भर्खरै :

डेङ्गुः लामखुट्टेले सार्ने यो रोग फैलिन नदिन के गर्नुपर्छ

अहिले काठमाडौँ उपत्यकासहित नेपालका अधिकांश जिल्लामा डेङ्गु रोग भएका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यो वर्ष विभिन्न जिल्लामा २,१०० जनाभन्दा बढी मानिसमा डेङ्गु पुष्टि भएको छ ।
यो रोग नेपालमा पहिलो पटक विसं २०६१ सालमा चितवनमा देखा परेको सरकारी अभिलेखमा छ । त्यसपछि अहिलेसम्म यो रोग ६६ जिल्लामा पुगिसकेको डा. अधिकारीले बताए ।
एक प्रजातिको लामखुट्टेबाट सर्ने यो रोग लाग्दा ज्वरो आउने, आँखाको गेडी दुख्ने र टाउको दुख्ने विज्ञहरू बताउँछन् ।

डेङ्गुनियन्त्रण गर्न पानी जम्न नदिनु प्रभावकारी उपाय
स्वास्थ्य मन्त्रालयले यो वर्ष चार हजारभन्दा धेरैलाई डेङ्गु रोगको सङ्क्रमण देखिएको भन्दै स्थिति अझ गम्भीर हुन नदिन सबैतिरबाट प्रयासको आह्वान गरेको छ ।
नेपालका विभिन्न स्थानमा फैलिएको डेङ्गुको काठमाडौँ उपत्यकामा मात्रै ६० जनालाई सङ्क्रमण भएको बताइएको छ ।
डेङ्गु रोग फैलन रोक्न सुरक्षा फौजको परिचालन गर्न सकिने चर्चा पनि चलेको छ ।
विज्ञहरू भने रोग नियन्त्रणका लागि सेना परिचालनभन्दा जमेको पानी नष्ट गर्ने कार्यक्रम र सर्वसाधारणमा यसबारे शिक्षा दिँदा प्रभावकारी हुने बताउँछन् ।

टायरको भूमिका के ?
डेङ्गु रोग फैलाउने एडिज नामक लामखुट्टेले जमेको पानीमा अण्डा पार्छ ।
“त्यसैले यो रोग फैलनबाट रोक्न सबैभन्दा मुख्य काम पानी जम्ने ठाउँ नष्ट गर्नु नै हो,” डा. मरासिनीले भने ।
“अझ विशेषगरी सहरबजारतिर पुराना टायर यत्तिकै फालेर राखिएका छन् भने त्यसले लामखुट्टेलाई हुर्कने असाध्यै अनुकूल वातावरण दिन्छ ।”
उनले विगतको उदाहरण दिँदै टायरकै कारण वीरगञ्जमा डेङ्गुको प्रकोप फैलिएको सम्झना गरे ।
“२०६३÷६४ ताका वीरगञ्जमा निकै डेङ्गु फैलिएको थियो । झन्डै चार सयलाई सङ्क्रमण भएको थियो ।”
“त्यतिखेर त्यहाँ आन्दोलन भयो र बसपार्कनिर धेरै टायर राखिएको एउटा ठाउँ रहेछ । तिनै टायर आन्दोलनकारीले जलाएपछि लगत्तै सङ्क्रमण स्वाट्टै घटेको थियो ।”
डेङ्गुरोगसम्बन्धी अनुसन्धानमा संलग्न उपप्राध्यापक रेश्मा तुलाधर भन्छिन्, “मोटर वर्कसप वरपर रहेका टायरहरूबाट सचेत हुनुपर्छ ।”
“कतिपय ठाउँमा पानी जमेर नबसोस् भनेर त्यसरी फालिएका टायरमा प्वाल पारिदिने गरेको पनि पाएकी छु ।”
त्यस्ता टायर वर्कसप काठमाडौँमा पनि चक्रपथवरपर धेरै रहेको भन्दै उनले सचेत हुनुपर्ने बताइन् ।

धेरै सङ्क्रमण कहाँ ?
यसपालि डेङ्गु सङ्क्रमणको केन्द्रबिन्दु चुरे नजिकका क्षेत्र भएको जानकारहरू औँल्याउँछन् ।
“धरान, बुटवल, चितवनजस्ता ठाउँमा धेरै सङ्क्रमण देखिएका छन् । विगतमा दक्षिण तराईका वीरगञ्ज, नेपालगञ्ज, भैरहवाजस्ता ठाउँमा देखिन्थ्यो,” डा. मरासिनीले बताए ।
खासगरी बर्खायाम सकिएपछि डेङ्गु झन् फैलने गर्छ ।
तर, मरासिनीले मानिसहरू आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् ।
पानी जम्न नदिने र अन्य सचेतना अपनाइए यो फैलनबाट रोकिने उनले बताए ।
“नेपालमा तीन–तीन वर्षको अन्तरालमा डेङ्गुसङ्क्रमणको प्रकोप देखिने गरेको छ । यसबारे व्यापक चेतना फैलाउनुर्छ ।”
“बच्चाहरूलाई सिकायो भने त्यो सबैभन्दा प्रभावकारी हुन्छ,” तुलाधरले बताइन् ।

डेङ्गुको लक्षण कस्तो हुन्छ ?
उच्च ज्वरो डेङ्गु रोगको प्रमुख लक्षणमध्ये एउटा हो । सुरुमा मन्द ज्वरो आउने र त्यो बढ्दै जान्छ ।
केही व्यक्तिमा हाडका जोर्नी र मांसपेसी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी दुख्ने हुन्छ ।

रोगबाट बच्ने के कस्ता उपाय छन् ?

–लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने,
–खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने,
–पानी छोपेर राख्ने,
–शरीरको अधिकांश अङ्ग ढाक्ने खाले लुगा लगाउने,
–सकेसम्म फिक्का सेतो रङ्गको पहिरन लगाउने,
–दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने,
–लामखुट्टेको टोकाइबाट बचाउने मलमहरू प्रयोग गर्ने ।

कस्ता मानिसले सतर्कता अपनाउनुपर्छ ?
विज्ञहरूका अनुसार डेङ्गुबाट ज्यानै जाने सम्भावना भने कम हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ ।
तर, यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविज्ञको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *