भर्खरै :

नेमकिपाको परिषद्मा एमसीसी सम्झौता र एसपीपी खारेजीको प्रस्ताव पारित

नेमकिपाको परिषद्मा एमसीसी सम्झौता र एसपीपी खारेजीको प्रस्ताव पारित

भक्तपुर, १९ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको तेस्रो (३३ औं) केन्द्रीय परिषद् विभिन्न निर्णय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरू पारित गरेर आइतबार सम्पन्न भयो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई पार्टीको लेनिनवादी नीतिअनुसार क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको छ ।
निर्वाचनको लागि अध्यक्ष बिजुक्छेँको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य तथा जनवर्गीय र पेशागत सङ्गठनका अध्यक्षहरू र पार्टी जिल्ला समितिका अध्यक्ष वा संयोजकहरू सदस्य रहनुभएको छ ।
आगामी निर्वाचनको घोषणापत्रको मस्यौदाबारे परिषद्मा समूहगत छलफल गरिएको थियो । घोषणापत्रलाई अन्तिम रूप दिन पार्टी सचिव प्रेम सुवालको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
परिषद्ले देशघाती एमसीसी सम्झौता खारेज नभएसम्म जनताको साथ लिएर सडक र सदनमा सङ्घर्ष चालू राख्ने र अमेरिकी राज्य युटासँगको सैन्य साझेदारीको नाममा नेपालको सैन्य व्यारेक अमेरिकी सेनालाई कब्जा गराउने एसपीपी कार्यक्रम खारेज गराउन सङ्घर्ष चालू राख्ने निर्णय गरेको छ ।
परिषद्ले माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ त्सेतुङ, फिडेल क्यास्ट्रो, किम इल सङ, हो चिमिन्हलगायत विश्वका कम्युनिस्ट आन्दोलनका नेताहरूको जन्मदिवसको अवसरमा उहाँहरूको जीवनी र कृतिबारे अध्ययन र अन्तरक्रिया गर्ने, अक्टोबर समाजवादी क्रान्ति, क्युवाली समाजवादी क्रान्ति, कोरियाली समाजवादी क्रान्तिलगायत विश्वका प्रसिद्ध मजदुर र कम्युनिस्ट आन्दोलन तथा मुक्ति आन्दोलनहरूबारे अध्ययन र अन्तरक्रिया चालु राख्ने निर्णय गरेको छ ।
परिषद् बैठकले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा तीन (३) प्र्रतिशत मत प्राप्त गर्नुपर्ने र प्रदेशको मान्यता प्राप्त गर्न प्रदेशसभाको समानुपातिक निर्वाचनामा एक दशमलव पाँच (१.५) प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रजातन्त्रविपरीतको कानुनी प्रावधान मतसीमा (थ्रेसहोल्ड) खारेज गराउन पार्टीले संसद्, अदालत र सडक सङ्घर्षलाई निरन्तरता दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *