भर्खरै :

नेमकिपाको सैद्धान्तिक अडान र व्यवहार शासकहरूलाई चुनौती

भक्तपुर, १७ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ भनपा ७ गोमारी एकाइ समितिको आयोजनामा बिहीबार वि.सं. २०४५ सालमा नेमकिपाविरुद्ध राज्यस्तरबाट रचित भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले भक्तपुर नगरपालिकामा नेमकिपाले धेरै जनपक्षीय कार्यहरू गरेको, भक्तपुर नगरभरिका विद्यालयहरूमा निःशुल्क शिक्षा प्रदान गरेको हुँदा पञ्चायती शासकहरूलाई नेमकिपाका नेता तथा कार्यकर्ताहरू प्रतिक्रियावादीहरूको नजरमा आँखाको कसिङ्गर भएको बताउनुभयो ।
नेमकिपाले देशका विभिन्न ठाउँमा भएका जनविरोधी घटनाहरूको विरोध, देशको सीमा रक्षाको निम्ति सङ्घर्ष गर्नुको साथै सही दृष्टिकोण दिँदै आएको कारण पञ्चायतलाई असह्य भएकोले पञ्चायती शासकहरूले षड्यन्त्र रचेको बताउनुभयो ।
नेपालका कम्युनिस्ट भनाउँदा पार्टीहरू नेमकिपाको सङ्गठन बिगार्न लागिपरे । तर, आज उनीहरूको लागि नेमकिपाको सैद्धान्तिक अडान, व्यवहार र कार्यक्रम ठूलो चुनौती बनेको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ७ गोमारीका पूर्वअध्यक्ष लक्ष्मीभक्त कवांले भक्तपुर काण्डमा आफूलगायत ६७ जनालाई जाली मुद्दा लगाई २२ महिना जेल राख्दाको संस्मरण सुनाउँदै ५८ दिन खोरमा राखी यातना दिएको घटना स्मरण गर्नुभयो ।
नेमकिपा भनपा ७ गोमारी एकाइ समितिका अध्यक्ष बलराम गोसाईले नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि नै शोषित पीडित मजदुर किसानहरूको पक्षमा राजनीति गर्दै आएको बताउनुभयो ।
समितिका अध्यक्ष कुमार ग्वाछाको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजाराम गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *