्न भएर नाचेका हुन्छन् । गीत पनि युवायुवतीको मन तान्ने खालको हुन्छ । नाच परम्परागत हुँदैन, पच्छिमेली शैलीको हुन्छ । नाचगान र पहिरनमा मौलिकता हुँदैन । सबै पच्छिमेली शैलीले ढाकेको हुन्छ । त्यसरी छोटो लुगा लाएर नाचेर तीज कसरी संरक्षित हुन्छ ? तीजको परम्परा कसरी कायम हुन्छ ?
माइत आइपुग्ने चेलीले धक फुकाएर आफ्नो मनको बह पोखेर नाचगान गर्ने यो पर्व बिस्तारै हराउँदै गएको छ । भए पनि कहीँकतै मात्र देखिएको छ । तर, देवालयहरूमा भइरहेका नाचगान यथावत देखिन्छ । तीजको धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई ओझेलमा पार्नु उचित होइन । समयसँगै घरपरिवारमा पहिलेजस्तो मानसिक दबाब र झैझगडा कम हुँदै गइरहेको बेला पहिलेको जस्तो पीडाका गीत कम हुनु अस्वाभाविक होइन । हामीले हाम्रो चाडपर्वको मौलिकता जोगाउनुपर्छ या विकृति भित्र्याउनु हुँदैन । मूल्य र मान्यता छोडेर पर्व मनाइएमा ती पर्वहरूको मूल्य नयाँ पुस्ताले थाहा हुँदैन । यसकारणले पनि चाडपर्व मनाउनुपर्छ, तर विकृति फैलाउनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *