भर्खरै :

नेपालभाषाको चलचित्र इन्दिरा धिमे मैँचाको शुभ मुहूर्त

नेपालभाषाको चलचित्र इन्दिरा धिमे मैँचाको शुभ मुहूर्त

भक्तपुर, ४ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेपालभाषाको जीवनीमूलक चलचित्र इन्दिरा धिमे मैँचाको क्ल्याप बोर्डसहित शुभमुहूर्त भएको छ ।
उक्त कार्यक्रममा अतिथि सुनिल प्रजापतिले आजभन्दा २१ वर्षअघि हेटौँडामा काठमाडौँले उपत्यकाको सांस्कृतिक विधा प्रदर्शन गर्न नसकेर भक्तपुर नगरपालिकाको सहयोग मागेको बेला स्थानीय जनताको सहयोगमा इन्दिरा लाछिमस्युको टोलीले धिमे बजाउँदा उहाँले धिमे केटीको उपनाम पाएको स्मरण गर्नुभयो ।
उहाँले एउटै जातिले गरिरहेको सरसफाइमा अन्य जातिकाले गर्दा समाजमा त्यो बेला अर्कै नजर र व्यवहार हुने गरेको तर अहिले सबै जातजातिका मानिसहरूले सरसफाइ गरेर भक्तपुरलाई नेपालभर स्वच्छ र सांस्कृतिक नगर चिनाउन सफल भएको बताउनुभयो ।
भक्तपुरमा रहेका सांस्कृतिक गुरुहरू कुनै प्राध्यापकभन्दा कम नरहेको बताउँदै उहाँले सांस्कृतिक गुरुहरूले समाजको उत्थानका लागि आ–आफ्नै तरिकाबाट सेवा गरिरहेकाले असोज ११ हुने विश्व पर्यटन दिवसको अवसरमा सम्मान गर्ने बताउनुभयो ।
अर्का अतिथि एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले जन्म, जीवन र मृत्युको शाश्वत सत्यलाई जीवित देउता मानिने नवदुर्गाले समेत आत्मसात गरिरहेको बताउँदै नवदुर्गाको खिं बाजाबाट नै अन्य बाजा र नृत्यको उत्पत्ति भएको बताउनुभयो ।
उहाँले ५५ झ्याले दरबारमा रहेका भित्तेचित्रले गीतसङ्गीतमा राजा भूपतीन्द्र मल्ल एक साहित्यकार एवम् दार्शनिक भएको बताउँदै भक्तपुर सङ्गीत विधाको पनि विद्यालय रहेको बताउनुभयो ।
धिमे गर्ल इन्दिरा लाछिमस्यू, शिक्षक लक्ष्मीप्रसाद ढुकुछु तथा नेपालभाषाका चलचित्र पत्रकार विजयरत्न तुलाधरलगायतले बोल्नुभएको थियो ।
सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशनमा बिके फिल्मस्को ब्यानरले निर्माण गर्ने उक्त ‘इन्दिरा धिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्युको जीवनीमा आधारित हुने जनाएको छ ।
गोपालकाजी कायस्थ प्रस्तुतकर्ता र सुरेन्द्र शाक्य निर्माता भएको सो चलचित्र आगामी असोज १० गतेबाट फिल्म छायाङ्कनमा जाने निर्माण टीमले जानकारी गराएको छ ।
चलचित्रको सह–निर्माताका रूपमा प्रकाशदीप श्रेष्ठ, गङ्गादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रविन भाम रहेको उक्त चलचित्रमा धिमे वाद्यक इन्दिरा लाछिमस्युको पनि अभिनय रहनेछ ।
उक्त चलचित्रको मुख्य भूमिकामा गणेशराम लाक्षी, आशाकाजी थकु, नगिना जोशी, रोजिना सुवाल, रूपेन श्रेष्ठ, देवचन्द्र बज्राचार्य, रामराजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहनेछ ।
सङ्गीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको सङ्गीत रहने सो चलचित्रमा जीवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन र गायक जुजुकाजी रंजित र बानिका प्रधानको गायन रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.