भर्खरै :

जिम्मेवारीबोध नहुँदा देशमा समस्या

हरेक सरकारले निश्चित उद्देश्य राखेर देश सञ्चालन गरेको हुन्छ । सरकारको स्पष्ट विचार र दृष्टिकोण भएन भने देश राम्ररी अघि बढ्दैन । यसले देशमा अन्योल छाउँछ र देश अनिर्णयको बन्दी बन्छ । अहिले देशको नेतृत्व गर्ने जिम्मा पाँच दलको काँधमा छ । पाँच दलको विचार पाँच थरीको छ । सरकारको नेतृत्व गर्ने नाउँमा सिद्धान्त र विचार नै नमिलेका दलहरूसँग गठबन्धन गरेर सरकारले देशलाई कसरी मार्ग निर्देश गर्नसक्छ ? सरकारले देशमा दिशा निर्देश गर्न सकेको छैन । पछि बन्ने सरकार सञ्चालन गर्न पनि पाँच दलका नेताहरू गठबन्धन गर्न रात दिन गृहकार्य गर्दै छन् ।
नेकाका सभापति शेरबहादुर देउवा निर्वाचनमा गठबन्धन नभए पार्टी कमजोर हुने र धेरै सीट हार्ने बताउँदै छन् । देउवाको यो चिन्ता पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र चित्रबहादुर केसीलाई पनि छ । ती दलका नेताहरूलाई सिद्धान्त र विचार मिलेको नमिलेको भन्दा पनि जसरी भए पनि जित्नु छ, जितेर देखाउनु छ । बढी सीट जितेकै आधारमा उनीहरू आफूलाई सही ठान्छन् र गर्व गर्छन् । यसरी सत्तासीन र ठूला दलका नेताहरूले खोटो विचार बोकी राजनीति गरिरहेका छन् । यो राजनीतिक नेतृत्वको कमजोरी हो । यो कमजोरी ती दलका नेताहरूले बारम्बार दोहो¥याउँदै छन् ।
दलको नेतृत्व गर्ने नेताहरू देश र जनताप्रति समर्पित नहुँदा, दूरदर्शी नहुँदा यो समस्या दोहोरिरहेको हो । देश विकास भनेको सरकारले तयार गर्ने आकर्षक नारा होइन । विकास, समृद्धि र सुशासनको नारा सबै सरकारहरूले फुकेकै हुन् । तर, विडम्बना ¤ राजनीतिक नेतृत्व गर्ने पक्ष कमजोर भएको हुँदा आज देशले विकासको काँचुली फेर्न सकेन । उनीहरूको गैरजिम्मेवारीपन र भ्रष्ट प्रवृत्तिको कारण सरकारले जनतालाई राहत दिन सकेन । सत्तासीन दलका नेता र मन्त्रीहरूमा जिम्मेवारीबोध भएन भने देश कसरी विकास हुन्छ ?
सरकारमात्र होइन सरकारी संयन्त्रहरू पनि कमजोर देखिए । ती निकायहरूले पनि जिम्मेवारीपूर्वक काम गरेनन् । भ्रष्टाचारी, अपराधी र कमिसनखोरहरू कारबाहीमा परेनन् । बरु, उनीहरूकै वरिपरि शासकहरू घुमिरहे । यसैले अब हुने निर्वाचनमा पनि आपराधिक व्यक्तिहरूको नाम सिफारिस भयो र उनीहरू उम्मेदवारी बन्दै छन् । आपराधिक व्यक्तिहरू निर्वाचित भएमा उनीहरूले गर्छन् के ? पदको दुरूपयोग गरी कमाउने धन्धाबाहेक उनीहरूले अरू के नै गर्छन् र ? यसले आपराधिक व्यक्तिहरूलाई निर्वाचनमा लड्न सिफारिस गर्ने दलको मात्र होइन देशकै नेताहरू किन हौसिएका हुन् ? आपराधिक व्यक्तिहरूबाट करोडौँ करोड पैसा असुलेर पार्टी नेता कार्यकर्ता पाल्न र चुनाव खर्च जुटाउन दलले उनीहरूलाई संरक्षण गरिरहेको हो । यसकारण, देशमा भ्रष्टाचार अन्त्य त के न्यूनीकरणको पनि सम्भावना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *