भर्खरै :

भक्तपुर नगरको विकासमा सांस्कृतिक गुरुहरूको योगदान अतुलनीय : नगर प्रमुख प्रजापति

‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने मूल नारालाई सार्थक पार्न भक्तपुर नगरपालिका निरन्तर अगाडि बढ्दै छ ।
पर्यटकीय गन्तव्यस्थल र सांस्कृतिक नगरको रूपमा विकास भइरहेको भक्तपुरलाई कतिपय विद्वानहरूले जीवित सङ्ग्रहालयको रूपमा परिभाषित गर्नुभएको छ । हाम्रा पुर्खाहरूले सयौँ वर्ष पहिले निर्माण गरी छाडेर जानुभएका कला—संस्कृति र सम्पदाहरूलाई हामी व्यवस्थितरूपमा संरक्षण र संवद्र्धन गर्दै छौँ ।
प्राकृतिकरूपमा आइपर्ने विपत्तिहरूको कारण भक्तपुरको विकासमा पटकपटक बाधा र व्यवधानहरू खडा भए । २०७२ सालको भूकम्पले भक्तपुर नगरका १२५ भन्दा बढी सम्पदाहरूमा आंशिक र पूर्ण क्षति भयो । विदेशी सहयोगविना हामीले पुनःनिर्माण र जीर्णोद्धारको कोसिस ग¥यौँ । जनताको साथ र सहयोगमा पहिलो कार्यकालमा १२४ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भए । मौलिक प्रविधि, स्रोत र साधनको अधिकत्तम प्रयोग गरी कला–संस्कृति संरक्षणमा निरन्तर साथ दिने भक्तपुरवासी जनता धन्यवादका पात्र हुनुहुन्छ ।
सरसफाइ, कला संस्कृतिको संरक्षण, शिक्षा र स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यकता पूर्तिको काममा भक्तपुर नगरपालिका जिम्मेवारीपूर्वक लाग्दै छ । पारदर्शी र आर्थिक अनुशासनलाई ध्यानमा राख्दै भक्तपुर नगरलाई भ्रष्टाचारमुक्त नगरको रूपमा विकास गर्दै छौँ ।
भक्तपुरलाई आजको स्थितिमा पु¥याउन सांस्कृतिक गुरुहरूको पनि उत्तिकै योगदान छ । उहाँहरूले निःस्वार्थरूपमा संस्कृति संरक्षण गर्न अमूल्य योगदान गर्नुभएको छ । उहाँहरू साँचो अर्थमा विश्वविद्यालयका औपचारिक प्रमाणपत्रविनाका सांस्कृतिक प्राध्यापकसरह हुनुहुन्छ । उहाँहरूको सम्मान गर्न पाउनु हामी सबैको लागि खुुसी र गर्वको कुरा हो । यस्ता कार्यक्रमहरू हामी निरन्तर गरिरहने छौँ ।
समयसँगै नयाँ पुस्ता आधुनिकतातर्पm बढी आकर्षित हुँदै छ । आप्mनो मौलिक भाषा, संस्कृतिबारे नयाँ पुस्तामा चासो कम हुँदै गएको छ । दैनिक जीवन र व्यवहारमा हामीले प्रयोग गरेनौँ भने हाम्रा भाषा र संस्कृति बिस्तारै लोप भएर जानेछ । भाषा र संस्कृति समाप्त हुनु भनेको पहिचान गुम्नु हो र इतिहास समाप्त हुनु हो । भनपाले स्थानीय पाठ्यक्रममार्पmत नयाँ पुस्तालाई मौलिक भाषा, संस्कृति र सम्पदा संरक्षणको महत्वबारे प्रशिक्षित गर्दै आएको छ ।
स–साना भाइबहिनीहरूबीच योमरी बनाउने प्रतियोगिता, जुजुधौ बनाउने प्रतियोगिता र विभिन्न सांस्कृतिक बाजागाजा प्रतियोगिता, परम्परागत खेलकुद प्रतियोगिताहरू सुरु हुनु स्थानीय पाठ्यक्रमकै परिणाम हो । यसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाउने कोसिस गर्दै छौँ ।
भूकम्पबाट क्षतिग्रस्त केही सम्पदा पुनःनिर्माण र विकास निर्माणका कार्यहरू हामीले चाहेर पनि विभिन्न प्राविधिक कारणले अगाडि बढाउन सकेनौँ । दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय रहेको भवन पुनःनिर्माणबारे भक्तपुर नगरपालिका, पुरातत्व विभाग र संस्कृति मन्त्रालयबीच मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने भनी निर्णय भयो । तर, युनेस्कोले अनुमति नदिएको कारण त्यो कार्य अगाडि बढ्न सकेन । अरनिको सभाभवन, ख्वप विश्वविद्यालयजस्ता महत्वपूर्ण विषयहरू सङ्घ र प्रदेश सरकारको सहयोग नभएकै कारण हामीले अहिलेसम्म पूरा गर्न सकेनौँ । संविधान र कानुनले स्थानीय तहलाई दिएको अधिकारको अधिकतम सदुपयोग गरी हामी जनताको सेवामा समर्पित भएर लाग्दै छौँ ।
देशका विभिन्न क्षेत्रका सम्पदाहरू पुनःनिर्माणमा पनि भक्तपुरकै कालिगढहरूको खोजी हुने क्रम सुरु भएको छ । हाम्रा अग्रजहरूले सुरु गर्नुभएको कार्यलाई निरन्तरता दिँदै यहाँका जनतालाई रोजगारीको निम्ति विभिन्न सीपमूलक तालिमहरू पनि दिँदै छौँ । हाम्रा सीप र प्रविधि भक्तपुरमा मात्रै सीमित नराखी देशभर पैmलाउने अवसर पनि हामीलाई प्राप्त भएको छ ।
भक्तपुरमा देशका विभिन्न नगरका प्रमुख, उपप्रमुखहरूलगायत धेरै जनप्रतिनिधिहरू भ्रमणको लागि आउनुहुन्छ । उहाँहरू यहाँका जनताको कामको मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ । अहिले भक्तपुरका जनता गौरवशाली नगरको नागरिक बन्न पाएका छन् । भक्तपुरलाई यो स्थितिसम्म ल्याइपु¥याउन अग्रज जनप्रतिनिधिहरू र थुप्रै महत्वपूर्ण व्यक्तित्वहरूको योगदान छ । उहाँहरूको योगदानको उच्च सम्मान गर्दै भक्तपुरलाई देशको नमुना नगरको रूपमा अगाडि बढाउन हामी निरन्तर लागिरहनेछौँ ।
अन्त्यमा, नेपाल मजदुर किसान पार्टीद्वारा निर्वाचनको बेला जारी गरिएको घोषणापत्रको आधारमा हामीले काम गर्दै छौँ । हामी शिक्षा, स्वास्थ्य, कला—संस्कृति र सम्पदा संरक्षणको माध्यमबाट कामदार वर्गको उत्थानको निम्ति निरन्तर काम गर्दै छौँ र गरिरहने छौँ ।
यहाँहरूको योगदान अझै आवश्यक छ । निरन्तर देश र जनताको सेवामा काम गर्ने भावना कायम राख्दै सबै मिलेर अगाडि बढौँ ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा विश्व पर्यटन दिवसको अवसरमा सोज ११ गते, मङ्गलबार आयोजित गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, परम्परागत तथा आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूह र कलाकारहरूलाई पुरस्कार वितरण एवम् सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *