हो चि मिन्ह र अफ्रिका – ५
- जेष्ठ ५, २०८३
रोममा ओर्लिनेबित्तिकै त्यहाँ रुसी सञ्चारमाध्यम पढ्न पाइन्न भन्ने थाहा पाएँ । युरोपेली आयोगकी राष्ट्रपति उर्सुला भोन देर लेइनले युरोपले ‘रुसी प्रचारमाध्यम’ सँगका सम्पूर्ण सम्बन्धहरू चुँडाउनुपर्छ भनी कडा उर्दी जारी गरेकी थिइन् । उनको उर्दीलाई इटाली सरकारले गम्भीरतापूर्वक पालन गरेको महसुस भयो ।
म पत्रकार हुँ । पत्रकार भएर रुस–युक्रेन युद्धबारे एकतर्फी समाचारहरूमात्र पढ्न, सुन्न र हेर्न पाउनु दुःखको विषय हो । युद्धबारे एकपक्षीय समाचारमात्र हेरेर यस्तो जटिल विषयबारे कसरी सन्तुलित धारणा बनाउने ?
तर, यो समस्या युरोपमा व्यापक छ । ‘प्रजातान्त्रिक’ युरोपलाई यो समस्याले अहिले गाँजेको छ भन्दा हुन्छ । युरोपले विश्वका विभिन्न भागमा ‘प्रजातन्त्र’ प्रसार गर्ने नाउँमा आफ्ना राजनीतिक र सैन्य हस्तक्षेपहरूमाथि सुनपानी छर्किँदै आएको छ । अहिले युरोप आफै प्रजातन्त्रको मूलभूत सिद्धान्त अभिव्यक्ति स्वतन्त्रताबाट पर भाग्दै छ ।
रोम पुगेपछि मैले प्रसिद्ध अमेरिकी विद्वान नोम चोम्स्कीको एउटा भनाइ सम्झेँ । एउटा अन्तर्वार्तामा उहाँले मलाई भन्नुभएको थियो, ‘यति साह्रो उन्माद त मैले दोस्रो विश्वयुद्धताका पनि देखेको थिइनँ ।’
यहाँनिर इटालीको भूमिका अनौठो छ । फाँसीवाद सन् १९२१ मा पहिलोचोटि देखिएको थियो । फासीवाद र नाजीवादले सन् १९३६ मा घाँटी जोडेपछि इटालीलाई अस्तित्वको सङ्कट आइलाग्यो । इटालीमा गृहयुद्ध मच्चियो । त्यसमा जनताले ठूलो मूल्य चुकाउनुप¥यो । सन् १९४५ मा फासीवाद औपचारिकरूपमा पराजित भयो र बेनिटो मुसोलिनी मरे । तैपनि, केही हदसम्म इटालीमा वैचारिक अन्योल छ । इटालीबाट फासीवादको पुरानो जरा नउखेलिएका धेरै प्रमाणहरू भेटिन्छन् । सन् १९८० को दशकमा उत्तर इटालीमा ला लेगा पार्टीको जन्म भयो । लगत्तै ऊ रोमको सत्ताको सिँढी उक्लियो । ऊसँगै इटालीमा ठूला पुँजीपतिहरूले टाउको उठाए । यिनै पुँजीपतिहरू फासीवादका वैचारिक पक्षपोषक हुन् । सन् १९९४ मा तिनकै प्रतिनिधि सिल्भियो बुर्लिस्कोनी सत्तारुढ भए ।
लाजियो क्षेत्रका पहाडमा पदयात्रा गर्दैगर्दा म एउटा गाउँमा पुगेँ । त्यस गाउँमा पर्यटकहरूलाई मुसोलिनी युवक छँदाको पोस्टर बेचिँदो रहेछ । सुरुमा त म रन्थनिएँ । मैले बुझेँ, इटालीका केही भेगमा अझै पनि फासीवादको विरासत जीवित रहेछ । फासीवादी विगतलाई भावुकतापूर्वक सम्झिइँदो रहेछ । केही भेगमा त मुसोलिनीको शासनकाललाई आधुनिक इटालीको स्वर्णयुग ठानिँदो रहेछ ।
इटाली र अन्य युरोपेली देशहरूमा चलिरहेको भयावह सेन्सरसिप देखेपछि जोकोही अतासिन्छ । रोम सरकारले धेरै फासीवादी विशेषताहरू देखाइरहेको विषयमा इटालीका ‘ठूला’ नेताहरूले अस्वीकार गर्दै आएका छन् । तैपनि, प्रमाणहरू तिनका खिलाफमा छन् ।
अन्य विचारधारालाई जस्तै फासीवादलाई विभिन्न तवरले परिभाषित र व्याख्या गरिँदै छ । फासीवादका मूलतत्वहरू भने जस्ताको तस्तै छन् । जस्तो, कर्पोरेट वा ठूला पुँजीपतिहरू र कुलीनहरूको प्रभाव बढ्दै छ, मिडियामा सेन्सरसिप छ, असन्तुष्ट पक्षसँग दुष्ट व्यवहार गरिँदै छ, सैन्यवाद र राष्ट्रवादी चिह्नहरूमा बढ्ता जोड दिइँदै छ ।
‘कर्पोरेटवाद’ मा इटालीको पुनर्आगमन नितान्त नौलो भने होइन । खासगरी ‘उदारवादी’ पश्चिमा समाजहरूको राजनीतिक संरचनामा भइरहेका परिवर्तनहरू नियाल्दा इटालीको व्यवहार अस्वाभाविक लाग्दैन । इटालीको फासीवादी विगत र आजको राजनीतिक अवस्था मिल्न गएको छ । यसकारण, ऊ फरक देखिएको हो ।
२० औँ शताब्दीको पूवाद्र्धमा फासीवादलाई हराउन इटालीमा समाजवादी शक्तिको ठूलो भूमिका रह्यो । आज इटालीको राजनीतिमा समाजवादी तप्का उति अस्तित्वमा छैनन् । जब कि आज इटालीमा वर्गीय असमानता र गरिबी एकदम बढेको छ । इटालीको ‘ट्रेड युनियन महासङ्घ’ ले सिद्धान्तमा भए पनि समान अधिकारको निम्ति ‘वर्गसङ्घर्ष’ को कुरा गर्छ । व्यवहारमा उसले विद्यमान ‘कर्पोरेट प्रणाली’ नै अङ्गालेको छ । यसरी इटालीका पुराना नेता जियानफ्रान्को बोर्घिनीले भनेझैँ सो महासङ्घ ‘अर्थव्यवस्थाको झिनो हाँगो’ बनेको छ ।
महासङ्घ बाहिर बसेर आफ्नै ढङ्गले वर्गसङ्घर्ष हाँक्न दुस्साहस गर्ने जोकोही सरकारी कोपभाजनमा पर्ने खतरा छ । गत जुलाई १९ मा ‘एसआई कोबास युनियन’ का ठूला नेता मोहम्मद अराफात, कार्लो पालाभिसिनी र ब्रुनो स्काजनेल्ली पक्राउ परे । उनीहरूमाथि ‘व्यक्तिगत हिंसा मच्चाएको, सरकारी अधिकारीमाथि हातपात र सार्वजनिक सम्पत्ति तोडफोड गर्न खोजेको र सार्वजनिक सेवा अवरुद्ध गर्ने षड्यन्त्र गरेको’ आरोप लगाइयो ।
रोमका नेताहरूले नहिच्किचाई इटालीको फासीवादविरोधी संविधानको मर्ममा चोट पु¥याएको स्वीकार्छन् । सो संविधान विश्वका प्रगतिशील संविधानहरूमध्ये पर्छ । संविधानमा स्पष्ट किटान गरिएको छ, ‘इटालीले युद्ध अस्वीकार गर्छ ।’ रुसविरुद्ध युक्रेनको युद्धमा समर्थन जनाउँदै रोमले युक्रेनलाई करोडौँ डलर खर्च पठाइसकेको छ र उति नै मात्रामा सहयोग गर्ने वचन पनि दिएको छ ।
इटालीका नेताहरू सेप्टेम्बर २५ को आमचुनावको तयारी गर्दै छन् । जबकि उनीहरू रुसविरोधी युद्धमा धन पनि लगानी गर्दै छन् । यसरी उनीहरूले इटालीका मुक्तिदाताको मुकुन्डो ओढ्दै छन् । भोटको तलतल अचाक्ली भएपछि हालैमात्र इटालीका वर्तमान विदेशमन्त्री लुइगी दि माइयोले इटालीको चुनाव भाँड्न खोजेकोमा बिनसित्ती मस्कोको निन्दा गरे । उनले आफ्ना प्रतिद्वन्द्वीलाई कथित रुसी भाँडी खेलमा ‘मौन बसेको’ आरोप लगाए । यो भाषाले अमेरिकी नेताहरूको फलाकोको झल्को दिन्छ ।
इटाली अपवाद होइन । अन्य युरोपेली देशहरूको गति पनि यस्तै छ । राष्ट्रवादी फलाको र बढ्दो सैन्यवादी मानसिकता जर्मनीमा समेत देखिँदै छ । ऊ युरोपेकै ठूलो सैन्य शक्ति हो ।
यसले पहिले नै सुषुप्त अवस्थामा रहेको लोकरिझ्याइँ र जातिवादी चरित्रलाई उकेरा हाल्दै छ । युक्रेन युद्धअघि नै युरोपमा यो प्रवृत्ति देखिएको थियो । जातिवादी सोचका व्यक्तिहरूले विशेषगरी शरणार्थी र आप्रवासीहरूलाई तारो बनाइरहेका छन् ।
सत्तामा बसिरहन नेताहरूले जुन मुद्दालाई पनि प्रयोग गर्न तयार रहन्छन् । तर, युरोपका जनताले आफ्नो विगत केलाउनुपर्छ । अन्धराष्ट्रवाद र लोकरिझ्याइँले एकदम जघन्य र विध्वंसकारी परिणाम ल्याउन सक्छ । धेरै अर्थमा दोस्रो विश्वयुद्ध यिनै दुई प्रवृत्तिको परिणाम थियो ।
– एमआर अनलाइनबाट
अनुवाद : सम्यक
Leave a Reply