काठमाडौँ, ६ भदौ । शिक्षा मन्त्रालयले विविध कार्यक्रम गरी आजदेखि सप्ताहव्यापी रुपमा १०औँ पुस्तकालय दिवस मनाउन थालेको छ ।
आज मन्त्रालयमा दिवस मूल समारोह समितिले आयोजना गरेको पत्रकारसम्मेलनमा समितिका उपाध्यक्ष तथा योजना महाशाखा प्रमुख वैकुण्ठप्रसाद अर्यालले भदौ १५ गतेको मनाइने पुस्तकालय दिवस आजबाट विविध कार्यक्रय गरी मनाउन थालिएको बताउनुभयो ।
उहाँले नेपालमा पुस्तकालयको विकास र विस्तार गर्ने उद्देश्यले मनाउन थालिएको दिवसले पठन संस्कृतिको विकासमा सहयोग पु¥याउने दाबी गर्नुभयो । ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमुना पुस्तकालय’ भन्ने नाराका साथ मनाउन थालिएको दिवस समितिले ७५ जिल्ला शिक्षा कार्यालयले पनि कार्यक्रम गरी मनाउँदैछन् ।
समितिले सरसफाइ, परिसंवाद, पुस्तक दान, वृक्षारोपण, पुस्तकालयसम्बन्धी जनचेतना जगाउने जस्ता कार्यक्रम गर्नेछ । नेपालमा अहिले करिब एक हजार पुस्तकालय सञ्चालन गरेको तथ्याङ्क र तीमध्ये ३५० विद्यालय अनुदान मन्त्रालयको अनुदानमा सञ्चालित रहेका छन् ।
सहसचिवसमेत रहनुभएका अर्यालले भूकम्पपछिको क्षति पुगेका पुस्तकालयको पुनःनिर्माण भइरहेको बताउनुभयो । उहाँले यस वर्षदेखि नेपाल राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय र डिल्लीरमण कल्याणी पुस्तकालयको पुनः निर्माण हुने बताउनुभयो ।
मन्त्रालयको सचिव शान्तबहादुर श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सहसचिव अर्याल र सदस्य–सचिवमा पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौला रहनुभएको छ । दिवसलाई सफल पार्नका लागि विभिन्न पाँच उपसमितिसमेत गठन गरिएको मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो । नेपालमा २०६५ सालदेखि पुस्तकालय दिवस मनाउन थालिएको हो । रासस
Leave a Reply