नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
नेपाली काङ्ग्रेस विदेशी पुँजी परस्त पुँजीवादी राजनीतिक दल हो । नेका विदेशी पुँजीको सेवा गर्ने दल हो । विदेशी पुँजीको सेवा गर्ने दलले विस्तारवादी देश भारत र साम्राज्यवादी देश अमेरिकाको पक्ष लिनु या पक्षपोषण गर्नु अस्वाभाविक होइन । नेपालमा भारतीय एकाधिकार पुँजीको प्रभाव छ । यसरी पुँजीपति र पुँजीवादी देशहरूको पक्षपोषण गर्ने दल नेकासँग अन्य कम्युनिस्ट भनिने दलहरू घाँटी जोड्दै छन् या निर्वाचनमा गठबन्धन गर्दै छन् । वर्तमान सरकारलाई समर्थन गर्ने दलहरू फरक–फरक उद्देश्य र विचारका छन् । ती दलका नेताहरू कुनै बेला मिले पनि सधैँ मिलेर अघि बढ्न सकिँदैन । पुँजीवादी पार्टीले बहुमत जनताको सेवा गर्दैन । पुँजीवादी दलले फोहरको राजनीति ग¥यो । राजनीतिलाई विकृत या फोहर बनाउने काम पुँजीवादी दलबाट भयो ।
नेमकिपा पुँजीवादी विचार र व्यवस्थाको विरोधमा कामदार वर्गको शासन व्यवस्था स्थापनार्थ सङ्घर्षरत दल हो । नेमकिपा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा बोकेको राजनीतिक दल हो । नेमकिपाले देशका मजदुर, किसान, महिला, युवा, विद्यार्थी, कर्मचारी, शिक्षक, बुद्धिजीवी र राष्ट्रिय पुँजीपति वर्गको हित हुने नीतिको नेतृत्व गर्छ, गर्दै छ । राजनीतिक दर्शनमा आधारित आदर्श समाजको निर्माण गर्ने नेमकिपा शोषणरहित समाज स्थापना गर्न चाहन्छ । त्यसैको निम्ति नेमकिपाका नेता तथा कार्यकर्ताहरू जनताको घर आँगनमा पुग्दै छन्, समाजवादी आन्दोलनको प्रचार गरी जनतालाई शिक्षित र सचेत गर्दै छन् ।
पुँजीवादी पार्टीले श्रमजीवी वर्गको पक्षमा काम गर्दैन भन्ने कुरा द्वैधस्वामित्वको अन्त्य र कमैया मुक्त घोषणाले स्पष्ट गर्छ । जग्गा जोत्दै आएका किसानहरूको हक कायम नगर्दैै द्वैधस्वामित्व अन्त्य गर्नु भनेको किसानहरूलाई मोही हकबाट वञ्चित गर्नु हो । कमैया मुक्त घोषणा पनि त्यस्तै हो । त्यसबेला नै नेमकिपाले यो घोषणा धोका हो भन्दै विरोध गरेको थियो । पुँजीवादी व्यवस्थाको एउटा रोग कालोबजारी, भ्रष्टाचार र अनियमितता हो । यो व्यवस्थामा आपराधिक काम धेरै हुन्छन् । तर, आपराधिक व्यक्तिहरूलाई कारबाही हुँदैन, कारबाही गर्न पहलै गरिँदैन । पुँजीवादी व्यवस्थामा भेदभाव हुन्छ, पक्षपात हुन्छ र असमान व्यवहार हुन्छ ।
पुँजीवादी व्यवस्थाको सरकारले विदेशी दलालको सेवा गर्छ, जनताको मत पाउन अनेक लोभलालच देखाउँछ । पैसाको खोलो बगाउँछ, डर धम्की दिन पछि पर्दैैन । पुँजीवादी व्यवस्थाका शासकहरूले समाजमा झैझगडा गराउने, फाटो ल्याउने र अरूलाई जुधाएर फाइदा लिने काम गर्छन् । यसरी श्रमजीवी वर्गलाई दबाउने नेकाको पछि अरू कम्युनिस्ट भनिने दल लागेका छन्, उनीहरूले सहयोग र साथ दिएका छन् । पुँजीपति वर्गका प्रतिनिधित्व गर्ने दल नेकालाई साथ दिनु के पुँजीपति वर्गको पक्षपोषण गर्नु होइन ? के नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई पछि धकेल्नु होइन ?
Leave a Reply