भर्खरै :

निर्वाचन वर्गसङ्घर्षको एक रूप हो

नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको योगदान महत्वपूर्ण छ । नेमकिपाले स्थापनाकालदेखि निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध गर्दै आएको हो । पञ्चायत कालमा राजनीतिक र मौलिक अधिकार प्राप्तिको लागि कानुनी र गैरकानुनी सङ्घर्ष गर्ने दल हो, नेमकिपा । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थाभित्र पसेर कामदार वर्गलाई सामन्तवादी र पुँजीवादी प्रभावबाट मुक्त गर्ने र निर्वाचनलाई देश र जनताको हितमा उपयोग गर्ने लेनिनवादी नीति नेमकिपाले व्यवहारमा लागु गरेको हो । संशोधनवाद र अवसरवादको विरोध, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, रुसी सामाजिक साम्राज्यवादको विरोध गर्ने एक परिपक्व राजनीतिक दल नेमकिपा हो । अराजकतावाद र व्यक्तिहत्याको विरोध पनि नेमकिपाले गरिरहेकै हो ।
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचार बोक्दै अघि बढेको नेमकिपाले विदेशी शक्ति राष्ट्रको थिचोमिचो, अतिक्रमण, हस्तक्षेप र दबाबको पनि विरोध गर्दै आएको सबैसामु छर्लङ्ग छ । यसरी देश विदेशको मामिलामा नेमकिपाले स्पष्ट धारणा राख्दै आएको हुँदा नेमकिपा देशको राजनीतिको प्रकाशस्तम्भ भएको हो । नेमकिपाले भ्रष्टाचारको विरोध, जालीफटाहा र शोषक सामन्तहरूको विरोध गर्दै आइरहेको छ । नेमकिपाले निर्वाचनलाई सैद्धान्तिक र राजनीतिक सङ्घर्षकै रूपमा लिएको छ । निर्वाचन वैचारिक युद्ध हो या वर्गसङ्घर्षको एक रूप हो । नेमकिपाले चुनावी गतिविधि गरेर जनतालाई राजनीतिक सिद्धान्तबारे सुसूचित पारिरहेको छ । सिद्धान्तको आधारमा चल्ने कुनै पनि पार्टीले सैद्धान्तिक बहस गर्छ, गर्नुपर्छ । चुनावी गतिविधि या प्रचारप्रसार गर्नुको अर्थ पार्टीलाई असैद्धान्तिक गाली गर्नु होइन, नेताहरूलाई जथानाम गाली गर्नु होइन । जनतामाझ भ्रम फैलाउने, झूटको खेती गर्ने, लोभलालच देखाउने र धाक धम्की देखाउने काम पनि राजनीतिक नैतिकताभित्र पर्दैन ।
माक्र्सवाद मानव समाजमा लागू हुने दर्शन र सिद्धान्त हो । नेपालमा पनि माक्र्सवादको शिक्षालाई नेपालको माटो सुहाउँदो लागु गर्न सकिन्छ । तर, कम्युनिस्टको खोल ओढेर माक्र्सवाद र लेनिनवादको नाउँमा पुँजीवादी सरकारमा जाने काम कति ठीक या बेठीक ती दलहरूले सिँहावलोकन गर्नु जरुरी छ । कम्युनिस्टको नाउँमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारमै कुल्चेर पुँजीपति वर्गको सेवा गर्नु माक्र्सवाद होइन । सिद्धान्त र विचार बन्धकमा राखी पैसाको खोलो बगाएर निर्वाचनमा जित्ने काम कुनै पनि प्रजातान्त्रिक र कम्युनिस्ट पार्टीको आचरण होइन । निर्वाचनमा करोडौँ रकम खर्च गरेर, सामान बाँडेर, झूटो आश्वासन बाँडेर, साम्प्रदायिक भावना फैलाएर लिएको मत जनताको साँचो मत होइन । अतः हरेक राजनीतिक दल देश र जनताप्रति समर्पित हुनुपर्छ भनिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *