‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
“गहिरो दुःखका साथ हामी क्यामिलोलाई अलबिदा भन्छौँ । उहाँचे ग्वेभाराका सुपुत्र तथा उहाँको विचारका प्रचारक हुनुहुन्थ्यो । चे ग्वेभाराको असामान्य विरासतको संरक्षण गर्दै आएको ‘चे सेन्टर’ का निर्देशक हुनुहुन्थ्यो । उहाँकी आमा अलेइदा, पत्नी तथा छोरीहरू र समस्त ग्वेभारा परिवारप्रति समानुभूति छ ।” क्युवाका राष्ट्रपति तथा पार्टीका प्रथम सचिव मिगुएल डायज–कानलले ट्वीट गर्नुभयो ।……….
“ग्वाइरा, यता आऊ । अलिकति कुरा गरौँ,” यति भनेर उहाँले मलाई बैठक कोठातिर तान्नुहुन्थ्यो, सोफामा राख्नुहुन्थ्यो र सपना सुरु हुन्थ्यो । किनभने, क्यामिलो स्वप्नद्रष्टा हुनुहुन्थ्यो । आठ वर्षसम्म हामी एउटै आकाङ्क्षासाथ काम ग¥यौँ । उहाँका बुबाको बाल्यकाल र युवाकाल पछ्याउँदै अर्जेन्टिना छान मा¥यौँ ।
चे ग्वेभारा र उहाँका सहकर्मी गुरिल्लाहरूको अस्तुबारे थेसिस लेखेर ‘सामाजिक सञ्चार’ मा स्नातक सकाउनुभन्दा झन्डै एक वर्षअघि मैले क्यामिलोलाई भेटेको थिएँ । ‘चे ग्वेभारा अध्ययन केन्द्र’ मा ममाथि विश्वास गरेर उहाँले अर्जेन्टिनाका विभिन्न भेगहरूमा मलाई क्यामेरा बोकाएर सँगै लैजानुभयो । पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म सोधखोज गर्दै कहिले यता त कहिले उता, बुबा (अर्नेष्टो चे ग्वेभारा) को मातृभूमिमा उहाँको इतिहास खोज्दै हामी कुनाकन्दरा चहा¥यौँ ।
रातैपिच्छे हामीले अलगअलग ठाउँमा रात काट्यौँ । ऐक्यबद्धता जनाउने मित्रहरू, अन्जान व्यक्तिहरूलगायत सबै मनकारीहरूसँग क्यामिलोले कुरा गर्नुभयो, गीत गाउनुभयो र हाँस्नुभयो । मलिन मुस्कानका साथ उहाँले जवाफ दिनुहुन्थ्यो, “यी सम्झना र सपनाहरू मेरा बुबाका हुन् वा हैनन्, मलाई थाहा छैन ।”
म र क्यामिलोले पहिलोचोटि देश छोडेका थियौँ । दूरी राख्ने ‘बोस’ भन्दा फरक उहाँ भद्र खालको हुनुहुन्थ्यो । घन्टौँसम्म कारमा हिँड्नुपर्दा मलाई सजिलो तुल्याउन सधैँ मेरो हेरविचार गर्नुहुन्थ्यो । गलेर रातको खाना खाने बेला, सिमसिमे पानीले रुघा लागेको बेला उहाँ मेरो रेखदेख गर्नुहुन्थ्यो । हामी जहाँ पुगे पनि म एक अनुभवी पत्रकारलाई दिनुपर्ने सम्मान र अदबका साथ प्रस्तुत हुने गर्नुहुन्थ्यो । म आफू भने पेशामा सिकारु थिएँ ।
आज महसुस हुन्छ, पेशागत दृष्टिले म उहाँप्रति ऋणी छु । आफ्नो बुबाको बाटो पछ्याउँदै क्यामिलोले मलाई फोटोग्राफीको संसारमा प्रवेश गराउनुभयो । एकदिन, उहाँले आफ्नो कार्यालयको टेबलमा एउटा ठूलो र कालो बाक्सा राख्नुभएको थियो । त्यसमा उहाँ र उहाँकी आमा अलेइदाले चे ग्वेभाराले खिच्नुभएका सामग्री राख्नुभएको रहेछ । बाक्सामा फोटो, स्लाइड, निगेटिभ, खाम र चे ग्वेभाराका केही हस्तलिखित प्रतिहरू थिए । त्यो मलाई खजाना झैँ लाग्यो । ती दस्तावेजहरू देखेर दङ्ग पर्दै मैले ती तस्बिरहरू कहाँ खिचिएका होलान् भनी अनुमान गर्न थालेँ । चे ग्वेभाराको लेखनीसँग तिनलाई दाँज्न थालेँ । ती दस्तावेजहरूमध्ये केही ‘चे फोटोग्राफो’ प्रदर्शनीमा देखाइएका पनि थिए ।
‘चे फोटोग्राफो’ सूचीपत्रको नयाँ संस्करण छाप्ने तथा प्रदर्शनीमा देखाउन सहायक सामग्रीको रूपमा श्रव्यदृश्यको निर्माण गर्ने तयारीका क्रममा क्यामिलोले मलाई राम्रो फोटो कसरी चिन्ने भनी सिकाउनुभयो । फोटोग्राफीको नियम, प्रकाश र फ्रेमबारे बताउनुभयो ।… अन्त्यमा मैले यही विषयमा स्तानकोत्तर थेसिस लेखेँ । उहाँले धेरैचोटि त्यसमा टीकाटिप्पणी गर्नुभयो । एक एक शब्द केलाउनुभयो । उहाँ त्यसको शीर्षकबाट लोभिनुभएको थियो । ‘चे सेन्टर’ मा उहाँ आफै अघि सरेर त्यस थेसिसमा ध्यान दिनुभयो । सात वर्षसम्म सँगै काम गर्दासम्म हामी बहस गर्न थालिसकेका थियौँ । तर, उहाँले सधैँ सही अडान लिनुभयो । तर्कवितर्कमा क्यामिलोलाई हराउन सकिन्नथ्यो ।
उहाँ सपनाको लहरमा लहरिनुहुन्थ्यो र सुन्नेलाई पनि तान्दै लग्नुहुन्थ्यो ।.. त्यसै मेलोमा उहाँ एकचोटि युरोपको कुनै सहरमा एउटा डिजिटल म्युजियममा सघन अन्तक्र्रियामा सहभागी हुनुभयो । त्यहाँबाट फर्केपछि उहाँले क्युवामा चे ग्वेभाराको जीवन र गतिविधिबारे एउटा श्रव्यदृश्य बनाउन चाहनुभयो । उहाँले ‘सूचना विज्ञान विश्वविद्यालय’ सुरु गर्दै हुनुहुन्थ्यो । त्यसमा उहाँले नयाँ सम्भावनाहरू देख्नुभयो । आफ्नो बुबाको क्रान्तिकारी विरासत प्रवद्र्धन गर्ने क्षेत्र बनाउँदै गर्दा क्युबाले नयाँ प्रविधिमा पहुँच बढाउने उहाँले देख्नुभयो । हजारौँ पर्यटकहरूलाई ध्यानमा राखेर ‘ऐतिहासिक केन्द्र’ मा प्रदर्शनीमा राख्न सकिने र पछि विश्वभरि प्रदर्शन गर्न सकिने सामग्रीहरू तयार पार्न आधुनिक शैली अपनाउने सोच्नुभयो । अन्त्यमा उहाँले इटलीमा त्यसप्रकारको प्रदर्शनी गर्नुभयो ।
सन् २००७ मा ‘सेन्टर’ को श्रव्यदृश्य अभिलेखालय विस्तार गर्ने क्रममा काराकस पुग्यौँ । टोमाज र ग्रेगोरियो गरी दुई ग्रानाडो दाजुभाइ त्यहीँ बस्नुहुन्थ्यो । टोमाज चे ग्वेभाराका सहपाठी हुनुहुन्थ्यो । टोमाजको परिवारसँग चे घुलमिल हुनुभयो र त्यही परिवारका अल्बर्टो ग्रानाडोलाई उहाँले ल्याटिन अमेरिका भ्रमणमा सहयात्री बनाउनुभयो । यो भ्रमण विश्वविख्यात छ । बुबाका साथीहरूको सम्झनामा बुबालाई भेट्दा क्यामिलो जुरुकजुरुक हुनुभएको थियो । आधा शताब्दी बितेपछिका ती रोमाञ्चक पुनर्मिलनहरूको म दुर्लभ साक्षी बनेको महसुस हुन्छ ।
मोहले गर्दा मात्र होइन चे ग्वेभाराबारे जीवनीपरक श्रव्यदृश्य निर्माण गर्ने जिम्मेवारीबोधले उहाँलाई भेनेजुयला पु¥याएको थियो । त्यो विचार मनमा साँचेर उहाँले अभिलेखालयका एकएक टेपहरू केलाउन थाल्नुभयो । चे ग्वेभारा देखापर्ने सानोभन्दा सानो टेप पनि पर्गेल्नुभयो । क्यामिलो क्युबानाकन स्टुडियो जानुभयो । त्यहाँ उहाँले अन्य सामग्रीसँगै चे ग्वेभाराले जिनेभामा दिनुभएको बहुमूल्य मन्तव्य भेटाउनुभयो । अन्त्यमा ती सबै सामग्रीहरू ट्रिस्टान बावेरले आफ्नो वृत्तचित्र ‘चे, एक नयाँ मानव’ को निर्माणका क्रममा उपयोग गर्नुभयो । आज ‘सेन्टर’ मा गुरिल्ला लडाकूहरूसम्बन्धी श्रव्यदृश्यहरूको प्रचुर भण्डार छ ।
उहाँमा कसले अरूचि देखाउँदै छ, कसले बाटो छेक्दै छ भन्ने कुराको गन्ध पाउने गजबको खुबी थियो । आठ वर्ष सँगै काम गरेका थियौँ, त्यसैले भन्नलाई धेरै कुरा छन् ।
उहाँसँग कोही न कोही नजिकको मान्छे सधैँ सँगै हुन्थ्यो । धेरै मानिसहरू उहाँलाई भेट्न ‘सेन्टर’ आउँथे । तिनीहरू उहाँका हितैषी नै हुन्थे । उनीहरूमा केही न केही साझा गुण हुन्थ्यो नै ।
उहाँ आफ्ना सन्तानहरू क्यामिला, सेलिया हबाना, पाब्लो र भ्लादिमिरलाई औधी माया गर्नुहुन्थ्यो । रोजासँगको बिहे एउटा सुन्दर साँझमा भएको थियो । इष्टमित्र र परिवारजन आएका थिए । त्यो बिहे देखेर सबैजना भित्री मनदेखि नै खुसी थिए ।
दाजुभाइसँगको दोस्ती भेट भयो कि देखापथ्र्यो । खासगरी अर्नेष्टोप्रति मेरो आत्मीय भाव थियो ।
“अलेइदा… !” आमालाई देखेपछि ‘सेन्टर’ को सभाहलबाट झर्दै उहाँ चिच्याउनुहुन्थ्यो । म अलेइदालाई चे र क्यामिलोको नजरबाट हेर्ने गर्थेँ ।
“छोराछोरी नि ?” अहिले तपाइँको दिमागमा यहीँ प्रश्न खेल्यो होला ।
(अनुवाद : सम्यक)
(क्युवाली समाजवादी क्रान्तिका एक नायक कामरेड चे ग्वेभाराका सुपुत्र क्यामिलो ग्वेभाराको दुःखद निधन भएको खबर छ । उनी ४ वर्षको हुँदा चे ग्वेभाराको बोलिभियामा अमेरिकी हत्यारा तथा सिआइएबाट हत्या भएको थियो । क्यामिलोको निधन ६० वर्षको उमेरमा अगस्ट २९, २०२२ का दिन भेनेजुयलाको यात्राको क्रममा हृदयघातका कारण काराकसमा भएको हो । ग्वेभारा परिवार र क्युवाली मित्रहरुप्रति हार्दिक समवेदना ।– मजदुर दैनिक)
Leave a Reply