भर्खरै :

भारतीय शासकहरू कामदार जनताका शत्रु

प्रजातान्त्रिक देश भनिने भारत पुँजीवादी देश हो । अधिकांश जनता पुँजीवादी भारतीय शासकबाट पीडित छन् । भारतीय शासकहरू भारतीय कामदार जनताका शत्रु र विरोधी हुन् । नेपाली श्रमजीवी जनता र भारतीय श्रमजीवी जनता आ–आफ्ना शासकहरूबाट पीडित छन् । नेपाली जनता भारतीय सरकारको विस्तारवादी नीति, एकाधिकार पुँजी र उपनिवेशवादी नीतिबारे आक्रान्त छन् । नेपाली जनताले त्यसको विरोध गरिरहेका छन् । हरेक देशभक्त नेपालीले आ–आफ्नो देशको हितको विषयमा आवाज बुलन्द गरिरहेका छन् । नेपाली जनता भारतीय कामदार वर्गको पक्षमा छन् । भारतमा हिटलरजस्तो कट्टरपन्थी हिन्दू शक्तिको उदय हुने सम्भावना देखिन्छ । त्यही मोदी अहिले फासीवादी बाटोमा हिँड्दै छन् ।
भारतीय एकाधिकार पुँजीको हैकमवादी नीतिले नै नेपाल र नेपालीको सम्बन्ध बिग्रिएको हो । भारतीय पक्षले नेपाल र नेपाली जनतालाई समान व्यवहार गरेको छैन, मित्रवत् व्यवहार गरेको छैन । भारतीय शासक वर्गले नेपाल र नेपाली जनतासँग समान व्यवहार गर्न हालसम्म भएका असमान सन्धि सम्झौता खारेज गर्नुपर्छ । तर, बेलायती उपनिवेशवादीहरूले भारतीयहरूलाई हेलाहोचो र असमान व्यवहार गरेजस्तै भारतीय शासकहरूले नेपाल र नेपालीलाई असमान व्यवहार गरिरहेका छन् । भारतीय सरकारले भनेझैँ नबसेको भनी भारतले नेपालमा बेलाबखत अघोषित नाकाबन्दी गरेकै हो । यो एक प्रकारको हस्तक्षेप हो । यस्तो व्यवहार छिमेकी या मित्र देश र प्रजातान्त्रिक देशलाई सुहाउँदैन ।
भारतीय सरकारले नेपाल सरकार हेरफेर हुने बेलामा मात्र होइन राजनीतिक परिवर्तनमा पनि प्रत्यक्ष र अप्रत्यक्षरूपमा हस्तक्षेप गरेको पाइन्छ । नेपाललाई कुनै देशको उपनिवेश र ‘अधीनस्थ’ राज्यको व्यवहार गर्नु राजनीतिक र नैतिकरूपले कुनै देशलाई सुहाउँदैन । कुनै देशको उठबसमा राख्ने त्यस्तो विचार अशोभनीय छ । तराईमा एक समय साम्प्रदायिक आन्दोलन हुँदा भारतले सघाएको थियो । साम्प्रदायिक आन्दोलनको सूत्रधार कतै भारतीय शासकहरू त होइनन् ? भारतीय प्रगतिशील र प्रजातन्त्रवादी शक्तिले नेपालको प्रगतिशील र प्रजातान्त्रिक आन्दोलनको समर्थन गर्नु स्वाभाविक हो । आज नेपाल र भारतमात्र नभई संसारका जनता अनेक जातीय, धार्मिक र क्षेत्रीय अतिवादबाट पीडित छन् ।
भारत सरकारले आफ्ना नागरिकलाई नेपाली नागरिकता लिन लगाएर नेपालमा भारतीय मूलका नागरिकको सङ्ख्या बढाउने प्रयास गरिरहेको छ । विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेलगत्तै नेपाली नागरिकता लिन पाउने नेपाली नागरिकता विधेयक पारित हुनु यसको पछिल्लो उदाहरण हो । भारतको इशारामा नेपाल सरकार हेरफेर हुनु राम्रो सङ्केत होइन । विदेशीको इशारामा सरकार ढाल्ने र जोगाउने दलका नेताहरूको आचरण पनि सही होइन । देश जोगाउन देशका सबै देशभक्तहरू एक ठाउँमा उभिनुपर्छ । मिचिएको नेपाली भूमि फिर्ता लिन, अनियमित बाँध तथा तटबन्ध भत्काउन, कालापानीबाट भारतीय सेना फर्काउन र चुच्चे नक्सा कायम राख्न देशका सबै दल र जनता एक ठाउँमा उभिनुपर्छ । सबैको एकै स्वर हुनुपर्छ र नेपाललाई स्वाधीन र सार्वभौम बनाइराख्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *