भर्खरै :

घरमा निख्लो पेट, बाहिरफेर सेठ

घरमा निख्लो पेट, बाहिरफेर सेठ

युक्रेनलाई नेटोमा नबोलाए र उसलाई तटस्थ देश बनाएमात्र पनि बाइडेन सरकारले युक्रेन युद्ध रोक्न सक्थ्यो । तर, बाइडेन सरकारले युद्ध रोज्यो । किन ? अचानक युक्रेनी जनताप्रति यति धेरै सहानुभूति किन ?
किनभने युक्रेन गोराहरूको देश हो ? सन् १९९४ मा रुवान्डामा तुत्सीहरूको जातीय सफाया मच्चिएको थियो । त्यसमा परेर ५ लाखदेखि ६ लाख ६२ हजार मानिसहरूको मृत्यु भएको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति क्लिन्टनले अल्पसङ्ख्यक तुत्सीहरूलाई जोगाउन सिन्को भाँचेनन् । मर्नेहरू काला जातिका हुनाले नै उनले हात बाँधेर बसेका त थिएनन् ? प्रश्न उठ्छ ।
कि सन् २०२४ को पुनः निर्वाचनमा अमेरिकामा बस्दै आएका धेरै युक्रेनीहरूले बाइडेनलाई भोट हाल्छन् भन्ने आसमा युद्ध रोजिएको हो ? अथवा, युद्ध लड्ने राष्ट्रपति पुनः निर्वाचित हुने गरेका छन् भनेर हो ? लामो समयदेखिको शत्रु राष्ट्र रुसलाई घुँडा टेकाएर बाइडेन ‘हिरो’ बन्न चाहेर हो कि ? हिंस्रक युद्धबाट कमजोर बनाएर रुसलाई टुक्राटुक्रा पार्ने ¥यान्ड कर्पोरेसनले अघि बढाएको नीति पेन्टागन र बाइडेन सरकारले खुरुखुरु मानेर हो ? कि, चुनावमा डेमोक्रेटहरूलाई चन्दा दिएकोमा ‘प्रतिरक्षा’ ठेकेदारहरूलाई युद्धबाट अरबौँ डलरबराबरको नाफा दिलाई पैँचो तिरेका हुन् ? अमेरिकामा ¥यान्ड कर्पोरेसनजस्ता विज्ञसमूह वा थिङ्क ट्याङ्कहरूले नै नेताहरूलाई इसारा गर्ने गरेका छन् ।
¥यान्ड कर्पोरेसनले २०१९ अप्रिलमा रुससम्बन्धी एउटा लेख लेख्यो । त्यसमा उसले उसले रुसका कमजोरीहरू, चिन्ता र सबलताहरूतिर ध्यान दिएर रुसलाई कमजोर बनाउनुपर्ने सिफारिस गरेको थियो । रुसका सबलताहरू घटाउँदै लग्नुपर्ने र कमजोर बिन्दुमा हान्नुपर्ने लेखको सुझाव छ । लेख भन्छ, ‘संरा अमेरिकासँगको उसको प्रतिस्पर्धामा रुसको सबैभन्दा ठूलो कमजोरी उसको अर्थतन्त्र हो ।’ रुसलाई युक्रेनमाथि कारबाही गर्न बाध्य तुल्याएर अमेरिका यो बाटोमा अघि बढिसकेको देखिन्छ । यो छद्म युद्धबाट रुसलाई सैन्यरूपमा मात्र कमजोर नबनाएर उसलाई आर्थिकरूपमा पनि कमजोर बनाउने अमेरिकी नियत स्पष्ट छ । रुसविरुद्ध चरम नाकाबन्दी लगाउन युक्रेन युद्धले अमेरिकालाई निहुँ दियो ।
युद्धका विभिन्न पाटापक्ष होलान् । तर, विदेश नीतिका धेरै विज्ञहरूले यो युद्ध पन्छउन सकिने थियो भन्ने विचार राखेका छन् । यसबाट अनाहक मर्न पुगेका हजारौँ युक्रेनी र रुसी सैनिकहरूका साथै युक्रेनी नागरिकहरूको मृत्यु टार्न सकिने थियो ।
अमेरिकी सरकारले यस युद्धमा युक्रेनलाई अलिअलि गर्दै ५४ अर्ब अमेरिकी डलर बराबरको रकम दिइसकेको छ । युद्ध लम्बिँदै जाँदा सहयोगको यो रकम बढ्दै जानेछ । अमेरिकाको लागि सामरिक महत्व नभएको ९,१८१ किलोमिटर टाढा रहेको युक्रेनमा यति धेरै सहयोग दिइएको छ ।
यो रकम अमेरिकी राष्ट्रपति वा अन्य नेताको खल्तीबाट गएको होइन । त्यो पैसा करदाताहरूको हो । घुमाइफिराई यो रकम अमेरिकी जनताको खल्तीबाट काटिन्छ । यति ठूलो धनराशि दान गर्दा के अमेरिकी जनतालाई सोधियो ?
राष्ट्रपति बाइडेनका छोरा हन्टर बाइडेनले सन् २०१३ देखि सन् २०१८ सम्म १ करोड १० लाख अमेरिकी डलर कमाएको सुनिन्छ । उनलाई युक्रेनी ग्यास कम्पनी बुर्मिसाको निर्देशक समितिको सदस्य बनाइएको थियो । जब कि उनलाई ग्यास उत्पादन, प्रशोधन वा ढुवानीबारे एक अक्षर थाहा थिएन ।
युक्रेनतिर अरबौँ डलर जाँदा अमेरिकी गरिबहरूका हात रित्तै रहे ! प्रश्नै गर्ने हो भने पनि संरा अमेरिकाको निम्ति युक्रेनले के देन दिएको छ ? युक्रेनको यति धेरै माया र चासो किन ? जब कि अमेरिकी अर्थतन्त्र जर्जर स्थितिमा छ, अमेरिकी मध्यम वर्ग र गरिबगुरुवाहरू अभावमा पिल्सिरहेका छन् ।
सन् २०२१ मा अमेरिकामा ५,८०,४६६ जना नागरिकहरू बेघर रहेका छन् । न्युयोर्क सहरमा मात्र यो सङ्ख्या ७७,९४३ छ ।
अमेरिकाको सबैभन्दा ठूलो भोकनिवारक संस्था ‘फिडिङ अमेरिका’ को तथ्याङ्कअनुसार आज अमेरिकामा ५ करोड ४० लाख जनता भोकभोकै छन् । ‘गरिब जनअभियान’ (पीपीसी) का अनुसार आज अमेरिकामा १४ करोड जनता गरिब र ‘निम्न आय’ का छन् । यो भनेको अमेरिकाको ४२ प्रतिशत जनसङ्ख्या हो । विश्वकै धनी देशको यो हविगत !
‘शान्तिका लागि अश्वेत हातेमालो’ (बीएपी) भन्छ, ‘युक्रेनको भित्री अर्थ : हाम्रो होइन, तिनको युद्ध’ । यस संस्थाका अभियन्ताहरूले कोभिड–१९ महामारीबाट पार पाउन अमेरिकाले १६ अर्ब डलर खर्च गरे पुग्छ । त्यस्तै सरकारले बर्सेनि ६० अर्ब डलर सङ्घीय आवास खातामा राखे अमेरिकाबाट घरबारविहीनताको समस्या हटेर जानेछ ।
‘विश्वभरि र यहाँ फिलाडेल्फियामा बालबालिकासँग पिउने पानी, स्वास्थ्य सेवा, खाना वा राति सुत्ने ठाउँमाथि छत छैन । यस्तो बेला अरबौँ डलर युद्धमा खर्च गरेको हामीले कसरी टुलुटुलु हेर्न सकेको ?’ चेरी होनकालाले भने । उनी ‘गरिब जनताको आर्थिक मानवअधिकार अभियान’ संस्थाका संस्थापक हुन् ।
आज अमेरिकामा ६ मध्ये १ जना बच्चा गरिबीको रेखामुनि जन्मिन्छ । सरकारी तथ्याङ्कअनुसार २०२२ फेब्रुअरीसम्ममा अमेरिकाको गरिबी दर १४.४ प्रतिशत छ । २०२२ जनवरीसम्ममा बाल गरिबी दर १७ प्रतिशत छ ।
२०२२ फेब्रुअरीसम्ममा अमेरिकामा ३४ लाख बालबालिका गरिबीमा बाँच्छन् । अर्को शब्दमा, ६ मध्ये १ अमेरिकी बच्चा गरिबीमा जन्मिन्छ । आज १४.४ प्रतिशत वा ४५ अर्ब ९५ करोड अमेरिकीहरू गरिबीमा बाँच्दै छन् । १० मध्ये ६ जना अमेरिकीहरूको बैङ्क खातामा ५०० डलर पनि बचत छैन । यी अङ्कहरूबाट अमेरिकी जनता दिनको दुई छाक जुटाउन पनि कति हड्डी घोट्दै छन् भन्ने स्पष्ट पार्छ । मुद्रास्फीति ७ प्रतिशतभन्दा बढी छ । गएको ४० वर्षमा यो सबैभन्दा तीव्र वृद्धि हो । झन्डै ६९ प्रतिशत अमेरिकीहरूको बैङ्क खातामा रहेको बचत १००० डलर पनि पुग्दैन । तैपनि, अमेरिका विश्वको सबैभन्दा धनी देश हो !
संरा अमेरिका र नेटो देशहरूले चर्काएको युक्रेन युद्धका कारण करोडौँ करोड जनता खाद्य अभावबाट पिल्सिँदै छन् । खासगरी अफ्रिका र एसियाका जनताले यो मार झेल्दै छन् । यही युद्धका कारण सारा विश्व इन्धन, ग्यास र खाद्यान्नको अभावबाट गुज्रिँदै छन् । रुसलाई युक्रेनमाथि आक्रमण गर्न उक्साउँदै गर्दा के अमेरिकाले यस्तो परिणामको कल्पना गरेको थियो ?
अमेरिकामा यति गरिबी हुँदाहुँदै पनि बाइडेन सरकारले सामरिक महत्व नै नभएको देशमा ५४ अर्ब अमेरिकी डलर खन्यायो । गरिबीसँग जुधिरहेका अमेरिकीहरूका लागि अमेरिकी सरकारले के गरेको छ ? स्वदेशी गरिबगुरुवाको हेरविचार गर्नुभन्दा अमेरिका विश्वभरि प्रभुत्व स्थापित गर्न पसिना खन्याउँछ ।
युक्रेन युद्धका कारण करोडौँ जनताले दुःख पाइरहेका छन् र भविष्यमा पनि पीडा झेल्नेछन् । युक्रेन र रुसका गरिब जनताको कुरै नगरौँ । उनीहरूको स्थिति नाजुक छ ।
सारमा, अमेरिकाले भड्काएकैले रुसले युक्रेनमाथि हमला गरेको हो । यो हिंस्रक युद्ध बेलैमा रोक्न सकिन्थ्यो । भविष्यमा यसलाई संरा अमेरिकाले रचेको सबैभन्दा गैरजिम्मेवार र लापरवाहीपूर्ण युद्ध भनिनेछ । रुस र संरा अमेरिकाबीच आणविक युद्धको झिल्को बाल्न सक्ने विदेशनीतिको महाभूल भनिनेछ ।
(चैतन्य डेभ लेखक तथा इन्जिनियर हुन् । उनी दक्षिण क्यालिफोर्नियामा बस्छन् । उनी प्रगति फाउन्डेसन नामक संस्थाका संस्थापक र अध्यक्ष हुन् । यो संस्थाले भारत, नेपाल, हाइटी र अमेरिकाका आवासविहीनहरूलाई सहयोग दिन्छ ।)
स्रोत : ग्लोबल रिसर्च ।
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *