भर्खरै :

‘रात कालो छ, दिन अझ कालो छ’ नाटक हेर्दा

‘रात कालो छ, दिन अझ कालो छ’ नाटक हेर्दा

उन्नत समाज र विज्ञानमा आधारित संस्कृति निर्माण गर्ने उद्देश्यले स्थापित आस्था सांस्कृतिक परिवारले पञ्चायती राज्यस्तरबाट रचित २०४५ सालको भक्तपुर काण्डमा आधारित नाटक ‘रात कालो छ, दिन अझ कालो छ’ देखायो । देश र जनताको इमानदारी र निःस्वार्थपूर्वक सेवा गर्दै आएको नेमकिपालाई समूल नष्ट गर्न पञ्चायत शासकहरूले गरेको षड्यन्त्रमा आधारित सो नाटक १० अध्यायको छ । सवा एक घण्टा लागेको सो नाटकमा भक्तपुर काण्डको प्रारम्भिक घटनादेखि सरकारी मान्यताविपरीत शनिबारको दिन गरिएको सरजमिनको झल्को र पक्षपातपूर्ण सरजमिनको विरोधमा महिला जुलुस गरेर नाटक अन्त्य गरिएको छ । पछिल्ला दिनमा अर्को अध्याय थपेर सबै बन्दीहरू रिहा गरेर विजयोत्सव मनाउँदासम्मका दृश्यहरू थप गरे नाटकले अझ जीवन्तता पाउनेछ ।
राज्यले जस्तोसुकै षड्यन्त्र गरे पनि, षड्यन्त्र गरेर आतङ्क मच्चाएर नेमकिपाका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई विचलित बनाउने कुत्सित प्रयास गरे पनि सिद्धान्त र विचारको आधारमा चलेको दल नेमकिपा विचलित नभएको प्रसङ्ग नाटकमा उल्लेख गरिएको छ । सिद्धान्तको राजनीति गर्ने दलविरूद्ध प्रतिक्रियावादीहरूले अनेक षड्यन्त्र गरेर शारीरिक र मानसिक यातना दिए पनि कार्यकर्ताहरू शत्रुसामु झुक्दैनन् ।

क्रान्तिकारी साहित्यकार लुसुनको ‘मार या नमार त्यो सत्यलाई व्यर्थै, जागी उठ्नेछ त्यो फेरि उस्तै’ भनेझैँ नेमकिपा अझ जोश र जाँगरका साथ अघि बढिरह्यो । जस्तोसुकै शारीरिक र मानसिक यातना दिए पनि, दबाब दिएर जाली मुद्दामा जाली व्यहोरा लेखेर सही गराउने कुत्सित काममा इमानदार, सच्चा कम्युनिस्ट नेता तथा कार्यकर्ताहरू सही गर्दैनन् । यस्ता अन्यायपूर्ण, झूट र षड्यन्त्रपूर्ण मुद्दा खारेज गराउन, पञ्चायती निरङ्कुश शासक र त्यसको पछि लाग्ने प्रहरीहरू क्रूर दमनको विरोधमा गरिएको महिलाहरूको सङ्घर्षलाई समाजले बिर्सने छैन, बिर्सनु हुँदैन । यही कारण प्रत्येक वर्ष पार्टी र अरू जनवर्गीय सङ्गठनले झैँ नेपाल क्रान्तिकारी महिला सङ्घले पनि भक्तपुर काण्डको भत्र्सना कार्यक्रम गरिरहेको हो ।


गीतबाट प्रारम्भ भएको नाटक सोही गीत गाएर अन्त्य गरिएको छ । भक्तपुर काण्डबारे नयाँ पुस्तालाई पनि सुसूचित पार्ने उद्देश्यले सो नाटक देखाइएको हो । नाटकको प्रारम्भ भुइँचालो आउँदा, घर भत्केर मानिसहरू पुर्दा, घाइते हुँदा जस्तो कोलाहल हुन्छ, रूवावासी हुन्छ, दौडादौड हुन्छ र ऐय्या ऐय्याको स्वर सुनिन्छ त्यस्तै दृश्यबाट हुन्छ । भूकम्पछि गरिएको राहत वितरणमा भएको पक्षपात, असम्बन्धित व्यक्तिलाई राहत वितरण गराएर सरकारी नियम उल्लङ्घन गरेको प्रसङ्ग पनि नाटकमा देखाइएको छ । भूकम्पले पारेको असर र प्रहरी दमनको विषय एक कान दुई कान मैदान हुँदै चिया पसलमा पनि पुग्छ । आफैँ हिँडेर गाडीमा गएको मान्छे वीर अस्पतालमा पुग्दा सोही दिन मरेको घटनाले पनि त्यो काण्ड षड्यन्त्रपूर्ण रहेको स्पष्ट हुन्छ । कार्यकर्ताहरूलाई पक्राउ गर्ने क्रम जारी हुन्छ, घरमा घेरा हालिरहेको हुन्छ । त्यस्तो बेला कति स्वार्थीहरू आपत्मा परेका कार्यकर्तालाई घरमा एक रात बस्ने काममा पनि साथ दिँदैनन् । उल्टो पञ्चायती सरकारसामु आत्मसमर्पण गरेमात्र बास दिने कुरा गर्छ । कार्यकर्ताले रगतको नाताभन्दा वर्गीय नाता प्यारो हुन्छ भन्ने अनुभव गर्छ र आत्मसमर्पण गर्दैन ।


नेमकिपा व्यक्ति हत्याविरोधी पार्टी हो । व्यक्तिहत्या गरेर देशमा परिवर्तन आउँदैन भन्ने विश्वास नेमकिपाको हो । पुँजीवादी व्यवस्थाले शोषित–पीडित जनताको सेवा नगर्ने हुँदा कम्युनिस्टहरू समाजवादी व्यवस्था स्थापना गर्न अघि सर्छन्, सरिरहेका छन् । देश र जनताको सेवा गर्नुबाहेक नेमकिपाको अर्को स्वार्थ छैन । प्रतिक्रियावादीहरूले आफ्नो षड्यन्त्र सफल पार्न कुटपिट गर्छन्, लछारपछार गर्छन्, घिसार्छन् र औँलामा पिनले घोच्छन् । तर, असल कार्यकर्ताहरू मर्न तयार हुन्छन्, शत्रुसामु झुक्दैनन् । प्रतिक्रियावादी, डन र गुण्डाहरू नेता तथा कार्यकताका परिवार, शुभचिन्तक र समर्थकहरूलाई ज्यानमाराको स्वास्नी, अब जिन्दगीभर जेलमा कोचिन्छ, पोइलो गए पनि हुन्छ भनी फुकेर निरास बनाउने प्रयास गर्छन् । प्रहरीहरू पक्राउमा परेका कार्यकर्ता मरेर फालेको, खोरमा भेट्न आएको कार्यकर्ताको जहानलाई सेतो पोशाक लाउन आग्रह गरेका प्रसङ्गहरू पनि नाटकमा केलाइएको छ । श्रीमान् भेट्न आएकी महिलाले लास भए पनि हेर्ने कामना गर्छिन् । पछि बाध्य भएर खोरभित्र कार्यकर्ता झिकाइन्छ, भेटघाटसँगै कुराकानी हुन्छ । संवादमा जेलभित्र नेताहरू पनि साथमा रहेको, घरमा सन्तानलाई सान्त्वना दिने नेताहरूको जीवनी पढाउने र साथीहरूसँग भेटघाट भइरहनुपर्नेबारे बातचित हुन्छ । कुराकानीको बीचबीचमा प्रहरीले जेलमा राजनीति कुरा गर्ने होइन, होइन भने कुरा गर्न दिन्न भनी तर्साउने काम गरिरहेको हुन्छ ।


यता कार्यकर्ताहरू पञ्चायती षड्यन्त्रको भण्डाफोर गर्दै जनताबीच भिजिरहेका हुन्छन्, राति राति पर्चा–पोस्टर टाँसिरहेका हुन्छन् । राजबन्दी रिहा गर, जाली मुद्दा फिर्ता गरजस्ता नारा रहेको ब्यानर टाँसिरहेका हुन्छन् । कार्यकर्ताहरू जेल बाहिरमात्र होइन जेलभित्र पनि सङ्घर्ष गरिरहेका हुन्छन्, जेलभित्रै रहेर स्नातकोत्तर पास गर्ने कुरा चलेको हुन्छ । षड्यन्त्र रचिएको जाली मुद्दा खारेज नभएसम्म सङ्घर्ष चालु राख्ने प्रतिबद्धता व्यक्त हुन्छ । सरकारले शनिबारको दिन सरजमिन गर्छ । त्यो कुरा एक कान दुई कान मैदान हुँदै टोल–टोलमा पुग्छ । सरजमिन स्थलमा महिलाहरू पुग्छन् । तर, प्रहरीले सरजमिन स्थलभित्र महिलालाई पठाउँदैन, बक्न दिँदैन । तर, गुप्तचर र पञ्चायती पृष्ठपोषकहरूलाई भित्र पठाउँछ । त्यो घटनाले पनि भक्तपुर काण्ड षड्यन्त्र या जाली रहेछ भन्ने थाहा हुन्छ ।


नाटकको अन्तमा सरजमिन स्थलमा प्रहरी र महिलाहरूबीच घचेटाघचेट हुन्छ । सरजमिनमा हामीले पनि बोल्न पाउनुपर्छ, होइन भने पक्षपातपूर्ण सरजमिन मान्दैनौँ भन्दै सङ्घर्ष हुन्छ । षड्यन्त्रपूर्ण सरजमिन खारेज गर भन्दै महिलाहरूको जुलुस अघि बढ्छ र नाटक अन्त्य हुन्छ । माइक नभएको कारण कार्यकर्ता र महिलाहरू भेला हुँदाको बातचित अलि सुनिएन । सुरूका अध्यायमा प्रहरीको अभिनयमा केही सुधार गर्नुपर्ने देखिन्छ । नाटक सुरू हुनुअघि गाइने गीतमा स्वर सबैले नसुनेको बताउँछन् । गीतमा जोस जाँगरको स्वर भएको भए सुनमा सुगन्ध हुनेछ । नाटकका लेखक नीरज लवजु र निर्देशक विकास तमखुलाई धन्यवाद । नाटकमा सहभागी सबै कलाकार र नाटक हेरेर आस्था सांस्कृतिक परिवारलाई सहयोग गर्ने सबै दर्शकहरूमा पनि हार्दिक सलाम ।

Leave a Reply

Your email address will not be published.