‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने नियतले निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्थाको राज्यस्तरबाट २०४५ सालमा ‘भक्तपुर काण्ड’ रचिएको थियो । तत्कालीन कार्यपालिका तथा व्यवस्थापिका प्रमुखलगायत मन्त्री र सांसदहरू तथा तिनका भरौटेहरूले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायतका नेता तथा कार्यकर्ताहरूको नामै किटेर सडकमा नारा लगाए, ‘फाँसी दे’ ।
यसै विषयमा लेखक सुबोध ‘सिंजाली’ द्वारा लिखित पुस्तक ‘फाँसी दे’ २०४६ सालमा पहिलो संस्करण प्रकाशित भयो । २०७० सालमा यसको दोस्रो संस्करणमा वकर्स पब्लिकेसन नेपालद्वारा प्रकाशित गरिएको छ । यस पुस्तकले भक्तपुर काण्डको यथार्थबारे नयाँ पुस्तालाई प्रस्ट पारेको छ ।
७६ पृष्ठको उक्त पुस्तकमा भक्तपुर काण्डको घटनाक्रमहरू सविस्तार चर्चा गरिएको पाइन्छ । तत्कालीन पञ्चायती संविधानको भाग ३ धारा (११) १ ले प्रत्येक नेपालीको जीउधन सुरक्षा गर्ने ग्यारेन्टी दिएको हुँदाहुँदै कर्ण ह्योजूको षड्यन्त्रपूर्वक हत्या गरिएबाट प्रस्ट हुन्छ कि राज्य कर्तव्यबाट च्युत भएको थियो । २०४५ भदौ ५ गते बिहान गएको भूकम्पले नेपालका थुप्रै नागरिकको जनधनको क्षति पु¥याएको थियो । भूकम्प पीडित जनतालाई राहत दिन भक्तपुर नगर पञ्चायतले प्रधानपञ्च आशाकाजी बासुकलाको अध्यक्षतामा भूकम्प पीडित सहयोग समिति गठन गरी पीडितलाई रु.१० हजार तुरुन्त निकासा ग¥यो । भूकम्प पीडितहरूको लागि घर बनाउन काठमा लाग्ने कर पनि मिनाहा गर्नु तत्कालीन नगर पञ्चायतले जनताप्रतिको कर्तव्य पूरा गरेको प्रस्ट हुन्छ । श्री ५ को सरकारबाट केन्द्रीय उद्धार तथा पुनस्र्थापना कोषको स्थापना गर्ने खबर पाएपश्चात् २०४५ भदौ ९ गते जिल्ला पञ्चायत सभापतिको अध्यक्षतामा एक उद्धार समिति गठन गरियो । तर, त्यस समितिले जनताको विश्वास जित्न सकेन ।
विपद्को बेला तमासे बन्ने संस्कार भक्तपुरवासीमा थिएन । भूकम्पमा तत्काल उद्धार टोलीको सहयोगको मात्र अपेक्षा नगरी सम्पूर्ण जनता लागिपरे । यसबाट विपद्को तत्काल उद्धार कार्यमा जात, धर्म, वर्ण, राजनीतिक मतभिन्नता सबै बिर्सेर सहयोग गर्ने परम्परालाई निरन्तरता दिएको प्रस्ट हुन्छ । कुनै पनि देशमा एउटै विचार र आचरणका मानिसमात्र हुन सक्तैन । सद्विचार र सदाचारका साथै कुविचार र दुराचारका असामाजिक तत्वहरू पनि हुन्छन् । त्यस्ता असामाजिक तत्वलाई पनि कानुनले दिएको सजायबाहेक जीउधन हरण गर्न पाइँदैन र सरकारले सुरक्षा गर्नुपर्छ । तर, भक्तपुरमा भूकम्प पीडितहरूलाई राहत सामग्री वितरणमा धाँधली गरियो । सरकारले राहत वितरणकर्ता ह्योजुलाई सुरक्षा नगर्नु सरकारको ठूलो कमजोरी हो ।
भूकम्प पीडितलाई राहत वितरणमा केन्द्रीय स्तरमा विभिन्न नियमहरूको तर्जुमा गरिए तापनि भक्तपुरको लागि भने विशेष नीति तर्जुमा गरिएको कुरा फाससी दे पुस्तक अध्ययनबाट स्पष्ट हुन्छ । १) केन्द्रीय भूकम्प समितिको निर्णयानुसार दाता संस्थाको नाम केन्द्रलाई या त्यस जिल्लाको उद्धार समितिलाई राहत सामग्री हस्तान्तरण गर्नुमै सीमित थियो । तर, भक्तपुरमा काठमाडौँको एक खाद्य किराना समिति नामको गैरसरकारी दाता संस्थालाई राहत सामग्री वितरण गराइयो । यसबाट केन्द्र र जिल्लाको निर्णयलाई उल्लङ्घन गरिएको स्पष्ट हुन्छ । उक्त दाता संस्था आफ्नो स्वेच्छाले नभई तत्कालीन प्रधानमन्त्रीको निर्देशन र अनुमतिबाट भक्तपुर आएको व्यहोरा स्वयम् दाताहरूले बताएबाट भक्तपुरको लागि राज्यस्तरबाट षड्यन्त्र रचिएको भने कुरा स्पष्ट हुन्छ । २) श्री ५ को सरकारको जानकारी वा अनुमतिविना पदासीन पञ्चलाई राहत वितरण गर्न दिइएको थिएन । त्यसै नियमानुसार देशका भूतपूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई समेत भूकम्पमा घाइते भई उपचारार्थ कोशी अञ्चल अस्पतालमा भर्ना भएका रोगीहरूलाई फलफुल वितरण गर्न खोज्दा वितरणमा रोक लगाएको सरकारले भक्तपुरमा भु.पू.रा.पं. सदस्य कर्ण ह्योजूलाई राहत वितरक नियुक्त गरेको थियो । तर, कर्णप्रसाद ह्योजू भक्तपुरमा गठित भूकम्प उद्धार तथा पुनस्र्थापना कोष, उद्धार समिति, उप–समितिजस्ता कुनै पनि समितिमा सदस्यसमेत नरहेको व्यक्तिलाई पञ्चायत नीति जाँच बुझ आयोगका अध्यक्ष नवराज सुवेदीको सिफारिसमा केन्द्रका अध्यक्ष प्र.म. मरिचमानले नियुक्त गरेका थिए । दाता संस्थाको कुपनको चाङ ह्योजूको हातमा कसरी पुग्यो ? राहतको कुपन वितरणमा वितरक ह्योजूले भूकम्पबाट कुनै क्षति नै नभएका आफ्ना समर्थकलाई राहत सामग्री दिने तर बढी धनजन क्षति भएकालाई नदिने धाँधली गरेको कारण जनता असन्तुष्ट हुनु स्वाभाविक थियो । विपद्को बेला तेरो र मेरो मान्छे भनी भेदभाव गरेको कारण कुपन नपाएकाहरू उतेजित भए । लामो समयको विवाद र भनाभनपछि केही उग्र व्यक्तिहरूले हात छोडे, अरूले रिस पोखे । कुपन वितरणमा संलग्न ह्योजू र उत्तम श्रेष्ठलाई उतेजित समूहले समातेर सूर्यमढीतिर लगे र जुत्ताको माला लगाई दिए । त्यस स्थानमा मादक पदार्थ सेवन गरेका, बिनावर्दीका प्रहरी र मण्डलेहरूको सङ्ख्या धेरै थियो । तिनीहरूको गतिविधि निकै शङ्कास्पद रहेको पाइन्छ । जसको कारण ह्योजू घाइते भए । साकोठा पुगेपछि प्रहरीको भ्यानमा राखेर भक्तपुर अस्पताल लगियो । त्यसपछि वीर अस्पताल लगियो । उपचार समयमा हुन सकेन । ४०–४५ मिनेटपछि मात्र उपचार सुरु गरियो । उपचारकै क्रममा प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलगायत अन्य उच्चपदस्थ पञ्च र प्रशासकहरू भेट्न आइपुगे । राति ११ः४५ मा कर्ण ह्योजूको मृत्युको घोषणा गरियो ।
वीर अस्पतालमा मृत्यु नहुँदै बेलुका ९–१० बजेबाटै जाहिरी लेख्ने कार्य सुरु हुनु र राति ११ः३० देखि नै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ, सांसद गोविन्द दुवाल, प्रधानपञ्च आशाकाजी बासुकला, उपप्रधानपञ्च चैत्यराज शाक्य र भूपू प्रधानपञ्च ज्ञानबहादुर न्याईच्यार्इँसमेतलाई विनापुर्जी ओछ्यानबाटै पक्राउ गरिएबाट पनि यो षड्यन्त्र नै हो भन्ने कुरा थाहा हुन्छ ।
रोहित समूहमाथि कर्ण ह्योजूको हत्याको षड्यन्त्र गरिएको दाबी गर्दै प्रहरी प्रतिवेदनमा अभियोग लगाउनुमा निम्न चार वटा कारण अघि सारिएको कुरा यस पुस्तकको दोस्रो भागबाट प्रस्ट पारिएको पाइन्छ ।
१) चुनावसम्बन्धी रिसइवी लिएको जाहेरीलाई प्रहरीले आधार बनाएको छ । तर, कर्ण ह्योजूसँग चुनावसम्बन्धी रिसइवी लिनुपर्ने कुनै ठोस कारण या प्रमाण प्रस्तुत गर्न सकेको देखिँदैन । केबल प्रहरी र वकिलको आधारहीन तर्कमात्र प्रस्तुत गरेको देखिन्छ ।
२) रोहित समूहबाट छुटेर गएदेखि ह्योजूसँग रिस लिइराखेको भन्ने प्रहरी प्रतिवेदनमा अभियोग लगाउनुको कारण दिइएको छ । यो राजनीतिक पूर्वाग्रही तर्क हो । निश्चय पनि कर्ण ह्योजू २०३८ सालको निर्वाचनमा नेमकिपाको तर्फबाट उम्मेदवार भई रा.प.स.मा विजयी भएको थियो । कार्यकालको दुई वर्षपछि नै चुनावमा जनतासित गरिएको वचन पालना गरिएन । उनले जनतामाथि विश्वासघात गरे । पछि उनी पार्टीबाट निकालिए र पञ्चको खेमामा पुगे । तर, त्यस्तो पञ्च बन्नेहरूको लामो सूचीमा कर्ण ह्योजू पहिलो व्यक्ति थिएन न त अन्तिम नै ।
३) रोहितले आफ्नो घरको झ्यालबाट ह्योजूलाई ठोक, मार भनी वचन दिएको अभियोग पनि लगाइएको छ । जुन मिथ्या हो । कोलाहलको भिडमा त्यो पनि गल्लीभित्रको घरबाट भन्नेको आवाज कसले सुन्थ्यो होला । घरबाट त्यो दृश्य नै देखिँदैन ।
४) प्रहरी हिरासतमा राख्दा गराइएको बयानबाट सबै साबित भएको र सरजमिनमा बस्नेहरूमध्ये अधिकांशले स्पष्ट किटानी गरी बकेको आधारमा अभियोगको कारण बताइएको छ । सरजमिन नियमानुसार नभएर षड्यन्त्र पूर्णरूपमा गरिएको थियो ।
त्यस्तै यस पुस्तकको तेस्रो भागमा ह्योजूको हत्या गर्न सरकारी षड्यन्त्र किन रचियो भन्ने शीर्षक रहेको छ । नेमकिपा प्रतिक्रियावादी सङ्घसंस्थामा प्रवेश गरी देश र जनताको सेवा गर्ने नीति लिएर नै कर्ण ह्योजू रा.प.स. भएका थिए । पछि उनी देश र जनताको भन्दा व्यक्तिगत स्वार्थमा लागे । देश र जनताको हितविरुद्ध भ्रष्ट गतिविधिमा उनी लागे । उनी पञ्चको खेमामा प्रवेश गराइए । तर, पञ्चहरूलाई ह्योजूको बहुरूपी चरित्र पाच्य भएको थिएन । पञ्चहरूकै कडा आलोचनाको कारण पछि बाध्य भएर आपूm पञ्च भएको कुरा उनले सार्वजनिक गरेका थिए । तर पनि पञ्चको लागि ह्योजू घाँडो बन्यो । त्यसकारण, भक्तपुर काण्डमा ह्योजूलाई बलिको बोकाको रूपमा प्रयोग गरी राहत सामग्री वितरकको रूपमा केन्द्रीय स्तरबाट नियुक्ति गरिएको थियो भन्ने प्रस्ट हुन्छ ।
यस पुस्तकको चौथो भागमा सरकारी षड्यन्त्रबाटै रोहित समूहलाई जरैदेखि उन्मूलन गर्न भक्तपुर काण्ड रचिएको भन्नेबारे विभिन्न प्रमाणसहित विस्तृतरूपमा व्याख्या गरिएको छ । राज्यस्तरबाट रचिएको षड्यन्त्रमा नेमकिपाका ६७ जना नेता कार्यकर्ता पक्राउ परे । समय–समयमा विनासूचना हुने घरतलासीबाट तिनीहरूमा आश्रित हजारौँ वृद्धवृद्धा, महिला र बालबालिकाले त्रासपूर्ण र कष्टप्रद जीवन जिउन बाध्य भएका थिए । किसान परिवारका युवाहरू कति पक्राउ परे कति भूमिगत भए । रोहित समूहसित भिन्न मत राख्ने परिवारका युवाहरूसमेतको जनजीवन अस्तव्यस्त बनाउँदा नगरवासीहरू खुला हिँड्न डराउँथे । प्रत्येक दिन पक्राउ गर्ने कार्य रोक्न विशेषगरी महिलाहरू टोल–टोलमा धूनी बालेर जाग्राम बस्ने गरेको पुस्तकको अध्ययनबाट बुझ्न सकिन्छ । भक्तपुर काण्डको तत्काल रोहित समूह उन्मूलन भएमा वास्तविक अपराधीहरूको पोल नखोलिने, भ्रष्टाचार नउदाङ्गिने, भावी चुनाव आफ्नो अनुकूल हुने आदि स्वार्थले केही पतित व्यक्तिहरू प्रेस–प्रेसमा पुग्न थाले । तिनीहरूले भक्तपुर काण्डबारे सरकारी भनाइविपरीतका खबर छाप्ने सम्पादकहरूलाई कतै धम्की दिए, कतै लोभलालच देखाएका थिए । केही पत्रिकाले भक्तपुर काण्डबारे सरकारविरोधी लेख्न, छाप्न अप्ठ्यारो मान्ने र विवशता देखाएका थिए । रोहित समूहसित सकारात्मक विचार राख्ने सबैजसो शिक्षकहरूलाई हाजिर नगराउने, अवकाश दिने, पक्राउ गर्नेजस्ता अमानवीय दमन गरियो । २०४५ भदौ १० गतेदेखि भक्तपुर नाकाबन्दीको अवस्थामा पुगेको कुरा यस पुस्तकको अध्ययनबाट थाहा हुन्छ । भक्तपुरमा केन्द्रदेखि स्थानीय प्रशासन एवं वरिष्ठदेखि कनिष्ठसम्मका भ्रष्ट प्रशासक र पञ्चहरूको विशेष गतिविधि हुन थाल्यो । उनीहरूले रोहितको विरोध गरे कैदबाट बचाई दिने, जुनसुकै मन्त्रीकहाँ जानु परे पनि जाने, रोहित समूहले कदापि मुद्दा जित्ने छैनजस्ता झूट कुरा फलाक्न थाले ।
देश र जनताको निःस्वार्थ सेवा गर्न सहज छैन । सत्य छोपेर छोपिन्न । षड्यन्त्रको पर्दाफास हुन्छ । सङ्गठनविना समाजको आमूल परिवर्तन सम्भव छैन । आधा आकाश ढाकेर रहेका महिला दिदीबहिनीहरूको साहस र प्रतिरोध कम छैन । वर्ग शत्रुबारे हामी सधँै सजग रहनुपर्ने शिक्षा भक्तपुर काण्डले दिएको छ ।
अन्तमा, भक्तपुर काण्डको सत्यतथ्यबारे नयाँ पुस्तालाई अवगत गराउँदै लान सकेमात्र नयाँ पुस्ता आजको भक्तपुर बनाउन पुर्खाले गरेको सङ्घर्ष, त्याग, योगदान र बलिदान एवं सङ्गठनको महत्व तथा आवश्यकताबारे प्रशिक्षित हुने हुनाले विद्यालय तहको पाठ्यक्रम ख्वप पहिचानमा यस घटनाक्रमलाई भक्तपुरको इतिहासको रूपमा समेटिनुपर्ने देखिन्छ ।
Leave a Reply