भर्खरै :

सीआईएको स्वर्ण जयन्तीमा रूसले किन बधाई दिएन ?

सीआईएको स्वर्ण जयन्तीमा रूसले किन बधाई दिएन ?

अमेरिकी गुप्तचर निकाय सीआईएको ७५ औँ वार्षिकोत्सवको अवसर पारेर रूसी पत्रिका नत्सिओनलनाया ओबोरोनामा रूसी विदेशी गुप्तचर निकायका प्रमुख सेर्गेइ नारिश्किनले एउटा रोचक लेख लेखे । युक्रेन युद्धलाई पृष्ठभूमिमा राखेर हेर्दा सो लेखले एउटा असामान्य सङ्केत दिन्छ ।
रूसी जनताले विदेशी चलखेलहरू बिर्सेका छैनन् र त्यसको लागि माफी पनि दिएका छैनन् – लेखले विदेशी हस्तक्षेपकारीहरूलाई स्पष्ट सङ्केत दिन्छ ।
सेर्गेइ टिप्पणी गर्छन्, “वार्षिकोत्सवको शुभकामना दिइने छैन । किनभने, इतिहासमा उसको भूमिका र मानवताको पक्षमा उभिन कुनै मोलाहिजा गर्न सकिन्न ।”
कुनै ‘गोप्य सङ्केत’ छ कि भनेर पश्चिमाहरूले उनको लेखलाई मसिनो गरी केलाउने निश्चित छ । लेखको सन्देश के हो ? खोजीनीति हुनेछ । सेर्गेइ र राष्ट्रपति पुटिनले ४० वर्षदेखिको घटनाक्रम नबिर्सेको देखिन्छ । सेर्गेइले मस्कोको सबैभन्दा प्रतिष्ठित केजीबीको फेलिक्स जेरजिन्स्की क्याम्पसबाट स्नातक गरेका थिए । पुटिन त्योभन्दा पनि अघिदेखि लेनिनग्राद केजीबीको विदेशी गुप्तचर विभागका कार्यरत थिए । तिनैताका लेनिनग्राद केजीबीको क्षेत्रीय मुख्यालय ‘बिग हाउस’ का गल्लीहरू उनीहरूको चिनजान भयो ।
सेर्गेइ सीआईएबारे लेख्छन्, “शीतयुद्धताकाको थालनीमा संसारभरि सोभियत सङ्घको बलियो भूमिका र उसको अस्तित्वको सामना गर्न, समाजवादी देशको छुट्टै खेमाको गठन र अफ्रिका, एसिया तथा दक्षिण अमेरिकामा राष्ट्रिय मुक्ति आन्दोलनको उदयसँग जुध्न संसारभरि गुप्त गतिविधिहरू सञ्चालन गर्ने नियतसाथ सीआईए स्थापना गरिएको थियो ।”
सीआईएको पहिलो भविष्यवाणी नै गलत भयो । १९४९ सेप्टेम्बर २० मा सोभियत सङ्घले सन् १९५३ बीचतिर सोभियत सङ्घले आफ्नो परमाणु बम परीक्षण गर्नेछ भन्ने उसको पूर्वानुमान थियो । तर, सोभियत सङ्घले त्यो पूर्वानुमान आउनुभन्दा २० दिन अगाडि नै परमाणु हतियारको पहिलो परीक्षण गरिसकेको थियो ।
सीआईएले फेरि एकचोटि लोप्पा खायो । पुटिनले २०१८ मार्चमा रूसी संसद्लाई सम्बोधन गर्दै रूसले नयाँ हाइपरसोनिक मिसाइल प्रणाली विकसित गरेको घोषणा गरे । सो हतियारलाई कसैगरी पनि “निस्तेज पार्न नसकिने” उनले बताए । यो सुनेर अमेरिकी अधिकारी र विश्लेषकहरू फसादमा परे । सोभियत सङ्घको विघटन र यस्तै अन्य घटनालाई गिजोलीगिजोली रूसबारे अफवाह फैलाउने सीआईएको बानी छ ।
तर, सीआईएले सफलता पनि हात पारेको छ । इरानका नेता मोहम्मद मोसादेगले इरानी तेल खानी राष्ट्रियकरण गर्ने निधो गरे । त्यसलगत्तै सन् १९५१ मा इरानका जननिर्वाचित प्रम मोसादेगलाई सत्ताच्युत गर्न सीआईएले सफलता पायो । सन् १९५० को दशकमा सीआईए कठोर अनुशासनयुक्त क्रुर सङ्गठनमा बदलियो । उसले परम्परागत गुप्तचरी गथ्र्यो । साथै उसलाई अमेरिकी दबदबा र उसका आउरेबाउरेहरूलाई खतरामा पार्ने संसारका सबै क्षेत्रका राजनीतिक, आर्थिक, सैन्य घटनाहरू पछ्याउने र दबाउने जिम्मा सुम्पिएको थियो । यो हेरफेरमा एलन डलेसको हात रहेको सेर्गेइ लेख्छन् । डलेसले सीआईएका गतिविधिहरूमा आक्रामकता बढाएका थिए र नैतिकता खस्काएका थिए । डलेस सन् १९४२–४५ मा बर्नमा ओएसएस (सीआईएको पूर्वरूप) का स्टेसन प्रमुख थिए । सोही पदमा छँदा उनले सीआईएको नाक नक्सा फेरेका थिए ।
सेर्गेइले कुनै बेला अमेरिकी राष्ट्रपति लिन्डन जोन्सनले सीआईएको निन्दा गरेको औँल्याउँछन् । सीआईए ‘सत्तापलट, सीधा सैन्य हमला, किसिमकिसिमका भड्काउ गतिविधि, विवादित नेताको हत्या, आतङ्क, तोडफोड, भ्रष्टाचार’ मा मुछिएकोमा जोन्सनको आपत्ति थियो ।
‘विवादित’ ल्याटिन अमेरिकी नेताहरूलाई मार्न सीआईएले क्यान्सर सार्ने विधिको प्रयोग गरेको भयावह घटना हो । अर्जेन्टिनाका करिचनर (थाइरोइड क्यान्सर), पराग्वेका लुगो (लिम्फोमा), ब्राजिलका लुला डा सिल्भा (लेरिन्जियल क्यान्स) र डि डिल्मा रूसेफ (लिम्फोमा) र भेनेजुयलाका ह्युगो चाभेज (श्वासनलीको क्यान्सर) यसका उदाहरणहरू हुन् । सेर्गेइ लेख्छन्, “सन् १९५५ मा सीआईएले चिनियाँ प्रम चाउ एनलाइको हत्या गर्ने प्रयास गरेको थियो ।” चाउ एनलाइलाई अमेरिकाले “संसार कब्जा गर्न उद्यत कट्टरपन्थी” भनेको थियो । तर, उनको हत्या गर्न सीआईए असफल भयो । एसियाली र अफ्रिकी नेताहरूको एउटा सम्मेलनमा सहभागी हुन प्रम चाउ एनलाइ इन्डोनेसिया चढ्ने भनिएको विमानलाई अमेरिकी एजेन्टहरूले बमले उडाइदिएका थिए । तर, चाउ एनलाइ बाँचे । डलेसले चाउ एनलाइलाई विष खुवाएर मार्ने षड्यन्त्र बुने । सीआईएको संलग्नता खुल्छ भन्ने डरले पछि सो षड्यन्त्र बीचमै तुहिएको थियो ।
सन् १९७५ मा अमेरिकाका एउटा संसदीय आयोगले हत्या र सत्तापलटमा सीआईए संलग्न भएको खुलासा ग¥यो र त्यसलाई साबित पनि ग¥यो । सो आयोगले सन् १९६०–६५ बीच सीआईएले क्युवाली क्रान्तिकारी नेता फिडेल क्यास्त्रोलाई एजेन्ट र भाडाका सिपाहीहरू लगाएर आठचोटि हत्या गर्ने प्रयास गरेको कुरा बाहिर ल्याएको थियो । हवानाले हत्या प्रयासको यकिन तथ्यको खुलासा ग¥यो । सन् १९५९ देखि १९९० सम्ममा सीआईएले फिडेललाई ६३४ चोटि हत्या गर्ने प्रयास गरेको थियो । सेर्गेइ लेख्छन्, “हत्या गर्ने उन्माद चढेका सीआईए अधिकारीहरूले कमान्डेन्ट क्यास्त्रोलाई मार्न अनौठा विधिहरू निर्माण गरेका थिए । उनीहरूले आत्मघाती पाइलट, प्याराट्रयुपर एजेन्ट, घुसपैठिया भर्ती, जहाज, डुङ्गा, विष्फोटक कार, टिबी रोगको भाइरस, नक्कली पौडी पोशाक, विषालु सिगार, विषालु औषधिका चक्की र अन्य तरिका प्रयोग गरेर कमान्डेन्टलाई मार्ने प्रयास गरेका थिए ।”
“सीआईएले सोभियत सङ्घलाई आर्थिकरूपमा तहसनहस पार्न सक्ने प्रयासको सबैथोक ग¥यो । सीआईएका निर्देशक डब्ल्यु केसीले साउदी अरबका राजालाई व्यक्तिगत कुराकानीमार्फत तेल उत्पादनमा तीव्रता ल्याउन राजी गराए । यसले गर्दा सोभियत सङ्घको सबैभन्दा महत्वपूर्ण निर्यातको वस्तु तेलको मूल्यमा तीन गुणा गिरावट आयो । सोभियत सङ्घको बजेटमाथि यो एउटा ठूलो प्रहार थियो । यसले सोभियत सङ्घको भावी राजनीतिक घटनाक्रममा ठूलो असर प¥यो ।”
सेर्गेइले सन् १९४८–४९ बीचको युक्रेनी घटनावलीमा पनि टिप्पणी गरेका छन् । त्यसबेला सीआईएले “हिटलरका विशेष निकायहरूको अनुभवलाई सोभियत सङ्घविरुद्ध विनासकारी गतिविधि गर्नमा लगायो । उसले विस्थापित पूर्वी युरोपेली जनता बस्ने शिविरहरू गई भर्ती लियो । त्यो खुफिया टोलीमा युक्रेनका मात्र २ लाख ५० हजार व्यक्तिहरू थिए । युक्रेनी राष्ट्रवादीहरूका सबैजसो नेता र उच्च अधिकारीहरू कुनै न कुनै रूपमा नाजीहरूप्रति बफादार थिए, नाजी सहयोगी थिए । त्यसैले ती सहयोगीहरू पूर्णतः सीआईए र बेलायती गुप्तचर निकायको अधीनमा गए ।”
१९५० नोभेम्बरमा सीआईएको नीति समन्वय कार्यालयका प्रमुख फ्राङ्क विस्नरले आत्मप्रशंसा गर्दै भने, “सोभियत सङ्घसँग युद्ध परिहाले सीआईए १ लाख युक्रेनीहरूलाई परिचालन गर्न समर्थ थियो ।”
१९६० मे १ मा सोभियत सङ्घले युरालमाथि उडिरहेको सीआईएको जासुसी विमान यू २ लाई भुइँमा खसाल्यो । वासिङटनले त्यसबेला रूसले आफ्नो वैज्ञानिक विमान र पाइलट वैज्ञानिकलाई मारेको आरोप लगायो । यसको जवाफमा मस्कोले सारा संसारलाई विमानको अवशेष र जासुसी उपकरणहरू देखाइदियो । मस्कोले “जीवित पाइलट फ्रान्सिस गेरी पावर्सलाई पनि सार्वजनिक गरेपछि सीआईए लज्जित भयो । पावर्सले सोभियत सङ्घको आकाशमा आउनुको प्रयोजन र पठाउनेको नाम खुलस्त बक्यो ।”
सन् १९८३ मा दक्षिण कोरियाली बोइङ सोभियत हवाई क्षेत्रमा प्रवेश गरेपछि रूसले त्यसलाई भुइँमा खसाल्यो । अमेरिकालाई के चाहियो ? तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले ‘कम्युनिस्ट व्यवस्थाविरुद्ध धर्मयुद्ध’ घोषणा गर्न ‘प्रचारबाजी गर्ने निहुँ’ पाए । सम्झौताको नीति एकातिर थन्क्याइयो र हतियारको नयाँ होडबाजी सुरु भयो ।
सेर्गेइको अन्तिम भनाइ सन्तोषप्रद छ । यसमा कुनै पनि बढाइचढाइ छैन । उनी लेख्छन्, “कुनै पनि गुप्त निकाय कति प्रभावकारी रह्यो भनी मूल्याङ्कन गर्न सधैँ तुलनाको सहारा लिनुपर्छ । अमेरिकी गुप्तचर निकाय स्थापनाको ७६ औँ वर्षमा प्रवेश गर्दै छ । उसले सदा आफ्ना शासकहरूले अह्राएको ग¥यो । विश्वमा उल्लेख्य फेरबदल भए पनि ऊ संसारलाई अझै पनि एकध्रुवीय ठान्छ र त्यसमा एकछत्र रजाइँ गर्ने सोचमा छ । यस अर्थमा यो सङ्गठन साँच्चिकै खुफिया छ । ऊ सार्वभौम मुलुकहरूविरुद्ध विनासकारी कारबाही गर्नमा तल्लीन छ ।”
भारतीय शासकहरूको लागि सीआईए अहिले हितचित्त मिल्ने सङ्गठन बन्न पुगेको छ । यिनीहरू अब सीआईएसँग डराउँदैनन् । सीआईएको काँधमा काँध हाल्दा भारतीय कुलीन वर्गले कुनै कलङ्कको टीका लगाउनुपरेको छैन । यिनीहरू ‘सीआईएसँगको डर’ लाई इन्दिरा गान्धीको जमानाका गएगुज्रेको डर मान्छन् । यिनीहरू लेखक र विज्ञ समूहको काम गरेर सफल हुने सपना देख्दै छन् । इतिहासको अन्त्य भएको थिएन र कहिल्यै पनि हुने छैन । सेर्गेइको लेखले यही सन्देश दिन्छ ।
(एमके भद्रकुमार उज्बेकिस्तान र टर्कीका लागि पूर्वभारतीय राजदूत हुन् । स्रोत ः न्यूजक्लीक ।)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published.