भर्खरै :

समाजवादी विचारधाराबाट निर्देशित समाज नै समाजवाद

शोषण र दमनबाट मुक्त भएर समानरूपले जीवन यापनको चाहना गर्ने व्यापक जनताको इच्छालाई कार्यान्वयन गर्ने समाज नै समाजवाद हो । समाजवादी समाजमा मात्रै बहुमत जनताको साँचो सुखी जीवन हुन्छ । समाजवाद जनताको इच्छा र आकाङ्क्षा हो । त्यही समाजवाद ल्याउन नै देशमा कम्युनिस्ट पार्टीहरू खोलेको हुन्छ । त्यसकारण, कम्युनिस्ट पार्टीहरू बहुमत जनताको सेवा गर्न सङ्घर्ष गर्छन्, गरिरहेका हुन्छन् । समाजवाद स्थापनाको निम्ति नलाग्ने, समाजवादको विरोध गर्ने या समाजवादी व्यवस्था ल्याउन सङ्घर्ष गर्न नहुने मान्यता राख्ने कुनै पनि दल कम्युनिस्ट हुनसक्दैन ।
समाजवादी शिक्षा लिनु भनेको कुनै देशको नीति, निर्णय र विचार अन्धानुकरण गर्नु होइन । हरेक देशले आफ्नो आवश्यकता र जनताको चाहनाअनुसार लागु गर्छ । समाजवाद कुनै शासक या देशको बन्धन या अधीनलाई स्वीकार्नु होइन । स्वाधीन र सावभौम देशको निम्ति नलड्ने अरु देशले आफ्नो देशमा अतिक्रमण, आक्रमण गरे पनि नबोल्ने दल कम्युनिस्ट हुनसक्दैन । समाजवादी आन्दोलनबाट देशमा भइरहेको दमन, बन्धन र समस्याबाटै मुक्त गर्न खोजिएको हुन्छ । केही देशहरूमा समाजवादको अस्थायी हार हुनु समाजवाद असफल हुनु होइन । त्यो त समाजवादलाई विकृत पार्ने संशोधनवाद र अवसरवाद सामाजिक प्रजातन्त्रको टाटपल्टाइमात्र हो ।
समाजवादी विचारधाराबाट निर्देशित समाज नै समाजवाद हो । समाजवाद ल्याउन व्यापक जनतालाई समाजवादी विचारधाराबाट सुुसूचित बनाउनुपर्छ । समाजवादी विचारधाराबिना समाजवादको निर्माण र विकासको सम्भव छैन । यसकारण, कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ पु¥याउनुपर्ने हो, जनतालाई सुसूचित पार्ने हो । नेपालका कति कम्युनिस्टहरू पार्टीको सिद्धान्त र विचारको ख्यालै गर्दैनन्, आफ्ना कार्यकर्ताहरूलाई सिद्धान्तबारे बताउँदैनन् । अझ कम्युनिस्टको सिद्धान्त र विचारबाट सुसूचित होला भनेर डराउँछन् । कम्युनिस्टको विचारदेखि डराउने दलका नेताहरू पनि कसरी कम्युनिस्ट हुन्छन् ?
हरेक कम्युनिस्ट पार्टीले सिद्धान्त र विचारलाई जोड दिएको हुन्छ । सिद्धान्त र विचारको ख्याल नगर्ने, लागु गर्न अघि नबढ्ने दल कसरी कम्युनिस्ट हुन्छ ? आफूलाई कम्युनिस्ट भनिने केही दलहरू पुँजीवादी बन्दोबस्तको सरकारमा जानुलाई नै कम्युनिस्ट शासन ठान्छन् । समाजवादी विचारधारालाई बेवास्ता गर्ने भनेको समाजवादविरोधी विचार हो । समाजवादी विचारधाराबाटै समाजवादी व्यवस्थाको जन्म हुन्छ, विकास हुन्छ । समाजवादी विचारधारा समाजवादी समाजको आडभरोसा हो । समाजवादी विचार नलिने, समाजवादी विचारको प्रचार नगर्ने भनेको समाजवादलाई पछि धकेल्ने बाटो हो । त्यो बाटो पुँजीवादको पक्ष लिनु हो, पुँजीवादी बाटो अपनाउनु हो, पुँजीवादको संरक्षण गर्नु हो । यस्तै अवसरवाद, संशोधनवाद र कम्युनिस्टको नाउँमा पुँजीवादी बाटो लिने नक्कली कम्युनिस्टले गर्दा नै नेपालमा कम्युनिस्ट आन्दोलन पछि परेको हो । नेपालका सबै कम्युनिस्ट पार्टीहरू साँच्चिकै कम्युनिस्टहरूको सिद्धान्त र विचारअनुसार अघि बढेका भए, व्यवहारमा लागु भएको भए जनता सुसूचित हुन्थे, कम्युनिस्ट आन्दोलन अघि बढ्थे र समाजवाद स्थापना गर्न सहयोग पुग्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *