नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
भारतको दक्षिणी राज्य केरलाका पूर्वस्वास्थ्यमन्त्री तथा माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा) की केन्द्रीय समिति सदस्य के. के. शैलजाले फिलिपिन्सका पूर्वराष्ट्रपति रामो म्यागसेसेको नाममा प्रदान गरिने रामोन म्यागसेसे पुरस्कार लिन अस्वीकार गर्नुभएको समाचार भारत र धेरै एसियाली देशका समाचारमाध्यममा छायो । नेतृ के. के. शैलजा मुख्यमन्त्री पिनरायी विजयानको अघिल्लो सरकारमा केरलाको स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो । उहाँ स्वास्थ्यमन्त्री रहनुभएको निपाह भाइरस र कोभिड–१९ को सङ्क्रमण व्यापक फैलिनबाट रोक्नमा उहाँको सक्रिय भूमिकाको त्यतिबेला नै चर्चा भएको थियो । उहाँ केरलाको विधानसभा सदस्य र स्वास्थ्यमन्त्री हुनुअघि एक माध्यमिक विद्यालयको शिक्षिका हुनुहुन्थ्यो । उहाँको योगदानका लागि भारतका केही सामाजिक संस्थाहरूले उक्त पुरस्कारका लागि नाम मनोनयन गरेका थिए ।
त्यसो त म्यागसेसे पुरस्कार पाउने पहिलो भारतीय शैलजा होइनन् । यसभन्दा अघि फिल्मकार सत्यजित रे, कार्टुनिस्ट आरके लक्ष्मण, पूर्वनिर्वाचन आयुक्त टीएन शेषन, गायक एमएस सुब्बुलक्ष्मी, वैज्ञानिक एमएस स्वामीनाथन, पूर्वआईपीएस किरण बेदी, दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाल, मानवअधिकार कार्यकर्ता बेजवाडा विल्सन र पत्रकार रविशकुमारले पनि उक्त पुरस्कार पाइसकेका थिए ।
पुरस्कार र अवार्डहरूका लागि हानथाप भइरहने भारतको लोकतान्त्रिक समाजमा जब माकपा नेतृ शैलजाले पुरस्कार लिन अस्वीकार गरिदिएको समाचार बाहिरियो, त्यसले ठुलै तरङ्ग ल्यायो । लाखौँ रुपैयाँ नगदसहितको उक्त पुरस्कार अस्वीकार गरेको समाचारलाई धेरैले एकैबाजी विश्वास गर्न सकेनन् । त्यसैले नेतृ शैलजाले तिरुवनंतपुरममा पत्रकार सम्मेलन नै गरी आफूले उक्त पुरस्कार लिन अस्वीकार गरिदिएको स्पष्ट पार्नुपर्याे । उहाँले आफूमा व्यक्तिगतरूपमा उक्त पुरस्कार लिने कुनै रुचि नभएको पनि बताउनुभयो ।
केरलका पूर्वस्वास्थ्यमन्त्री शैलजाले म्यागसेसे पुरस्कार लिन अस्वीकार गरेपछि भारतीय व्यापारिक सञ्चारमाध्यममा माक्र्सवादी कम्युनिस्ट पार्टीको दबाबमा पुरस्कार हिच्किचाएको, पार्टीले राम्रो काम गर्ने नेताहरूलाई अगाडि बढ्न नदिएको, शैलजालाई पुनः मन्त्री नबनाएको मात्र होइन, पश्चिम बङ्गालका पूर्वमुख्यमन्त्री एवं माकपा नेता ज्योति बसुलाई भारतको प्रधानमन्त्री बन्न नदिएको प्रसङ्गसमेत जोडेर धुवाँदार प्रचारबाजी भारतीय मिडियाले गरिरहेका छन् । तर, उनीहरूले किन भारतको माक्र्सवादी कम्युनिस्ट पार्टी र त्यस पार्टीको केन्द्रीय समितिका सदस्य तथा केरला विधानसभा सदस्य शैलजाले पुरस्कार अस्वीकार गरे भन्ने प्रचार गर्न चाहेको देखिएन ।
निश्चय पनि नेतृ शैलजाले पुरस्कार अस्वीकार गर्ने उक्त निर्णय लिनुअघि आफू आबद्ध पार्टी माकपाको राष्ट्रिय नेतृत्वसित सरसल्लाह गर्नुभएको थियो । कम्युनिस्ट पार्टीका सदस्यहरू व्यक्तिगत लाभ र हानिको आधारमा नभई देश र जनताको हितका लागि पार्टीको नीति र निर्देशनअनुसार चल्छन् । यसलाई स्पष्ट पार्ने उद्देश्यले नयाँ दिल्लीमा पत्रकारहरूसित कुराकानी गर्दै माकपा महासचिव सीताराम येचुरीले भन्नुभयो, म्यागसेसे पुरस्कार आजसम्म कुनै पनि सक्रिय वामपन्थीहरूलाई दिइएको छैन तर शैलजाजीलाई छनोट गरियो । कामरेड शैलजा पूर्वमन्त्रीमात्र होइन माक्र्सवादी कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सदस्य पनि हुनुहुन्छ । केन्द्रीय समिति पार्टीको सर्वोच्च निर्णय लिने संस्था पनि हो र साथै उहाँ पार्टीको सक्रिय सदस्य पनि हुनुहन्छ । जहाँसम्म ज्योति बसु प्रधानमन्त्री नबनेको प्रसङ्ग छ, कम्युनिस्ट पार्टी पुँजीवादी सरकारमा नजाने नीतिअनुसार नै माकपाले सरकारको नेतृत्व गर्न अस्वीकार गरेको थियो ।
केरलाकी पूर्वस्वास्थ्यमन्त्री शैलजाले पुरस्कार अस्वीकार गर्नुको अर्को कारण खुलासा गर्दै भन्नुभएको छ, “पुरस्कार मलाई व्यक्तिगतरूपमा लिनका लागि आग्रह गरिएको तर जुन कामका लागि पुरस्कार दिने भनिएको हो, त्यो सामूहिक प्रयास थियो । केरलामा सार्वजनिक स्वास्थ्य क्षेत्रका समस्याहरूको समाधानका लागि दिइएको भनिएको छ । २०१८ मा निपाह भाइरसको प्रकोप र २०२० मा कोभिड–१९ को सङ्क्रमण सफलतासाथ नियन्त्रणका लागि मेरो नाम पुरस्कारका लागि मनोनयन गरिएको रहेछ । त्यो कार्य मैले एक्लैले गरेको होइन, सिङ्गो सरकार, सरकारी संयन्त्रहरू, पार्टी र जनता मिलेर गरेका थियौँ । त्यसैले ती कार्यका लागि मैले व्यक्तिगतरूपमा पुरस्कार थाप्नु लिनु मलाई सही लागेन । यसकारण, मैले पुरस्कार अस्वीकार गर्ने निर्णय गरेँ । मैले मेरो नाम प्रस्ताव गर्ने र पुरस्कारका लागि निर्णय गर्नेहरूलाई धन्यवाद भनेकी छु र विनम्रतापूर्वक उक्त पुरस्कार अस्वीकार गरिदिएकी हुँ ।
माकपा र नेतृ शैलजाले रामोन म्यागसेसे पुरस्कार अस्वीकार गर्नुको मूल कारण भने अर्कै छ । माकपा महासचिव सीताराम येचुरीले त्यसको सङ्केत गर्नुभएको छ । उहाँले भन्नुभएको थियो – पुरस्कार रामोन म्यागसेसेको नाममा छ, जसको इतिहास फिलिपिन्समा त्यहाँको कम्युनिस्टहरूलाई क्रूरतापूर्वक कुल्चेको भन्ने रहेको छ ।
रामोन म्यागसेसे फिलिपिन्सका सातौँ राष्ट्रपति थिए । उनको पूरा नामा रामोन डेल फिरेरो म्यागसेसे थियो । सन् १९५३ लेखि १९५७ मा विमान दुर्घटनामा निधन हुनु अघिसम्म उनले राष्ट्रपति पद सम्हालेका थिए । उनी मध्यम वर्गीय परिवारबाट आएका थिए । उनको छवि इमानदार नेताको थियो तर उनले कम्युनिस्ट र समाजवादीहरूप्रति उत्तिकै कडा व्यवहार देखाएका थिए । उनी १९५० मा त्यहाँको रक्षामन्त्री र १०५३ मा राष्ट्रपति बनेका थिए । उनले फिलिपिन्सलाई जापानको उपनिवेशबाट मुक्त गर्न लडेका कम्युनिस्टहरूमाथि ठूलो दमन चलाएका थिए ।
एक समय निकै बलियो बनेको फिलिपिन्सको कम्युनिस्ट आन्दोलन हुकबालाहाप आन्दोलन या हुक आन्दोलन नामले प्रख्यात थियो । त्यसका नेता लुई तारुक थिए । यो आन्दालन जापानी साम्राज्यवादको विरोधमा सुरु र विकास भएको थियो । तर, १९४६ मा उक्त देश जापानबाट मुक्त भइसकेपछि संरा अमेरिकी सरकारको समर्थनमा त्यहाँका धनाढ्य अवसरवादी र प्रतिक्रियावादीहरूले कब्जा जमाए । त्यहाँ धनी र गरिबहरूको बीचमा ठूलो खाडल थियो र पुँजीवादी सरकारको नीतिले त्यो खाडल झन्झन् चौडा हुँदै गएको थियो । हुड आन्दोलनले त्यहाँको सामन्तवादी भूमि व्यवस्थाको विरोधमा देशव्यापी किसान आन्दोलन चलाएको थियो । गरिब जनताको उक्त आन्दोलनमाथि अमेरिकी समर्थनमा राष्ट्रपति बनेका म्यागसेसेले चर्को दमन गरेका थिए । उक्त दमन र प्रतिरोधका क्रममा २ लाखभन्दा बढी फिलिपिनो जनताको ज्यान गएको बताइन्छ ।
सन् १९५७ मा विमान दुर्घटनामा परी म्यागसेसेको निधन भयो । म्यागसेसेको निधनपछि न्युयोर्कमा कार्यालय रहेको संरा अमेरिकाको रकफेलर ब्रदर्स फन्डले १९५७ मा उनको सम्मानमा म्यागसेसे पुरस्कार स्थापना र प्रायोजन गरेको थियो । यसरी म्यागसेसे पुरस्कारमा अमेरिकी एकाधिकार पुँजीका मालिक रकफेलरको पैसा रहेको छ । अहिले पनि रामोन म्यागसेसे फाउन्डेशन पुरस्कारदाताको रूपमा अगाडि रहे पनि भित्र त्यसको निर्णय र तयारी रकफेलर ब्रदर्स फण्डले फिलिपिनो सरकारसित समन्वयमा गर्ने बताइन्छ । उक्त पुरस्कार अस्वीकार गरेर माकपा र त्यस पार्टीकी नेतृ शैलजाले राजनीतिक नैतिकता देखाएका छन् ।
Leave a Reply