न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
सोभियत नेता जेभी स्तालिनबारे आजसम्म लुकाइएका धेरै सत्यतथ्य लगातार बाहिरिने क्रम चालु छ । अभिलेखालयका अभिलेख र दस्तावेजमा जमेको धुलो पुछ्दै संसारबाट हिजोसम्म लुकाइएका नयाँ नयाँ रहस्यका पोका खोल्ने साधनामा अध्येता र अनुसन्धानकर्ताहरू लागेका छन् । उनीहरूले प्रकाशमा ल्याएका नवीन सत्यले हिजोसम्म ‘सत्य’ ठानिएका कुरालाई चुनौती दिइरहेका छन् । हिजोसम्म स्तालिनबारे लुकाइएका वा बङ्ग्याइएका कुराको केस्रा केस्रा छुट्याएर संसारलाई सही साँचो जानकारी दिँदा त्यसको प्रभाव भने चौतर्फी परिरहेको छ । स्तालिनलाई प्रचार गरिएजस्तै खलपात्रको रूपमा बुझिरहेका ‘बुज्रुक’ हरू अहिले प्राज्ञिक अनुसन्धानबाट आएका नवीन सत्यलाई स्वीकार्न सकिरहेका छैनन् । कुनै कम्युनिस्ट पार्टी वा सरकारले स्तालिनबारे यी वास्तविकता प्रकाशमा ल्याए त्यस्ता बुज्रुकहरूले तिनलाई सजिलै ‘प्रचारबाजी’ भनी पन्छाइदिने थिए । तर, अनुसन्धानका सबै मानक विधि अपनाएर निकालिएका सत्यलाई उनीहरूले अस्वीकार पनि गर्न सक्ने अवस्थामा छैनन् । अध्येता गुभर फरजस्ता अनुसन्धानकर्ताहरूले स्तालिनमाथि आजसम्म लगाइँदै आएका आरोपको दानादाना केलाएर झूट, अर्ध–सत्य, भ्रम, सत्यबारे संसारलाई बताइरहेका छन् । वास्तवमा गुभर फरजस्ता अनुसन्धताकर्ताहरूले स्तालिनलाई चिहानबाट उठाएर सत्यको खोजी गरिरहेका छन् । अनि मरिसकेपछि स्तालिनमाथि एकोहोरो लगाइएका आरोपलाई इतिहासको कसीमा घोटेर सत्यलाई नयाँ आकार दिन खोजिरहेका छन् । लामो समय असत्य र झूटा प्रचारबाजीको शिकार भएका स्तालिनले अन्ततः न्याय पाउने बेला भएको छ ।
सन् १९५३ को मे ५ मा स्तालिनको निधन (हत्या) भयो । त्यत्तिबेला संसारकै सबभन्दा शक्तिशालीमध्येको देश सोभियत सङ्घका सर्वोच्च नेता स्तालिन अर्धबेहोस भएको झन्डै पन्ध्र घण्टापछि मात्र उपचारको लागि चिकित्सक पुग्नुले उनको निधन स्वाभाविक नभई नियोजित हत्या भएको पुस्टि गर्छ । (हेर्नोस्, स्तालिनसँग, स्तालिनका अङ्गरक्षकको संस्मरण–एटी रेबिन) । सन् १९२४ मा लेनिनको निधनपछि सोभियत सङ्घको भविष्यबारे संसारभरका श्रमजीवी जनता चिन्तामा थिए । सोभियत सङ्घ जोगाउन नसक्नुलाई पुँजीपति वर्गले माक्र्सवादको असफलतासँग जोडेको थियो । माक्र्सवाद कोरा कल्पनाबाहेक केही होइन भनी तर्क गर्ने र भ्रम फैलाउने मानिसका निम्ति सोभियत सङ्घको क्षणभंगुरता आफ्नो भनाइ पुस्टि गर्ने ताजा प्रमाण हुन्थ्यो । सोभियत सङ्घ राम्ररी हिँड्न पनि नसक्दै त्यसका वास्तुकार लेनिनको निधन विश्व कम्युनिस्ट आन्दोलनको निम्ति चुनौती थियो । अब सोभियत सङ्घको नेतृत्व कसले गर्छ ? के नयाँ नेतृत्व लेनिनजस्तै प्रतिभाशाली र सक्षम होला ? यस्तै प्रश्नहरूको बीचबाट स्तालिनले सोभियत सङ्घको नेतृत्व सम्हालेका थिए । तर, संसारका श्रमिक जनता र विशेषतः पुँजीवादी खेमाले नचिताएजस्तै स्तालिन लेनिनको योग्य उत्तराधिकारीको रूपमा उदाए ।
शिशु अवस्थाको सोभियत सङ्घमाथि पश्चिमा पुँजीवादी मोर्चाबाट लगातार हमला भइरहेको थियो । सोभियत सङ्घभित्रै ट्रोत्स्कीपन्थीहरू स्तालिनलाई असफल बनाउने दौडमा लागेका थिए । ती प्रतिकूलतालाई छिचोल्दै स्तालिन आर्थिकरूपमा पछौटे देश सोभियत सङ्घलाई परम्परागत कृषि प्रणालीबाट तेज गतिमा औद्योगिकीकरणतिर दौडिरहेको देश बनाउन सफल भए ।
दोस्रो विश्वयुद्धमा हिटलरको नाजीवादलाई पराजित गर्न सोभियत सङ्घले खेलेको भूमिकाको पुँजीवादी मोर्चाले कदर गर्न बाध्य भयो । नाजीवादलाई परास्त गर्न सोभियत सङ्घले खेलेको भूमिकाको कारण सोभियत सङ्घको क्रान्तिकारी आभा संसारका कुनाकाप्चासम्म फैलियो । युगौँदेखि उपनिवेशवादको माखेसाङलोले बाँधिएका अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका देशहरू आफ्नो मुक्तिको निम्ति सोभियत सङ्घबाट क्रान्तिकारी ऊर्जा सापटी लिन थाले । फलतः युरोपबाट निःसृत शोषणमा आधारित पुँजीवादी उपनिवेशवादको रुग्न जालो च्यातियो । संसार नयाँ युगमा प्रवेश ग¥यो । यो परिवर्तनको केन्द्रमा भने सोभियत नेता जेभी स्तालिन थिए । त्यसकारण, स्तालिन एकातिर संसारका श्रमिक र उपनिवेशवादविरोधी जनताको आशा बने भने अर्कोतिर उनको कारण आफ्नो तख्ता पल्टिएकोमा आक्रोशित पुँजीपति वर्गको बदख्वाइँको तारो बने । अर्को शब्दमा भन्दा स्तालिन त्यत्तिबेला झाँगिदो उपनिवेशवादविरोधी र समाजवादी सङ्घर्षका आदर्श नेता थिए । उनी तत्कालीन विश्व कम्युनिस्ट आन्दोलनका निर्विवाद नेता थिए । संसारका धेरै देशका नेताहरूका उनी सल्लाहकार थिए । त्यस्ता व्यक्तिको अनायासको रहस्यपूर्ण निधनले स्वाभाविकरूपमा संसारभर हलचल निम्त्यायो । तर, त्योभन्दा ठूलो हलचल तब निम्तियो जब ख्रुश्चेभ नेतृत्वको सोभियत नेताहरूले स्तालिनको बदख्वाइँ सुरु गरे । संसारले मानेको नेताको निधनमा आँसु पनि ओबाउन नपाउँदै सोभियत नेताहरूले नै ‘व्यक्ति पूजा’ को विरोध भन्दै स्तालिनमाथि हमला गर्दा संसारभरको कम्युनिस्ट र प्रगतिशील आन्दोलनमा अन्योलको बादल छायो । हिजोसम्म ‘महान्’ मान्दै आएको नेता स्तालिनको निधन भएलगत्तै यसरी बदख्वाइँ र विरोध थाल्दा पुँजीवादी खेमाबाट त खिसिट्युरी सुरु भयो नै । साथै संसारभरका कम्युनिस्ट पार्टी र नेताहरूलाई पनि प्रश्नको वर्षा भयो– स्तालिन ठीक कि ख्रुश्चेभ ठीक ?
कम्युनिस्ट र क्रान्तिकारीहरूले केन्द्र मान्दै आएको सोभियत सङ्घका नेताहरूको चालामालाले कतिपय देशका कम्युनिस्ट पार्टी निराश भए । कति अलमलिए । ख्रुश्चेभको खास अभ्यान्तर के हो भनी उनीहरूले केही समय ठम्याउन पनि सकेनन् । त्यही अन्योल र धमिलो अवस्थामा भारतको कम्युनिस्ट पार्टीका महासचिव अजय घोषले लेखेका विभिन्न लेख रचनाको सङ्कलन हालै भारतको कोलकत्तास्थित म्यागपाई प्रकाशनले प्रकाशित गरेको छ । ‘अन्डर द ब्यानर अफ स्तालिन’ (स्तालिनको ध्वजामुनि) नाम दिइएको सो सङ्कलनमा अजय घोषले त्यत्तिबेला विभिन्न पत्रिकामा लेखेका र पार्टीमा तत्कालीन परिस्थितिबारे प्रस्तुत गरिएका आठ वटा लेख र प्रतिवेदनका अंश छन् । त्यस्तै सन्दर्भ सामग्रीमा सोभियत सङ्घको ‘व्यक्ति पूजा’ बारे दस्तावेज र भारतीय कम्युनिस्ट पार्टीको पत्र समावेश छन् । स्तालिनबारे सत्यको खोजमा लागेका अध्येता गुभर फरको भूमिकाले पुस्तकलाई अझ सान्दर्भिक बनाएको छ ।
भारतीय स्वतन्त्रता आन्दोलनका नेता शहिद भगत सिंहका सहयोद्धा अजय घोष भारतीय कम्युनिस्ट पार्टी विभाजन नहुँदाका अन्तिम महासचिव थिए । उनी सन् १९५४ देखि १९६२ सम्म भाकपाको महासचिव बने । यो अवधि स्तालिनको निधन र त्यसपछि सोभियत नेताहरूबाट स्तालिनको बदख्वाइँको कालखण्ड थियो । त्यतिबेलाको परिस्थितिले संसारभर फैलाएको अन्योलले भारतका कम्युनिस्टहरूलाई पनि प्रभाव पारेको थियो । भारतको कम्युनिस्ट पार्टीको नेता हुनुको नाताले अजय घोषले तत्कालीन परिस्थितिमा जिम्मेवारीपूर्वक पार्टीको ठम्याइ बनाउन भूमिका खेलेका थिए ।
पुस्तकमा सङ्कलित रचनाहरूको अध्ययनले तत्कालीन परिस्थितिमा भारतीय कम्युनिस्टहरू पनि निकै अन्योलमा रहेको बुझिन्छ । स्तालिनको विशिष्ट योगदानबारे घोष अन्योलमा देखिँदैनन् । उनले भारतजस्तो उपनिवेशबाट भर्खर मुक्त भएको गरिब तथा पछाडि परेका देशको सन्दर्भमा स्तालिनका नीति र भूमिकाको प्रशंसा गरेका छन् । स्तालिनको निधनपूर्व सन् १९५२ डिसेम्बरमा ‘फर अ लास्टिङ पिस, फर अ पिपुल्स डिमोक्रेसी’ पत्रिकाको अङ्क ५० मा लेखेको ‘स्तालिनले देखाएको बाटो’ लेखमा घोषले ‘सोभियत सङ्घको समाजवादका समस्या’ पुस्तकमार्फत माक्र्सवादको विकासमा स्तालिनको योगदानबारे चर्चा गरेका छन् । उनले सोभियत सत्ताको अभ्यासको अनुभवको आधारमा स्तालिनले समाजवाददेखि साम्यवादसम्मको यात्रामा आइपर्ने चुनौतीबारे संसारभरका कम्युनिस्टहरूलाई शिक्षित बनाएको भन्दै स्तालिनको योगदानको कदर गरेका छन् ।
स्तालिनको निधनको औपचारिक घोषणा भएको मार्च ५ भन्दा एक दिनअघि मार्च ४ का दिन स्तालिनको सुस्वास्थ्यको कामना गर्दै घोषले भाकपाको तर्फबाट पठाएको पत्र पुस्तकमा सङ्कलन गरिएको छ ।
स्तालिनको निधनपछि सन् १९५३ को मार्च १५ मा ‘क्रस रोड्स’ मा प्रकाशित ‘अन्डर द ब्यानर अफ स्तालिन’ शीर्षकको लेखमा घोषले संसारमा परिवर्तनको उभार ल्याउन स्तालिनले खेलेको भूमिकाबारे अझ विस्तारमा लेखेका छन् । यो लेख स्तालिनप्रतिको श्रद्धाञ्जली अर्पण गर्ने हेतुले लेखिएको लेख हो । स्तालिनले व्यवहारतः थालेको साम्राज्यवादविरोधी सङ्घर्षलाई आगामी दिनमा अझ निरन्तरता दिनुपर्ने र संरा अमेरिकी साम्राज्यवाद अबको नयाँ चुनौती भएको घोषको ठम्याइ हो । उनले भारतको सन्दर्भमा बेलायती साम्राज्यवाद पुरानो साम्राज्यवादी शक्ति र संरा अमेरिकी साम्राज्यवाद नयाँ चुनौती बनेर आएको लेखेका छन् ।
स्तालिनको निधन भएको तीन वर्षपछि सन् १९५६ को २५ फेबु्रअरीमा सोभियत कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन भयो । महाधिवेशनमा सोभियत नेता ख्रुश्चेभले स्तालिनको ‘व्यक्ति पूजा’ (कल्ट अफ पर्सन्यालिटी) ले सोभियत समाजवादको प्रवद्र्धनमा बाधा पारेको भन्दै स्तालिनको निन्दा गरे । त्यसपछि संसारका धेरै कम्युनिस्ट पार्टीहरूजस्तै भारतीय कम्युनिस्ट नेतृत्व पनि कुहिरोमा हराएको कागजस्तै भएको अजय घोषका लेखमा प्रस्ट हुन्छ । त्यत्तिबेलाका धेरै कम्युनिस्ट पार्टीलाई स्तालिनको निन्दा चित्त नबुझे पनि सोभियत कम्युनिस्ट पार्टीको खुलेर विरोध पनि गर्न सक्ने अवस्थामा थिएनन् । अल्बानियाका कम्युनिस्ट नेता एनवर होक्सा र चिनियाँ नेता माओ त्सेतुङले खु्रश्चेभपन्थको समयान्तरमा विरोध गरे पनि बीसौँ महाधिवेशनमै त्यसको खुलेर विरोध हुन सकेको थिएन ।
महाधिवेशनमा ख्रुश्चेभले स्तालिनको निन्दा गर्दै दिएको ‘गोप्य भाषण’ विभिन्न बुर्जुवा सञ्चारमाध्यमले प्रकाशित गरेपछि अन्योल थप बाक्लियो । सोभियत कम्युनिस्ट पार्टीको विरोध गर्नु कम्युनिस्टहरूबीच विभाजनको बिजारोपण गरेको अपजस आइलाग्ने खतरा, विरोध नगर्दा स्तालिनको मूल्याङ्कनले सोभियत समाजवादका उपलब्धिमात्र कमजोर हुने होइन, बरु संसारका श्रमिक जनतालाई नै निराश बनाउने थियो ।
घोषले आफ्ना लेखमा स्तालिन यदि गलत थिए र उनको व्यक्तिपूजाले सोभियत समाजवादमा समस्या निम्त्याएको भए स्तालिनको निधनअघि नै किन यस्ता प्रश्न उठाइएन भनी प्रश्न गरेका छन् । तर, उनले केही सन्दर्भमा स्तालिनमाथि व्यक्तिपूजाको आरोपप्रति झिनो स्वरमा सहमति पनि जनाएका छन् । सोभियत कम्युनिस्ट पार्टीसँगको सम्बन्ध बिग्रिने भयको कारण पनि उनले सम्भवतः व्यक्तिपूजाको विरोध गरेका छन् । तत्कालीन सन्दर्भमा व्यक्तिपूजाको विरोध गर्नुको अर्थ स्तालिनको बदख्वाइँ गर्ने गुटको समर्थन नै थियो । यसबाट भाकपा ख्रुश्चेभ संशोधनवादको विरोधमा खह«ो उत्रन नसकेको प्रस्ट हुन्छ । भाकपा नेतृत्वको यो कमजोरीको परिणाम आज पनि भारतका कम्युनिस्टहरूले सामना गरिरहेका छन् । स्तालिनको विरोधमा समर्थन गर्नुको अर्थ संशोधनवादको मलजल गर्नु थियो र संशोधनवादी खेमाको नियोजित प्रचारबाजी केलाएर सही नीति लिन नसक्नु घोष नेतृत्वको भाकपाको कमजोरी थियो ।
घोषले ख्रुश्चेभले बीसौँ महाधिवेशनमा दिएको भाषण पुँजीवादी सञ्चारमाध्यममार्फत संसारभर प्रचार हुनुले कम्युनिस्ट र क्रान्तिकारीहरूको शिर झुकेको र पुँजीवादी खेमा कम्युनिस्टको विरोधमा अझ उत्साहित भएको भन्दै सोभियत नेतृत्वको आलोचना पनि गरेका छन् ।
सोभियत सङ्घको नेतृत्वप्रति भाकपाको ढुलमुले नीतिको कारण समयान्तरमा भाकपा विभाजनको परिस्थिति बन्यो जसले भाकपालाई अझ कमजोर बनायो । तत्कालीन परिस्थितिको दुष्चक्रको परिणाम आज पनि भारतीय जनताले भोगिरहेका छन् ।
त्यत्तिबेला सोभियत कम्युनिस्ट पार्टीले धेरै सत्यतथ्य लुकाएको र बङ्गयाएको कारणले पनि संसारभरका कम्युनिस्टहरू अन्योलमा थिए । सोभियत सङ्घलाई आस्थाको केन्द्र मान्दै आएका कम्युनिस्टहरू जब केन्द्रमै हलचल भयो, स्वभावतः अन्योलग्रस्त हुने नै भए । सोभियत प्रकाशन पढेर कम्युनिस्ट बनेका कति मानिसमा सोभियत सङ्घका मानसिक प्रभुत्व (हेजिमोनी) त्याग्न सजिलो थिएन । त्यसकारण, ख्रुश्चेभलाई संशोधनवादी भन्न धेरै कम्युनिस्ट नेताहरू निकै समयसम्म तयार भएनन् । स्तालिनपछिको सोभियत नेतृत्वको सैद्धान्तिक विरोधलाई कतिपय मानिसले चीनपन्थीको आरोप लगाएर विषयान्तर गर्थे । तर, सन् १९९१ मा सोभियत सङ्घको विसर्जनपछि मात्र सोभियत संशोधनवादप्रतिको उनीहरूको मोह भङ्ग भयो ।
आज समय परिवर्तन भइसकेको छ । स्तालिनबारे अब धेरै सत्य प्रकाशमा आइसकेका छन् । झूटा प्रचारबाजी पत्ता लागिसकेको छ । लुकाइएका दस्तावेजहरू प्रकाशनमा आइसकेका छन् । नबोली बसेकाहरूले बोल्न थालिसकेका छन् । अब स्तालिन को थिए र ख्रुश्चेभ को थिए भन्ने कुरा प्रस्ट भइसकेको छ । ख्रुश्चेभले स्तालिनको खेदो खन्नुको खास कारण सोभियत समाजवादको विसर्जन भएको कुरा घटनाक्रम र दस्तावेजले पुस्टि गर्दै छ । स्तालिन जिउँदो छँदै उनको नाममा बेरिया, ख्रुश्चेभजस्ता नेताहरूले गरेका अपराध खुल्दै छन् । किरोभको हत्या आफैले गरेर हत्याको दोष स्तालिनको टाउकोमा राख्ने को को थिए भन्ने कुरा उजागर हुँदै छ । लेनिन आफै पनि स्तालिनलाई नेतृत्वमा ल्याउने पक्षमा थिएनन् भन्ने झूटा प्रचार कुन शिविरबाट भयो भन्ने कुरा उजागर भइरहेका छन् । अब त्यो लुकाइएको इतिहासबारे कुनै अन्योल रहेन । यी सबै तथ्य प्रस्ट हुँदो हो त उत्तिबेला अजय घोषले अन्योल र अस्पष्टता भोग्नुपर्ने थिएन ।
इतिहास सीधा रेखा कहिल्यै हिँड्दैन । नागबेली हिँड्नु नै समयको विशेषता हो । तर, समय आफू अघि बढ्दा छोड्ने पदचापले भविष्यलाई केही न केही सिकाएर गएको हुन्छ । स्तालिन र त्यसपछि संसारको कम्युनिस्ट आन्दोलनले सामना गरेको कालखण्डको पदचाप आज र भविष्यको लागि अनुपम शिक्षा बनेको छ ।
Leave a Reply