भर्खरै :

दैलेखका जनप्रतिनिधि भक्तपुर अवलोकन भ्रमणमा

दैलेखका जनप्रतिनिधि भक्तपुर अवलोकन भ्रमणमा

भक्तपुर, ७ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दैलेख जिल्लाको नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा र दुल्लु नपाका प्रमुख भरतप्रसाद रिजाल नेतृत्वको जनप्रतिनिधि टोलीलाई शुक्रबार स्वागत गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले सबै नगरपालिकाहरूको आ–आफ्नै विशेषताहरू भएको बताउँदै कुनै नगरपालिका जलस्रोत, कुनै नपा वनजङ्गल र कुनै सांस्कृतिक सम्पदाहरूमा धनी हुने हुँदा आ–आफ्नो स्रोत र साधनको अधिकत्तम प्रयोग गरी आफ्नो ठाउँको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपा भौगोलिक र जनसङ्ख्याको आधारमा सानो भए पनि भक्तपुरको विकास र जनताको सेवा गर्ने काममा अग्रस्थानमा रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपा सम्पदा संरक्षणमा तदारुकता, मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहन अनुदानको व्यवस्था, विकास निर्माणमा जनसहभागितालगायतका कार्यहरू गर्दै नपाले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोमा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाले विगत ४ वर्षदेखि कुहिने र नकुहिने फोहर नगरवासीहरूको घरबाटै अलग–अलग दिन सङ्कलन गर्दै आएको बताउँदै कुहिने फोहरबाट कम्पोष्ट मल निर्माण गरी किसानहरूलाई सस्तोमा बिक्री गर्दै आएको र पुनःप्रयोग गर्न सकिने फोहर बिक्री गरी त्यसबाट केही पैसा आर्जन गर्दै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
उहाँले जनतालाई दण्ड जरिवानाभन्दा सचेतनालाई नै नगरपालिकाले जोड दिँदै आएको बताउनुभयो ।
सोही क्रममा नारायण नपाका प्रमुख लोमन शर्माले दैलेख भौगोलिकरूपमा विकट रहे तापनि पर्यटकीय विकासमा उच्च सम्भावना भएको ठाउँ भएको बताउँदै प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण दैलेख जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा धनी रहेको बताउनुभयो ।
उहाँले भक्तपुर र दैलेखबीचको सम्बन्ध निकै पुरानो रहेको र दुई जिल्लाबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपाले देशकै लागि नमुना कामहरू गरिरहेकोबारे आफूहरू अवगत रहेको बताउँदै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ व्यवस्थापनलगायतको विषयमा गरिरहेको कामबाट सिक्न चाहेको स्पष्ट पार्नुभयो ।
दुल्लु नपाका प्रमुख भरतप्रसाद रिजालले भक्तपुर नपासँग असल अभ्यास आदानप्रदान गर्ने क्रममा भक्तपुर भ्रमणमा आएको बताउँदै दैलेखका ऐतिहासिक सम्पदाहरू पुनःनिर्माणमा भक्तपुरकै कालीगढहरूको सहयोग प्राप्त भएको र स्रोतसाधनसमेत भक्तपुरबाटै ल्याउने गरिएको बताउनुभयो ।
भेटमा नारायण नपाका उपप्रमुख तप्ता थापा, दुल्लु नपाका उपप्रमुख वीणा कार्की, चामुन्डा नपाका उपप्रमुख मनसरा कुमारी सावत, भैरवी गापाका उपाध्यक्ष देवी भण्डारी, चाविनपाका वडाध्यक्ष रत्नबहादुर शाही, सचिवालय सदस्य चिरण्जीवीप्रसाद उपाध्याय, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामोदर सुवाल, श्यानिटेसन शाखाप्रमुख दिलिपकुमार सुवाललगायतको उपस्थिति थियो ।
नगर प्रमुख प्रजापतिले दैलेखका जनप्रतिनिधिहरूलाई भक्तपुर नगरपालिकाका प्रकाशनहरू उपहारको रूपमा प्रदान गर्नुभयो । भेटपश्चात् उहाँहरूले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजको अवलोकन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *