जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
प्रदीप गिरिलाई चिनाउने नेमाधिसं
विसं २०४५ भदौ ५ को बिहानको मिर्मिरेसँगै आएको भूकम्पले धरान र भक्तपुरमा ठूलो क्षति र हलचल त ग¥यो नै । उत्तेजित भिडले कर्णप्रसाद ह्योजूको हत्या गरेको आरोपमा भदौ ९ गतेदेखि चलाएको प्रहरी दमन र राज्यको श्वेतआतङ्कले भक्तपुर दिउँसै सुनसान कालरात्रिमा परिणत भयो । त्यो श्वेतआतङ्क महिनौँ चल्यो र कैयौँ सोझासीधा जनता प्रहरी दमनमा घुनजस्तो पिल्सिए । त्यो श्वेतआतङ्क तात्कालीन नेपाल किसान मजदुर सङ्गठन (नेमकिस) लाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती शासकले चलाएको षड्यन्त्र भएको प्रमाणित भयो । उता बहुदलका पक्षधर पञ्चायतइतर शक्तिहरूको (काङ्गे्रस र वापन्थीहरू) को आयोजनामा भएको २०४२ सालको सत्याग्रह बमकाण्डको कारणले फिर्ता लिनुपरेको थियो । तर, पञ्चायतको ज्यादती दिन दुईगुणा, रात चौगुणाको दरमा बढ्दै गर्दा त्यसको विरुद्धमा भित्रभित्रै पार्टीहरू कुनै आन्दोलनको तयारीमा थियो । तर, प्रतिबन्धित पार्टीहरूलाई आफ्नो नाउँमा क्रियाकलापहरू गर्न सहज परिस्थिति पनि थिएन । यही पृष्ठभूमिमा सबैखाले प्रजातान्त्रिक र वामपन्थी व्यक्तित्वहरूको एउटा सामूहिक सशक्त मानव अधिकारको दबु निमार्ण गरेर पञ्चायतको विरुद्धमा क्रियाकलाप चलाउनुपर्ने पक्षमा केही राजनैतिक व्यक्तित्वहरू थिए । हृषिकेश शाह, चुडाप्रसाद शर्मा, शम्भुप्रसाद ज्ञवाली, सूर्यबहादुर शाक्य, कृष्णप्रसाद भण्डारी, नूतन थपलिया तथा प्रदीप गिरि थिए । हुन त सत्ताको कोपभाजनबाट बच्न विपक्षहरू मानव अधिकारको आन्दोलनमा लाग्ने परम्परा भारतमा पनि थियो । सन् १९७५ मा इन्दिरा गान्धीको सङ्कटकालको अवधिमा प्रभावशाली नेता जर्ज फर्नान्डिज समूहका धेरै व्यक्तिहरू एम्नेस्टि इन्टरनेसनलको क्रियाकलापमा सक्रिय भएका थिए ।
पञ्चायतको विरुद्धमा कुनै सङ्घ सस्था खोल्नु त्यतिबेला ख्यालठट्टाको विषय थिएन । यस्तो सङ्गठन हाँक्न लर्तरो मानिसबाट सम्भव थिएन । त्यसैले मानव अधिकारको त्यस अभियानको लागि एक त्यस्तो व्यक्तिको खोजी भयो – जो खान्दानमा शाह, राजनैतिक पृष्ठभूमिमा काङ्गे्रसको महामन्त्री भइसकेको व्यक्तित्व, २०१९ सालको नेपालको संविधानको मस्यौदाकार, नेपालकै अर्थ र परराष्ट्र मन्त्री जिम्मेवारी पाइसकेको व्यक्तित्व, संयुक्त राष्ट्रसङ्घमा नेपालको पहिलो स्थायी प्रतिनिधि तथा अमेरिकाको लागि नेपालको राजदूत, बौद्धिक हिसाबले पनि उच्चकदका व्यक्तित्व र अन्तरराष्ट्रिय दबूमा समेत नेटवर्क भएका व्यक्तित्वको चयन भयो – हृषिकेश शाह । पहिलो पल्ट मेरो परिचय र भेट प्रदीप गिरिसँग उही व्यक्तित्व हृषिकेश शाहको निवास कमलपोखरी अथवा प्रज्ञाप्रतिष्ठानको उत्तरपट्टिको घरमा भयो । प्रसङ्ग थियो, नेपाल मानव अधिकार सङ्गठन (नेमाधिसं) को स्थापनाको लागि चरणबद्ध भेटघाट र छलफल ।
का. रोहित, शाह र गिरिको सम्बन्ध
विसं २०३६ पछिका दिनहरूमा भक्तपुरका विभिन्न चोकहरूमा अध्यक्ष रोहितको अगुवाइमा युवा लक्षित साहित्य गोष्ठी तथा बौद्धिक चिन्तन मननका कर्महरू नियमित हुन्थ्यो । खासगरी यस्तो कार्यक्रमको आयोजक युवा साहित्य गोष्ठी हुन्थ्यो । ती कार्यक्रममा विशेष बौद्धिक व्यक्तित्वहरू र साहित्यकारहरू आमन्त्रण गरिन्थे । पद्मरत्न तुलाधर, हृषिकेश शाह, माणिकलाल श्रेष्ठ, मदनमणि दीक्षित, कुमुद देवकोटा, इतिहासकार डिल्लीरमण रेग्मी जस्ता व्यक्तित्वहरू नियमितरूपमा ती साहित्य गोष्ठीका पाहुना हुन्थे । यसरी अध्यक्ष रोहितको सम्पर्क र सम्बन्ध हृषिकेश शाहसँग सायद २०३७÷३८ सालपछि बाक्ँिलदै थियो तर अध्यक्ष रोहितको परिचय प्रदीप गिरिसँग सायद नख्खुजेलमा ४२ सालको सत्याग्रहको गिरफ्तारीकै सिलसिलामा भएको देखिन्छ । हुन त अध्यक्ष रोहितले दरभङ्गामा नेपाली नेताहरू जस्तै पुष्पलाल, बीपी, गिरिजा, रुद्रप्रसाद गिरि, राम र लक्ष्मण, प्रदीप गिरि तथा अन्य काङ्गेसका नेताहरूका बारेमा उनीहरूको राजनीति क्रियाकलापका प्रसङ्ग नकोट्याएका होइनन् । हृषिकेश शाह र प्रदीप गिरिसँग अध्यक्ष रोहितको यस सम्बन्ध र सम्पर्कले २०४५ साल मङ्सिर महिना (१० डिसेम्बर, अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर) मा मानव अधिकार सङ्गठन स्थापनाको आधिकारिक घोषणा गर्ने भेलामा आमन्त्रितहरूको सूचीमा अध्यक्ष रोहित तथा पार्टीका अन्य साथीहरूको नाम पनि थियो । यो जानकारी हामीले पछि आयोजकमार्फत पायौँ । तर, दुर्भाग्य अध्यक्ष रोहित र अन्य साथीहरू भदौ ९ गते भक्तपुर काण्डको कारण गिरफ्तारीमा परिसक्नुभएकोले त्यस भेलामा उपस्थित हुनसक्ने कुरै भएन । उहाँको प्रतिनिधिको रूपमा त्यतिबेला हामी लक्ष्मीभक्त लासिवा, विष्णुगोपाल कुसी, राजन फाजु, योगेन्द्रमान बिजुक्छँे (भक्तपुर), रमेश थापा श्रेष्ठ र नारायण भक्त था (बोडे), श्यामकृष्ण कोजु (नगदेश) र बनेपाका साथीहरू केजी बैदार र रामराजा द्यौभडेलले भाग लिई नेमाधिसंका सस्थापक सदस्य भयौँ ।
नेमाधिसंमा गिरि
भक्तपुर काण्डको षड्यन्त्रमा भक्तपुरका जनप्रतिनिधिलगायत थुप्रै साथीहरूलाई थुनछेक बहसपछि जेल चलान गरियो । कानुनी उपचार र लडाइँबाहेक हामीलाई अर्को मोर्चाहरूमा पनि लाग्न निर्देशन थियो । ती अर्को मोर्चाहरू मध्य मानव अधिकारको मोर्चा पनि एक महत्वपूर्ण थियो । सङ्गठनका सस्थापक अध्यक्ष हृषिकेश शाह, उपाध्यक्षहरू डा. देवेन्द्रराज पाण्डे, मार्शल जुलुम शाक्य तथा पारिजात र महासचिवहरू कपिल श्रेष्ठ, प्रदीप गिरि र गोपाल सिवाकोटीको टिमले हर सम्भव तरिकाले भक्तपुर काण्डमा फसाइएका हाम्र्रा साथीहरूको पञ्चायती सरकारले गरेको मानव अधिकार उल्लङ्घनको घटनालाई मिडियामार्फत निरन्तर प्रचारप्रसार गर्ने कामहरू भयो । यस घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने सिलसिलामा महासचिव प्रदीप गिरिसँगको भेटघाट बाक्लिदै गयो । प्रदीप गिरि ती दिनहरूमा श्रीमती भारत्ती सिलवालसँग बबरमहलबाट थापाथली जाने उकालोको देब्रेतिर डेरामा बस्नुहुन्थ्यो ।

‘योगेन्द्रजी के पढ्दै हुनुहुन्छ, पढाइ सिध्याउनुभयो’, भनेर सोध्नुभएको मलाई याद छ । उहाँकै डेरामा सँगै खाना खाँदै पक्राउ परेका साथीभाइहरूको विवरण बुझाएँ । त्यतिबेला भारत्ती सिलवाल अङ्ग्रेजी म्यागाजिन प्रकाशन गर्नुहुन्थ्यो र टीभीमा अङ्ग्रेजी समाचार वाचिका पनि हुनुहुन्थ्यो । पछिल्लो भेटघाटहरूमा प्रदीप गिरिले नख्खु जेलमा दाइसँगै रहेको जिकिर गर्नुभयो । उहाँले “तपाईँको दाइसँग लेनिनको बारेमा त २÷३ घण्टा छलफल गर्नसक्छु भन्नुभयो ।” उहाँको मनसाय थियो, हामी कम्युनिस्ट पृष्ठभूमिका कार्यकर्ताहरूले अक्टोबर क्रान्ति र लेनिनको बारेमा जरुर पनि अध्ययन र जानकारी राखेका होलान् । तर, आफू कम्युनिस्ट नभए पनि त्यसको बारेमा गहिरो अध्ययन गरेको छु भन्ने थियो । यतिबेलासम्ममा उहाँँको सर्वाधिक चर्चित सानो पुस्तक – ‘लेनिन एक अध्ययन’ प्रकाशित भइसकेको थियो । गहुँ्रङ्गो आवाज, मीठो र स्पष्ट बोली, एक रति पनि नअटालिने, आजभोलिको लवजमा भन्नुपर्दा पूरा कन्फिडेनका साथ बोल्ने, अङ्ग्रेजी बोली पनि राम्रो, अध्ययनशील । यी विशेषताहरू प्रदीप गिरिका व्यक्तित्वका आयामहरू थिए भन्दा फरक नपर्ला । पुस्तकका प्रेमी र पारखीमात्र थिएनन् उनी अझ अमल्ली नै थिए । दिल्लीका गल्लीहरूका सेकेन्ड हायन्ड पुस्तकको बारेमा बरोबर जिकिर गरिरहन्थे । हृषिकेश शाहको घरमा बैठकको लागि बोलाइँदा गिरि सबभन्दा पहिला पुगेर शाहजीको पुस्तकको ¥याकबाट पुस्तक झिकेर पढिरहेका वा किताब खोजिरहेका हुन्थे गिरि । विस ५४÷५५ सालतिर अर्थमन्त्री रामशरण महतको पालामा किताबमा कर लगाएको थियो । नेपालका प्रमुख पुस्तक प्रकाशकहरू पुस्तकको महत्व बुझेका व्यक्तिको खोजी गर्दै मानव अधिकार सङ्गठनको कार्यालय पुतलीसडकमा हृषिकेश शाह, प्रदीप गिरिलाई खोज्दै पुगेछन् । साँच्चिकै एकघण्टा जति प्रकाशकहरूसँगको छलफलपछि विषयवस्तुको जानकारी लिएपश्चात् गिरिकै पहलमा गरिएको प्रयासले पछि किताबमा लगाइएको करको व्यवस्था सरकारले फिर्ता लिएको थियो ।
गिरि – विद्रोही काङ्गे्रस ?
२०४६ सालको जनआन्दोलनपश्चात् गिरिको साथी–भाइ भेट्ने अखडा पुतलीसडकको ने.माधि.संको कार्यालय नै थियो । मलाई अहिले सम्झना भएकोमा उहाँँसँग अक्सर रहनेहरूमा दुर्गा सुवेदी, महेश कर्मोचाहरू थिए । ज्ञातव्य होस्, दुर्गा सुवेदी २०३० सालमा हवाईजहाज अपहरणका प्रमुख व्यक्ति थिए भने महेश कर्मोचा २०३१ सालको ओखलढुङ्गा विद्रोहका एक योद्धा मानिन्छन् । मूलतः उहाँँहरू गिरिजाविरोधी प्यानलका देखिन्थे । यसरी नेपाली काङ्गे्रसको गुटगत राजनीतिलाई हेर्दा त्यतिबेला प्रदीप गिरि कृष्णप्रसाद भट्टराई खेमातिर र गिरिजाको विरोधमा भएको प्रस्ट देखिन्थ्यो । मैले पनि नेपाली काङ्ग्रेसका मित्रहरूलाई प्रदीप गिरिजस्तो विद्वान नेता नेपाली काङ्ग्रेसको मूलधार वा संस्थापन पक्षका नेतृत्वमा किन नल्याइएको भनी सोधेका थिए । मित्रले छोटोमा मलाई जवाफ दिएका थिए, “उनका पनि आफ्नै कमजोरीहरू थिए ।” तर, कवि मित्र दामोदर सुवालको सम्झनामा २०४२ सालमा नख्खुजेलमा रहँदा नेपाली काङ्ग्रेसका कुवेर शर्मा, योगप्रसाद उपाध्यायहरूले प्रद्रीप गिरिलाई भारतीय एजेन्ट भएको आरोप लगाउँथे र उनीहरू अलग्गै मेसमा खान्थे । यता प्रदीप गिरि तराईवासी दोम, मुसहर समुदायका कार्यकर्ताहरूसँगै व्यस्त रहन्थे ।
२०४९÷५० सालतिर कम्बोडियाली मानव अधिकार सङ्गठनका साथीहरूसँगको आदान प्रदान कार्यक्रममा तराईका विभिन्न स्थानहरूमा घुमाउने क्रममा कम्बोडियाली साथीहरूलाई सिराहाको बस्तीपुरमा प्रदीप गिरिले भर्खरै खोलेका गान्धी आश्रममा पनि भ्रमण गराएर गान्धीका बारेमा अनौपचारिक छलफल भएको थियो । भर्खर भर्खर स्थापना भएको आश्रम त्यतिबेला उजाड र बन्जरजस्तो देखिन्थ्यो ।
गिरिको समाजवादी चिन्तन र काङ्गे्रसी ढोग
बीपी कोइराला, भारतीय समाजवादी चिन्तकहरू राम मनोहर लोहिया र जयप्रकाश नारायणको प्रजातान्त्रिक समाजवादी चिन्तन र सैद्धान्तिक धरातललाई आफ्नो राजनैतिक दर्शन मान्ने गिरि माक्र्स, लेनिन र गान्धीका व्यक्तिगत जीवन र उनीहरूको दर्शन र राजनैतिक आन्दोलनको बारेमा नेपालका अरु कोही नेता र विद्वानहरूभन्दा आफूले कम अध्ययन गरेको ठान्दैनन् । गिरिजा गुटको सदैव विपक्षमा रहेका गिरिले कृष्णप्रसाद भट्टराई क्याम्पमा रहदै अन्ततः देउवा समूहको पक्षपोषण गर्दैरहे । जनताको चरम शोषण र प्रकृतिको अति दोहनको जगमा फल्ने फुल्ने पुँजीवादी व्यवस्था र नवउदारवादको सधँै विपक्षमा रही समतामूलक समाज, प्रजातान्त्रिक समाजवाद, सहर होइन गाउँको विकास गर्दै सिङ्गो देशको विकास गर्ने गान्धीको विकासको मोडेललाई आदर्श माने । तर, प्रदीप गिरिलाई कुलदेवता मान्ने देउवा गुट र हालको सिङ्गो काङ्ग्रेसले गिरिको त्यो राजनैतिक चिन्तन, दर्शन र विकासको गान्धी मोडेललाई भने एकरति पनि टेरपुछर लाएको देखिँदैन । उल्टो नवउदारवादलाई मलजल गरी देशलाई पराधीन बनाउने, नेपाली युवालाई नवदासको रूपमा खाडी पठाउने, देशघाती नागरिकता विधेयक पास गर्न तम्सिने, एमसीसी र एसपीपीजस्ता देशघाती सन्धि गर्ने, चुनावी गठबन्धनको नाउमा प्रजातान्त्रिक मूल्य र मान्यतालाई भत्काउने कार्यहरूमा मात्र काङ्गे्रसी सरकार उद्यत देखियो । नेपाली काङ्ग्रेसले साँचो अर्थमा प्रदीप गिरिलाई आफ्नो नेता मान्ने हो भने गिरिले सदैव विरोध गर्दै आएको नवउदारवादी नीतिलाई तिलाञ्जली दिएर मुठीभरका पुँजीपतिहरूको हितमा भन्दा तल्लो स्तरका व्यापक जनताको हित हुने समाजवादी व्यवस्था बलियो हुने नीतिलाई आत्मसात गरेमात्र गिरिको दिवंगत आत्माले चिरशान्ति पाउनेछ ।
१२ भदौ २०७९
फरक पार्टी,सिद्धान्त हुने बित्तिकै वर्ग दुस्मन नहुने कुराको जिकिर राम्रो लाग्यो