भर्खरै :

लोकतन्त्रमा दरबारिया भाषाको प्रयोग सही हो ?

लोकतन्त्रमा दरबारिया भाषाको प्रयोग सही हो ?

नेपालको संविधान –२०७२ लाई मान्ने हो भने देशमा समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र छ । शासकीय स्वरूपले नेपालमा सङ्घीय लोकतन्त्र अीस्तत्वमा रहेको देखाउँछ । नेपालबाट राजतन्त्रको बिदाइ भइसक्यो तर दरबारी रवाफको आकाङ्क्षा भने झाँगिदै गएको देखिन्छ । शासक दलका नेताहरूका शानशौकत र उनीहरूका लागि प्रयोग भइरहेका भाषा दरबारी रवाफको आकाङ्क्षाभन्दा बढी केही मान्न सकिन्न । हिजो राजदरवार र राणा शासकहरूका दरबारमा प्रयोग हुने अति उच्चआदरार्थी आज शासक नेता, मन्त्रीहरू, सांसदहरू, उच्चपदस्थ सरकारी कर्मचारीहरू र नवधनाढयहरूका लागि र उनीहरूका घरमा प्रयोग हुनुलाई जानकारहरू रवाफको मोहबाहेक मान्दैनन् ।
हिजोआज नेपाली सिनेमा र टेलिसिरियलहरूमा समेत बुबा हजुर, मुमा हजुर, ज्युनार, भुजा गरिस्योस्, खाइस्योस्, गइस्योस् जस्ता अति उच्चआदरार्थी अनावश्यक रूपमा प्रयोग भएको पाउँछौं । हजुर, तपाईं, आउनुहोस्, बस्नुहोस् जस्ता उच्चआदरार्थीले पुग्ने संवादमा अति उच्चआदरार्थीको प्रयोगले भाषा र व्यवहारमा अस्वाभाविकता ल्याइरहेको छ । आफूलाई सम्भ्रान्त परिवारको भन्न रुचाउनेहरूले मात्र नभई आफूभन्दा माथिकालाई चिल्लो घस्नेहरूले दरबारिया शैलीको भाषालाई फैलाइरहेका छन् । आफूलाई प्रजातन्त्रवादी, समाजवादी र कम्युनिस्ट हुँ भन्ने नेताहरूको घरमा र साथ सङ्गतमा समेत दरबारिया भाषा प्रयोग हुनु उदेकलाग्दो छ । यसले देशमा सामन्तवादको प्रतीकको रूपमा रहेको राजतन्त्र अन्त्य भएर पनि धेरैको मानसिकताबाट सामन्तवाद अन्त्य नभएको देखाएको छ । के समानताको पर्याय मानिने प्रजातन्त्र र लोकतन्त्रमा पनि उच्चपदस्थ र धनी मानिसहरूको लागि दरबारिया भाषाको प्रयोग सही हो ? के यसले देश पुरानै सामन्ती युगमा रहेको आभास गराउँदैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *