भर्खरै :

ठूला दलहरू सत्तामुखी राजनीतिमा केन्द्रित

निर्वाचन सिद्धान्त र विचारको लडाइँ हो, गठबन्धनको होइन । निर्वाचन आ–आफ्नो दलको सिद्धान्त र विचार जनतामाझ पु¥याएर जनताको विश्वास जित्ने माध्यम पनि हो । सिद्धान्त र विचारको आधारमा राजनीति गर्ने काम दलको हो । देश जोगाउने, विकास गर्ने र जनताको जीवन स्तर उठाउने काम सरकारको हो । निर्वाचनको यो पूर्वसन्ध्यामा विभिन्न राजनीतिक दलले उम्मेदवार चयन गर्ने, पार्टीको केन्द्रीय समिति बैठक बस्ने, घोषणापत्र बनाउने तयारी गरिरहेका छन् । कति राजनीतिक दलहरूले उम्मेदवारी घोषणा गरेका छन् भने कतिले घोषणा गर्ने तयारी गरिरहेका छन् । मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनको लागि देशघाती काम गर्ने, देशलाई दूरगामी असर पार्ने दल र दलका नेताहरू जनताको घरदैलोमा आउँदै छन्, आफ्नो दललाई जिताउन मत माग्दै छन् । ती दलका उम्मेदवारलाई जनता हराउनुपर्छ ।
सर्वसाधारणलाई भोट बैङ्क बनाउने, प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार र जनताको सेवा गर्ने नाम भजाएर दलको सेवा सुविधामा आँखा गाड्ने, राजस्वमा हालीमुहाली गर्ने दलका नेताहरू अहिले आफूहरूलाई जिताउन फुक्दै छन् । शासकहरूले देशको विकास र जनताको सेवाको नाउँमा देशलाई भड्खालोमा पु¥याउने काम गरिरहेका छन् । शासक र ठूला दलका नेताहरू भागबन्डामा केन्द्रित छन् । कम्युनिस्ट भनिने ठूला दलका नेताहरू दलको सिद्धान्त र विचार छोडेर कमाउ नीतिका तानाबानामा कुस्ती खेल्दै छन् । सत्तास्वार्थमा केन्द्रित रहेर गरिएको गठबन्धनलाई तत्तत् दलका इमानदार नेता तथा कार्यकर्ताहरूले मनपराएका छैनन् । तर पनि पार्टीले कारबाही गर्ला भन्ने चिन्ताले तिनीहरू पनि पार्टीको निर्णय मान्न बाध्य हुन्छन् । नेताहरूको आस्था, इज्जत, प्रतिष्ठा, मूल्य र मान्यता छोडेर उनीहरूले अवसरवादी राजनीति गरिरहेका छन् । राजनीतिक क्षेत्रमा हुने गरेको पद, पैसा र शक्तिको निम्ति गरिने दलको गतिविधिले सिङ्गो मुलुकको बर्बाद भइरहेको छ । समाजवादउन्मुख देश देखाउने दाँतजस्तै भइरहेको छ । उनीहरू माक्र्स, लेनिनको नाउँ भजेर उनीहरूकै सिद्धान्त र विचारविरोधी काम गर्दै छन् । उनीहरूले दलको विधानमा माक्र्सवाद–लेनिनवादलाई पथप्रदर्शक माने पनि व्यवहारतः त्यो विचारलाई कहिल्यै आत्मसात गरेका छैनन् ।
यतिबेला देशको विदेश नीतिबारे पनि चर्चाको विषय बनेको छ । विदेश नीति र बाह्य सम्बन्धबारे दलले चाहँदैमा हेरफेर हुने होइन । किनभने, विदेश नीति राष्ट्रको हुन्छ, कुनै दल या गठबन्धनको हुँदैन । सरकारले विदेशी नीतिमा आँच आउने गरी रुस–युक्रेन युद्धमा तटस्थ नीतिविपरीत युक्रेनको पक्षमा मतदान ग¥यो । देशको असंलग्न परराष्ट्र नीति स्पष्ट हुँदाहुँदै सरकार विदेश नीतिविपरीत लाग्यो । अमेरिकी सरकारको दबाबमा नेकाको सरकार युक्रेनको पक्षमा गयो । यो गलत हो । सत्तासीन र ठूला दलका नेताहरूलाई देश र जनताभन्दा चुनावी गठबन्धन, मोर्चा र तालमेल प्यारो भयो । सिद्धान्त र विचारभन्दा सत्ता प्यारो भयो, भागबन्डा प्यारो भयो । गणतन्त्र स्थापना भएपछि पनि सत्तासीन दलका नेताहरू सत्ता र भागबन्डामै अल्झिए । यसरी ती दलका नेताहरूले सिद्धान्त र विचारलाई पाखा लगाउँदै सत्तामुखी राजनीति गरिरहे । फलतः देश अनिर्णयको बन्दी बनिरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *