भर्खरै :

बरालजी, देशभक्त र देशद्रोहीको परिभाषा के हो ?

२ भदौको ‘अन्नपूर्ण पोष्ट’ मा भारतमा नेपालका पूर्वराजदूत प्रा. लोकराज बरालसँगको’ ‘किन बन्न सकेन भारत नीति ?’ शीर्षकको कुराकानीमा आधारित बरालजीको विचार पढ्ने अवसर मिल्यो । उहाँ राजनीतिशास्त्रका प्राध्यापक र नेपाली कांग्रेसका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विश्वासिला र बरोबर सल्लाह समेत दिने व्यक्तिको रुपमा उहाँलाई नजिकबाट बुझ्ने व्यक्तिहरूले चिनेका छन् । ‘अन्नपूर्ण पोष्ट’ को कुराकानीमा उहाँले २–४ कुरा कोत्याउनुभएको छ –
एक, नेपालका राजनीतिज्ञहरूले भारतप्रति चाहिनेभन्दा बढी शड्ढा गर्छन् र भारतले नेपाललाई आफ्नो स्वार्थसिद्ध गर्न दबाब दिन्छ भन्ने गुनासो गर्छन् ।
दुई, भारतका राजनीतिज्ञ र नीति निर्माताहरूले नेपालीहरूलाई भारतको संवेदनशीलता नबुझेको गुनासो गर्छन् ।
तीन, नेपाल भारतको प्रभाव क्षेत्र भएको हुनाले नेपाललाई अन्य शक्ति राष्ट्रहरूसँग टाढा राख्नु भारतको सुरक्षाको विषय हो ।
चार, भारत ठूलो राज्य हुँदा भारतीय सबै क्षेत्रका ठूलाबडाको एउटै नेपाल नीति हुन्छ ।
पाँच, भारतबारे दीर्घकालीन र व्यवहारिक नेपाल नीति छैन ।
छ, नेपाल–भारत सीमा नियमनबारे काठमाडौंका बुद्धिजीवीहरूमा गलत सोच छ ।
सात, ‘राष्ट्रवादी’ कहलाउनको लागि नेपाली राजनीतिज्ञहरूको भारतविरोधी अडान लिनु गलत छ । आठ, नेपालले आफ्नो क्षमता अभिवृद्धि गर्दैन र भारतले हस्तक्षेप ग¥यो भनी फतुर लगाउँछन् ।
प्रा. लोकराज बरालका आठैवटा बुँदाबारे यसरी छलफल गर्न सकिन्छ –
१) ब्रिटिश इन्डियाको बेला बेलायती रेसिडेन्सी वा राजदूतमार्फत् श्री ३ हरूलाई दबाब दिन्थ्यो, नेपाललाई बेलायतको हितमा विदेश मामिलामा प्रयोग गथ्र्यो । यसकारण संसारका सबै बेलायती उपनिवेशका जनतालाई हरेक मामिलामा बेलायतप्रति शड्ढा गर्नु स्वाभाविक छ । बेलायती साम्राज्यवादीहरूले कर, बल र छल वा मित्र भनेर निर्बलिया र सरल देशहरूलाई आक्रमण, दमन, शोषण र कब्जा गर्थे । यसकारण संसारका सबै देशका साम्राज्यवादी र उपनिवेशवादी नीतिको विरोधमा जनता र सचेत बुद्धिजीवीहरूले विरोध र निन्दा गर्थे । ‘स्वतन्त्र’ भारतले बेलायती औपनिवेशिक अपुतालीलाई चालु राख्यो । सिक्किम, भुटान, नेपाल र तिब्बतलाई पनि आफ्नै मातहतमा राख्न चाह्यो । यसकारण दक्षिण भारतका सबै देशका जनता भारतको बेलायती शैलीको उपनिवेश नीतिको विरोधी छन् । भारतका दुईखाले राजनीतिज्ञ र नीति निर्माताहरू छन् –एउटा, उपनिवेशवादी नीतिविरोधी र दोस्रो भारतको विस्तारवादी र उपनिवेशवादी नीतिका समर्थक ! अब बरालजी कता हुनुहुन्छ ? उत्तर दिनुहोला !
२) बाघले बाख्रा वा शिकारलाई झम्टेर वा लखेटेरै खान्छ । यसको अर्थ के बाख्राले बाघको भोक र संवेदनशीलतालाई नबुझ्ने ‘पाप’ गरेको हो ? बेलायती उपनिवेशवादीहरूले भारतमा २ सय वर्ष राज ग¥यो । त्यसो भए के भारतका स्वतन्त्रताप्रेमी जनताले अर्थात् तिलक, गान्धी, नेहरू, सुभाषचन्द्र बोस, भगतसिंह र अन्य विभिन्न विचारका स्वतन्त्रता संग्रामीहरूले बेलायती साम्राज्यवादी र उपनिवेशवादीहरूका संवेदनशीलता नबुझेकै हुन् ?
३) संरा अमेरिकी राष्ट्रपति मुनरोले ‘अमेरिका अमेरिकीहरूको हो’ भन्ने नीति अगाडि सा¥यो । दक्षिण अमेरिकालाई संरा अमेरिकाले आफ्नो आँगन सम्झ्यो । आजको भाषामा त्यसलाई ‘प्रभाव’ क्षेत्र मान्यो । ब्वाँसोले सबै खोलालाई आफ्नो ‘प्रभाव क्षेत्र’ मानेर त पाठोलाई आफ्नो शिकार बनाउँछ । हिटलरले चेकोस्लोभाकियालाई त्यसै निलेको हो र सिक्किम अर्को उदाहरण बन्यो । भारतको सुरक्षाकै कारण चीनको दोकलाममा भारतले सडक बनाउन दिएन किनभने भुटान दोस्रो सिक्किम बन्नेछ र तेस्रो छाक नेपाल बनाउने भारतको उद्देश्य हो । बलियो देशको सुरक्षा चासोका् अर्थ हो – विस्तारवादी देशको शिकारको सूची उदांगिनु ।
४) बेलायती उपनिवेशवादी बुद्धिजीवी, रणविद्, राजनीतिज्ञहरू वा कर्मचारीतन्त्रको भारतप्रति एउटै नीति हुन्थ्यो –भारतीयहरूले शान्तिपूर्वक बेलायती महारानीको प्रजा होऊन् । संसारका सबै देशका साम्राज्यवादीहरूको एउटै सोच हुनु स्वाभाविक हो । चीनलाई १४ वटा साम्राज्यवादी देशहरूले उपनिवेश बनाएकै थियो र भारतलाई पोर्चुगाल, फ्रान्स र बेलायतले ! दक्षिण एसियाली देशहरूको निम्ति भारत पनि त्यस्तै हो भन्ने भावना त्यस क्षेत्रका सचेत जनताको छ ।
५) प्रा. लोकराज बरालजीसँग एउटा तड्कारो प्रश्न छ – के तपाईं भारतको निम्ति नेपालको राजदूत हुँदा विना नीतिले नै आफ्नो कार्यकाल टुंग्याउनुभयो ? नेपाली कांग्रेस सरकारका प्रधानमन्त्रीको विश्वासिलो र सल्लाहकार हुँदा के तपाईंले नेपालको भारत नीति बनाउन सहयोग गर्नुभएन ? वा त्यसबेला त्यसबारे तपाईंमा कुनै सोच थिएन ? सबै देशका सबै सरकारको एउटै नीति भन्ने धारणा पनि गलत हो । जारको पालामा रुसले चीनदेखि इरानसम्मका छिमेकीलाई सताउने नीति लिएको थियो । १९१७ को अक्टुबर क्रान्तिपछि लेनिनको सरकारले सबै छिमेकीसँग समान व्यवहार ग¥यो र पुराना असमान सन्धीहरू खारेज गर्यो ।
६) प्रा. बरालको दृष्टिमा सीमाको नियमन काठमाडौंको बुद्धिजीवीहरूको भारतप्रतिको द्वेष सम्झन्न् । सत्य यही हो भने कुनै पनि देशको सीमा हुँदैनथ्यो र सार्वभौमिकताको सिद्धान्त नै बद्लिने थियो । खुल्ला सीमाले तराईका नेपाली जनतालाई कति दुःख छ – काठमाडौंका बरालजस्ता बुद्धिजीवीलाई के थाहा ! भन्ने चलन छ – जुत्ताले कहाँ पोल्यो जुत्ता लगाउनेलाई मात्र थाहा हुन्छ ! कतिबेला कसको घरमा सीमा पारीबाट आएर डकैती र हत्या गर्ने हो, केही भन्न सकिन्न ! साँच्चै सीमा खुल्लै राख्नुपर्ने भए बरालजीले मिस्टर ट्रम्पलाई मेक्सिकोको सीमामा पर्खाल लगाउने विचारलाई मुर्खता सम्झनु भएको होला होइन ?
७) ‘राष्ट्रवाद’ र ‘राष्ट्रवादी’ ले आफूलाई ‘अन्धराष्ट्रवाद’ र ‘‘संकीर्ण राष्ट्रवाद’ मा धकेल्छ, साथै मोदीजस्तै ‘बडा राष्ट्र अहंकारवाद’ र ‘कट्टर हिन्दु राष्ट्रवाद’ मा पु¥याउँछ । संसारमा पुनः मुसोलिनी, हिटलर र तोजोको जन्म हुन्छ । संसारमा देशभक्त हुनु जनताको र देशको सेवक हुनु हो । देशद्रोही र जनद्रोही दुवै अति नकारात्मक दृष्टिकोण हो । भारतीय विस्तारवादको विरोधको अर्थ भारतीय जनता र भारतको विरोध होइन । मुसोलिनी, हिटलर र तोजोलाई तिनीहरूकै देशवासीले निन्दा गर्थे । अब कुन बाटो रोज्ने हो – बरालजीको पालो हो ।
८) बेलायती उपनिवेशवादीहरूले भारतीय जनतालाई पनि भारतको ‘क्षमता अभिवृद्धि’ गराउन भारतलाई उपनिवेश बनाएका थिए । तर भारतीय जनताले त्यस सोचलाई बेलायती उपनिवेशवादी सोच भनी निन्दा र विरोध गर्थे । अब जवाफ दिने पालो पनि बरालजीकै हो । के तपाईंको राजनीतिशास्त्र र इतिहासमा साम्राज्यवाद र उपनिवेशवादको पूजा हुन्छ ? बरालजीबाट उत्तरको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *