भर्खरै :

बाल प्रतिभा प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रम

भक्तपुर, २९ भदौ । “मनोरञ्जनका साथ स्वतन्त्ररूपमा अध्ययन गर्ने, हुर्कन पाउने र उचित पोषणयुक्त आहार पाउनु पूर्णरूपमा बालबालिकाको जन्मसिद्ध अधिकार हो । नेपाल सरकारले बाल अधिकारका आधारहरू तयार गरे पनि कागजमा मात्र सीमित भएको र बालबालिकाका लागि तोकिएका अधिकारहरू सबै दिन सरकार चुकिरहेको छ ।”
उक्त भनाइ समाज सुधार माध्यमिक विद्यालयमा ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित बाल प्रतिभा प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार एवं पूर्व प्रअ लक्ष्मीनारायण दुवालले राख्नुभएको हो ।
संविधानमा शिशुदेखि कक्षा १० सम्म अध्ययन गर्ने बालबालिकाहरूलाई निःशुल्क शिक्षा दिने भनिए तापनि आजसम्म शिक्षा क्षेत्रमा त्यसको बन्दोबस्त नभएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । बालबालिकाको सर्वाङ्गीण विकासको लागि प्रतिभा प्रस्फुटन गर्ने खालका गतिविधिहरू गर्दै जानुपर्ने धारणा उहाँले राख्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति राम प्रजापतिले आजका बालबालिका भोलिका कर्णधार भएकाले बालबालिकाहरूमा लुकेर रहेका प्रतिभाहरू पहिचान गरी अवसर दिँंदै जानुपर्ने विचार राख्नुभयो ।
विद्यालयका शिक्षक कृष्णप्रसाद सुवाल, विद्यार्थीहरू रचना श्रेष्ठ र सुस्मा जिम्बाले पनि बोल्नुभएको उक्त कार्यक्रममा विद्यालयबाट आयोजित विभिन्न प्रतियोगिताहरूमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई प्रमुख अतिथि दुवाल र व्यवस्थापन समिति अध्यक्ष राम प्रजापतिले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, कविता, गीत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *