भर्खरै :

भेनेजुयलामाथि अमेरिकी धम्कीको विरोध

स्वीडेनमा सक्रिय २८ वटा ल्याटिन अमेरिकी सामाजिक संस्थाहरूले भेनेजुयलामाथि कुनै पनि खाले सैनिक हमलाको विरोध गरेको छ । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामाथि सैनिक हमला गर्ने धम्की दिएसँगै उनीहरूले विरोधमा बोलेका हुन् ।
२८ संगठनको संयुक्त वक्तव्यमा ‘भेनेजुयलाविरुद्ध कुनै पनि सैनिक हमला तथा हस्तक्षेपको प्रष्ट विरोध’ गरिएको छ । उनीहरूले ट्रम्पको अभिव्यक्तिलाई भेनेजुयलाको संवैधानिक बन्दोबस्त भत्काउने नियतबाट आएको आरोप लगाएका छन् ।
‘एक्काइसौं शताब्दीमा एउटा महाशक्तिले अर्को एउटा सार्वभौम देशमाथि सैनिक रूपमा हमला गर्न अधिकारसम्पन्न गर्नु अस्वीकार्य छ । त्यसले मानव जाति उपनिवेशवादको कालो युगमा फर्केको संकेत गरेको छ ।’, वक्तव्यमा भनेको छ ।
ल्याटिन अमेरिका ऐक्यबद्धता सञ्जाल, स्वीडिस–इक्वेडर मैत्री संगठन, एल सालभाडोर ऐक्यबद्धता संगठन स्टकहोम, ल्याटिन अमेरिका ऐक्यबद्धता संगठन, रेडियो बाहिया, सेन्ट्रो कल्चर पेरुनो, नेशनल फेडेरेशन(भिक्टर जारा), बोलिभिया–स्वीडेन फोरम र गुयसियम एसोसियसन लगायतका संगठनहरूले सो वक्तव्यमा हस्ताक्षर गरेका छन् ।
वक्तव्यमा सामाजिक संगठनहरूले ल्याटिन अमेरिकाका नक्कली सरकारहरूको आलोचना गरेका छन् जसले भेनेजुयलालाई प्रजातन्त्रको पाठ सिकाउन खोजिरहेका छन् जसले आफ्नै देशभित्र भने नागरिकका आधारभूत अधिकारको हनन गरिरहेका छन् ।
उनीहरूले भेनेजुयलामा हाल चालु अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन् । ‘हामी संसारका प्रगतिशील मानिसलाई संरा अमेरिकाले सैनिक हमलाको धम्की दिएको संवेदनशील अवस्थाबारे ध्यान दिन आग्रह गरेका छन् । यसले ल्याटिन अमेरिकी देश भेनेजुयलाको सार्वभौमिकतामाथि खत्तम गर्नुका साथै ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा अस्थीरता निम्त्याउनेछ ।’, वक्तव्यमा भनिएको छ ।
‘अन्तमा हामी भेनेजुयलाले आज सामना गरिरहेको अनेकन चुनौतिको समाधान समाजका विभिन्न क्षेत्रबीचको संवादमार्फत हुनेमा आशा व्यक्त गर्दछौं । यसले नै भेनेजुयाली जनताको शान्ति र कल्याण हुनेछ ।’, त्यसमा भनिएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *