“लु सुन संसारको कामदारवर्गको पक्षमा साहित्य लेख्ने एक महान् क्रान्तिकारी साहित्यकार हुन्”
- कार्तिक १७, २०८३
भक्तपुर, २६ भदौ । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा आइतबार पार्टी कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भारतीय विस्तारवादको नीतिअनुसार नै वर्तमान सरकारले देशघाती नागरिकता विधेयक अगाडि बढाएको हुँदा नेपाली नागरिकबाट विरोध भएको हो भन्नुभयो ।
“विदेशीलाई नागरिकता दिने प्रावधानले देश सिक्किम र फिजी हुने खतरा भएकोले पार्टीले सडक र सदनमा विरोध गरेको हो । नेपाली जनतालाई नेपाली नागरिकता दिने विषयमा पार्टीको विरोध नरहेको तर २०६३ सालयता जन्मको आधारमा विदेशीलाई दिएको नागरिकता खारेज गर्नु आवश्यक छ । जन्मको आधारमा विदेशीले लिएको नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनु अर्को देशघात हो ।”, उहाँले स्पष्ट पार्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “अमेरिकी सहयोगको नाममा एमसीसी सम्झौता र एसपीपी कार्यक्रममा उल्लेखित व्यहोरा नवउपनिवेश बनाउने चाल भएकोले नेमकिपालगायत नेपाली जनताको विरोध छ । एमसीसी सम्झौतामा विरोध नगर्ने राजनीतिक दल विदेशी दलाल पार्टी साबित भयो ।”
भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका सचिव पाण्डव सुवालले पञ्चायती व्यवस्थाको विरोधमा लागेका दलहरू पञ्चायतकै पदचिह्नमा हिँड्नु विडम्बना हो भन्नुभयो ।
नेपाली काङ्गे्रसले देशका नदीनाला भारतलाई सुम्पेको, राष्ट्रिय उद्योग निजीकरण गरेको विरोधमा लागेको एमाले, माओवादी नै काङ्गे्रसको बाटोमा हिँडेकोमा नेपाली जनताको विरोध हो । नेमकिपाले स्थापनादेखि नै किसान–मजदुरको हितमा काम गरेको र निःस्वार्थरूपमा जनताको सेवा गरेको छ, उहाँले भन्नुभयो ।
भेलामा नेमकिपा स्थानीय वडा समितिका एस. खुलीमुली र सूर्य पञ्चले पार्टीको योगदानको बारेमा बोल्नुभएको थियो ।
भेलाले सूर्य पञ्चको अध्यक्षतामा नेमकिपा सूर्यविनायक वडा नं. ७ वडा समिति पुनर्गठन गरेको छ । सोही दिन भएको अर्को विद्यार्थी भेलाले सारिका खुलीमुलीको अध्यक्षतामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सूर्यविनायक वडा नं. ७ वडा समिति पुनर्गठन गरेको छ ।
Leave a Reply