नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
लिज ट्रस नयाँ बेलायती प्रधानमन्त्री बनेकी छिन् । प्रतिस्पर्धी ऋषि सुनकलाई धेरै मतान्तरले पछि पार्दै उनी विजयी भएकी छिन् । अनुदारताको कसीमा उनले ऋषि सुनकलाई भित्तामा पु¥याएकी छिन् । ट्रस गोरो वर्णकी हुन् र सुनक गहुँगोरा हुन् । १ लाख ७० हजार गोरा मतदाता रहेको अनुदार दलमा छालाको रङले पनि महत्वपूर्ण भूमिका खेल्यो । ट्रसकै भनाइ मान्ने हो भने पनि उनी सन् १९८० को दशककी मार्गरेट थ्याचरपछिकी सबैभन्दा दक्षिणपन्थी प्रम बन्नेछिन् ।
पछिल्ला चार अनुदार दलका प्रमहरू अघिल्ला प्रमहरूभन्दा झन्झन् दक्षिणपन्थी रहँदै आएका छन् । तिनीहरू क्रमशः डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोनसन र लिज ट्रस हुन् । ट्रस कर घटाउन चाहन्छिन्, उनी राज्यको अस्तित्व रुचाउँदिनन् । उनी पुनःवितरणप्रति आक्रामक छिन् । उनी गरिबलाई अलिअलि दिने अर्थतन्त्र (ट्रिकल डाउन इकोनमी) मा विश्वास गर्छिन् । (यो भनेको धनीमानीले अलिकति नाफा छम्के पनि गरिबलाई पुग्छ भन्ने विचार हो ।) साथै ट्रस चीनविरोधी खेमाकी नेतृ हुन् ।
तर आफ्ना विश्वासहरूमा खरो उत्रिन ट्रससामु समस्याका ठूलाठूला चाङ छन् । बेलायती प्रमहरूले सन् १९४५ यता नझेलेको सबैभन्दा खराब आर्थिक सङ्कटको उनले सामना गर्नुपर्नेछ । आर्थिक मोर्चामा राम्रो सङ्केत देखिने छाँट छैन । युक्रेन युद्धका कारण प्राकृतिक ग्यासको मूल्य अघिल्लो वर्षको भन्दा पाँच गुणा बढेको छ । र, यो मूल्य उकालो चढ्दै पनि छ । प्राकृतिक ग्यास बेलायती घरहरू तताउने सबैभन्दा प्रमुख ऊर्जा स्रोत हो । ऊर्जाको मूल्य रोक्न राज्यले हस्तक्षेप नगरे आउँदो हिउँदमा बेलायतका आधा जनताले कठ्याङ्ग्रिएर बिताउनुपर्नेछ ।
यो शताब्दीभरि मुद्रास्फीति २ प्रतिशतको हाराहारीमा रह्यो । तर, अहिले यो ११ प्रतिशत पुगेको छ । मुद्रास्फीति बढेर २० प्रतिशत पुग्ने अनुमान छ । ब्याजदर पनि थोरै थियो । तर अहिले यो पनि अकासिँदै छ । यसको अर्थ किस्तामा घर किनेकाहरूले झन् बढी भुक्तानी गर्नुपर्नेछ । यो वर्षको अन्त्यतिर बेलायत आर्थिक मन्दीमा पस्ने बैङ्क अफ इङ्गल्यान्डले पूर्वानुमान गरेको छ । केही पर्यवेक्षकले यो मन्दी सन् २०२४ सम्म चल्ने जनाएका छन् ।
मुद्रास्फीति दुई अङ्कमा पुगेपछि कामदारहरू समस्यामा परेका छन् । ज्यालादरमा भएको वृद्धि मूल्यवृद्धिको तुलनामा आधाभन्दा कम छ । त्यसैले अबका केही वर्षहरूमा उनीहरूको वास्तविक ज्याला ह्वात्तै घट्ने समस्या उनीहरूसामु छ । ती वर्षहरूमा उद्योगधन्दामा अस्थिरता बढ्नेछ वा मजदुर आन्दोलनहरू हुनेछन् ।
यो अल्पकालीन समस्या होइन । वास्तविक ज्यालादर सन् २००७ को भन्दा पनि कम छ । त्यसबेला संसार विश्वव्यापी आर्थिक मन्दीको सङ्घारमा थियो । अर्को शब्दमा, बेलायती अर्थतन्त्र गत १५ वर्षयता ठप्प छ । यस अवधिमा ऊ आफ्ना दुई छिमेकी जर्मनी र फ्रान्सभन्दा पनि खस्केको छ । एक प्रमुख थिङ्क ट्याङ्क समूहले गरेको प्रक्षेपण अनुसार आउँदो दुई वर्षमा बेलायतले गत एक शताब्दीमै सबैभन्दा ठूलो औसत ज्यालादरको अवरोह झेल्नेछ ।
कर घटाएर, राज्यलाई पछाडि हटाएर र समाजका दरिद्रजनप्रति आँखा चिम्लेर ट्रसले यो दूरावस्थाको सामना गर्ने कुरा कल्पना गर्न सकिन्न । यो समस्या हल गर्न राज्यले हस्तक्षेप नगरी हुन्न । सन् २०२० को कोभिड–१९ सङ्कटको बेला जति पुनःवितरण भएको थियो, त्यही स्तरमा राज्यले पुनःवितरण गर्नुपर्नेछ । अन्यथा, अनुदार दलले सन् २०२४ को आम निर्वाचन हार्ने निश्चित छ । ट्रसले अर्को विरोधाभाष पनि फुकाउनुपर्छ । कि त दक्षिणपन्थी विचारधारामा अड्डी कसेर उनले चुनावी पराजयको बाटो खन्नुपर्नेछ, कि भने व्यवहारिक नीति लिएर उनले आफ्नो विचारधारा चपाउनुपर्नेछ ।
आर्थिक सुनामीअघि समेत जनताबीच निरासा र असन्तुष्टि छाएको थियो । देशले राम्ररी काम नगरेको सबैले महसुस गर्दै थिए । समृद्धि र कार्यक्षमता बढेर नयाँ युग थालनी हुने जति नै फलाके पनि ब्रेक्जिटले गर्दा अर्थतन्त्रका विभिन्न भागहरूमा श्रमको अभाव ल्यायो । यो समस्यालाई कोभिड–१९ ले झन् चक्र्यायो । अर्थतन्त्र यी समस्याबाट निस्किसकेको छैन । अर्थतन्त्रका विभिन्न भागहरूमा चरम श्रम अभाव छ । बेलायतको सबैभन्दा प्यारो सरकारी निकाय राष्ट्रिय स्वास्थ्य सेवा अहिले घिटिकघिटिक स्थितिमा छ । वर्षौँदेखि खर्च र चरम कर्मचारी अभावमा पिल्सिएकोले यो स्थिति आएको हो ।
बेलायत सन् १९७९ मा थ्याचर सत्तामा आउँदाको स्थितिभन्दा धेरै तल पुगिसकेको छ । यही दूरावस्था सामान्यतया पश्चिम र खासगरी पश्चिम युरोपका अन्य देशको पनि छ । सन् १९८० को दशकमा सोभियत सङ्घसँगै पश्चिम युरोपको दबदबा विश्वभरि थियो । चीन र अन्य विकासशील देशहरूको उदयसँगै त्यो दबदबा वा आनन्दलोकमा ग्रहण लागेको छ । एउटा उदाहरण दिनु पर्याप्त हुन्छ । पश्चिम युरोपलाई अहिले सताइरहेको तेल र ग्यासको चर्को मूल्यको समस्या स्थायी हो कि अस्थायी ? अहिले यो समस्या स्थायीजस्तो देखिन्छ । रुसले तेल निर्यातका लागि चीन र भारतजस्तो नयाँ बजार पाएको हुनाले पश्चिम युरोपको लागि यो स्थायी समस्या हुने देखिन्छ । विश्वमा पश्चिम युरोपको आर्थिक प्रभाव थोरै छ । त्यसैले ऊ खेल्ने क्षेत्र खुम्चिएको छ । विश्वको अस्ताउँदो पक्षको अङ्ग भन्नुको तात्पर्य यही हो ।
अन्तमा, बेलायत–चीन सम्बन्धका दृष्टिले ट्रसको विजयले के अर्थ राख्छ ? आशावादी हुने ठाउँ छैन । ट्रस आफूलाई शीतयुद्धकालीन योद्धा ठान्छिन् । उनले चीनलाई राष्ट्रिय सुरक्षाको निम्ति ‘खतरा’ करार गर्ने र चीनसित रुसलाई जस्तै व्यवहार गर्ने बलियो सङ्केत दिएकी छिन् । बेलायत–चीन सम्बन्धको स्वर्ण युग पाँच वर्षअघि टुङ्गिएको थियो । अब लामो समयका लागि त्यो युग फर्किने सम्भावना क्षीण छ ।
(‘ग्लोबल टाइम्स’ बाट । सम्यक)
Leave a Reply