भर्खरै :

क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध–३

सन् १९६५ मा कङ्गो–ब्राज्जभिल्लेमा एक दस्ता क्युवाली लडाकूहरू पठाइयो । त्यो दस्ताको नेतृत्व जोर्ज रिस्कुटले गरेका थिए भने रोलान्डो किन्डेलन सैनिक कमान्डर थिए । कङ्गोको मोबुटु सेसे सेकोको साम्राज्यवादपक्षधर शासनको धम्की झेल्दै आएको कङ्गो ब्राज्जभिल्ले सरकारलाई क्युवाको त्यो दस्ताले मद्दत ग¥यो । क्युवाली दस्ताले त्यहाँ गुरिल्ला लडाकूहरूलाई तालिम पनि दियो । समयान्तरमा त्यही तालिम लिएका लडाकूहरू अङ्गोला मुक्ति सशस्त्र जनसेना (एमपीएलए) बन्यो ।
एउटा तालिम केन्द्र कङ्गो–ब्राज्जभिल्लेमा थियो । राफेल मोरासेनले क्युवाली प्रशिक्षकहरूको नेतृत्व गरेका थिए । एमपीएलएलाई बलियो बनाउन उनीहरूले दुई एकाइ अङ्गोलियालीहरूलाई तालिम दिएका थिए ।
क्युवाली क्रान्तिकारी क्यामिलो सियनफ्युगोसको नाम दिइएको पहिलो दस्ता उत्तरी अङ्गोलामा एमपीएलएका लडाकूको निम्ति ठूलो मद्दत सिद्ध भयो । दोस्रो दस्ता भने पक्राउ गरियो र त्यसका अधिकांश लडाकूलाई अङ्गोला राष्ट्रिय मुक्ति मोर्चा–एफएनएलएले हत्या ग¥यो । एफएनएलए साम्राज्यवादको साथ प्राप्त अङ्गोलियाली सङ्गठन थियो । हत्या गरिएका एमपीएलएका लडाकूमध्ये डियोलिन्डा रोड्रिग्युज पनि थिइन् । उनी अङ्गोला महिला सङ्गठनकी संस्थापक नेता थिइन् ।

रोगर कलेरो : कङ्गोमा चे ग्वेभाराको दस्ताले भोगेको अनुभवलाई तपाईँले कसरी सम्झनुहुन्छ ?
भिल्लेगस : कङ्गो हामी सबैको लागि निकै ठूलो अनुभव थियो । हामी सन् १९६५ को अप्रिलमा लडाइँ लड्न होइन, कङ्गोको पूर्वी भागमा मुक्त क्षेत्रमा कङ्गोली लडाकूहरूलाई प्रशिक्षण र तालिम दिन गएका थियौँ । त्यहाँ कङ्गोली लडाकूहरूसँग मिलेर लड्ने क्रममा धेरैपटक एम्बुसमा परियो । धेरै महत्वपूर्ण लडाइँ पनि लडियो ।
तथापि, त्यो ज्यादै जटिल परिस्थिति थियो । कङ्गोको लडाकू दस्तामा कङ्गोका नेताहरू कोही थिएनन् । उनीहरू अर्कै देशमा थिए । अन्त्यमा उनीहरूले सशस्त्र सङ्घर्ष रोक्ने निर्णय गरे । हामी सन् १९६५ को नोभेम्बरमा घर फर्कियौँ ।

वाटर्स : चेले आफ्नो पुस्तक ‘क्रान्तिकारी युद्धका शृङ्खलाः कङ्गो’ (अर्नेस्टो चे ग्वेभारा, द अफ्रिकन ड्रिमः द डायरिज अफ द रिभोल्युसनरी वार इन द कङ्गो) मा उहाँले कङ्गो हिँड्नुअघि उहाँ र क्युवाली नेताहरूलाई कङ्गोको आर्थिक र सामाजिक अवस्थाबारे कम मात्र जानकारी भएको लेख्नुभएको छ । उदाहरणको लागि उहाँलाई मध्य अफ्रिकाको अधिकांश भुभागमा भूमि निजी सम्पत्ति भएको कुरा पनि थाहा नभएको लेख्नुभएको छ । क्युवा र ल्याटिन अमेरिकाभन्दा पृथक अफ्रिकामा जमिन जोत्न चाहिने जमिनको लागि किसानले गर्ने सङ्घर्ष नै त्यहाँको वर्ग सङ्घर्षको निर्णायक शक्ति थिएन ।
भिल्लेगस : हो, चेले आफ्नो डायरीमा लेख्नुभएजस्तै कङ्गोमा जमिनमाथि स्वामित्वको अवधारणा थिएन । क्युवा र ल्याटिन अमेरिकाका कुनै पनि देशभन्दा फरक थियो त्यहाँको उत्पादन सम्बन्ध र परिवारहरूबीचको सम्बन्ध भिन्न थियो । वन्य जाति र चालचलन अझै चल्तीमा थियो । जनसङ्ख्याको ठूलो हिस्साले आफ्नै वन्य जातिको लागि मात्र सोच्थ्यो । राष्ट्र निर्माणमा भन्दा उपनिवेशवादले कोरेको विभाजनमै उनीहरू केन्द्रित थिए । यी सबै कुरालाई वस्तुगतरूपमा नियाल्न जरुरी थियो । संसारभर र इतिहासका सबै घुम्तीको लागि एउटै मात्र पटकथा हुन सक्दैन ।
चे ग्वेभारा साम्राज्यवादविरुद्ध क्रान्तिकारी सङ्घर्ष अघि बढाउन अफ्रिकाको त्यो भागमा अझै पनि आर्थिक, सामाजिक र राजनीतिक परिस्थिति तयार नभएको र अझै बीस वर्षमा पनि तयार नहुने निष्कर्षमा पुग्नुभयो ।
वास्तवमा एमपीएलएलाई मद्दत गर्न चे ग्वेभाराले वचन दिनुभएको दुई दसकभन्दा केही कम समयमा एउटा ऐतिहासिक विजय हासिल भयो । सन् १९८८ मा कुइटो क्वानाभालेमा आक्रामक दक्षिण अफ्रिकी सेना पराजित भयो । अङ्गोला स्वाधीन भयो । सन् १९७५ मा अङ्गोलाका नेता नेटोको अनुरोध मानेर त्यहाँ क्युवाली लडाकू पठाउने निर्णय गर्दा हामीले एमपीएलएसँग दस वर्ष काम गरिसकेका थियौँ । अङ्गोलाको स्वाधीनता सङ्घर्षमा मद्दत गर्न हामी अङ्गोला पुगिसकेका थियौँ ।

मार्टिन कोपेल : कङ्गो र कङ्गो ब्राज्जभिल्लेमा क्युवाली मिसन गए पश्चात सन् १९६६ मा क्युवाली अन्तर्राष्ट्रवादीहरू गिनी बिसाउका लडाकूहरूलाई पोर्चुगाली उपनिवेशवादबाट आफ्नो देश स्वाधीन बनाउने सङ्घर्षमा साथ दिन गएका थिए ।
भिल्लेगस : हो, गिनी बिसाउ सन् १९७४ मा स्वाधीन नहुञ्जेल क्युवाले प्रशिक्षक र लडाकू पठाएर मद्दत गरेको थियो । यो ज्यादै महत्वपूर्ण सहयोग थियो । म आफै गिनी बिसाउमा नगएको हुनाले म तपाईँलाई यसबारे विस्तृतरूपमा भन्न नसकूँला । भिक्टर डे«के त्यहाँ गएको क्युवाली मिसनका प्रमुख थिए । उनले आफ्नो पुस्तक ‘इस्काम्ब्रेदेखि कङ्गोसम्मः क्युवाली क्रान्तिकारीको भुमरीमा’ मा त्यहाँको कुरा लेखेका छन् ।
गिनी बिसाउको मुक्ति आन्दोलनको नेतृत्वप्रति फिडेल र चे ग्वेभाराको उच्च धारणा थियो । त्यहाँका क्रान्तिकारी नेता अमिलकर कब्रलको विलक्षण क्षमताको कदर गर्नुहुन्थ्यो । कब्रलले नेतृत्व गरेको पार्टीको नाम गिनी तथा केप भेर्दाको स्वाधीनताको लागि अफ्रिकी पार्टी–पीएआइजीसी प्रस्ट र अनुशासित आन्दोलन थियो । छिमेकको गिनी कोनाक्रीका राष्ट्रपति अहमेद सेको टोरोको बलियो सहयोगबाट पनि उनीहरू लाभान्वित थिए । त्यही समर्थनको उपयोग गर्दै पीएआइजीसीले गिनी कोनाक्रीमा आफ्ना आधार क्षेत्र बनाएको थियो ।

पोर्चुगली साम्राज्यको पतन र दक्षिण अफ्रिकाको पहिलो हमलाको पराजय (सन् १९७५–७६)
वाटर्स : गिनी बिसाउ र केप भेर्दामा फैलिँदो स्वाधीनता सङ्घर्ष र सन् १९७४ मा पोर्चुगलमा पतनोन्मुख फासीवादी तानाशाहको अन्त्यबीच कस्तो सम्बन्ध थियो ? गिनी बिसाउमा प्राप्त सफलताले पोर्चुगलका अन्य प्रमुख अफ्रिकी उपनिवेशहरू मोजाम्बिक र अङ्गोलाका मुक्ति सङ्घर्षमा कसरी प्रभाव पा¥यो ?
भिल्लेगस : गिनी बिसाउको लडाइँँ उपनिवेशवादविरोधी सङ्घर्षमा निर्णायक बिन्दु थियो ।
गिनी बिसाउका जनताले पोर्चुगल सरकारलाई पराजित गरे । पोर्चुगलको तथाकथित अवतार क्रान्ति (कारर्नेसन रिभोल्युसन) को निम्ति त्यो पराजय अफाप सावित भयो । गिनी बिसाउमा पोर्चुगलमा मर्ने र घाइते हुनेको सङ्ख्या बढ्दो थियो । द्वन्द्वमा पोर्चुगलमा बेहोर्नुपरेको नैतिक र आर्थिक मूल्यले त्यहाँको सेनाको उच्च नेतृत्वलाई आफूले लडाइँ जित्न नसक्ने लागिसकेको थियो । यो समस्या समाधानको निम्ति उनीहरूले सबभन्दा पहिले बाटोको मुख्य अवरोध पन्छाउनुपथ्र्यो । त्यो अवरोध भनेको पचास वर्ष पुरानो फासीवादी तानाशाही व्यवस्था थियो । फलतः सैनिक विद्रोहबाट मार्सिलो कैतानोको तानाशाही शासन फालियो । त्यसले पोर्चुगलमा जनआन्दोलनको आँधी उठाउन मार्गप्रशस्त ग¥यो ।
पोर्चुगलको नयाँ सरकारले अफ्रिकाका सबै पोर्चुगली उपनिवेशहरू– गिनी बिसाउ, केप भेर्दा, साओ टोमे र प्रिन्सिप, मोजाम्बिक र अङ्गोलालाई मुक्त ग¥यो । ती देशहरू पाँच सय वर्षदेखि पोर्चुगलका उपनिवेश थिए । पोर्चुगल सरकारले ती देशका सबभन्दा बलियो सङ्गठनलाई सत्ता हस्तान्तरण गर्ने सहमतिमा हस्ताक्षर ग¥यो । गिनी बिसाउमा पीएआईजीसीलाई सत्ता हस्तान्तरण गरियो । मोजाम्बिकमा मोजाम्बिक मुक्ति मोर्चा (फ्रिलिमो) लाई सत्ता सुम्पियो ।
तर, अङ्गोलामा तीन वटा सङ्गठनले सत्ताको दाबी गरेका थिए । अगस्टिनो नेटोले नेतृत्व गरेको एमपीएलएको पोर्चुगलसँग लडेको लामो इतिहास थियो । यसलाई अङ्गोलियाली जनताको व्यापक समर्थन थियो ।
अङ्गोला मुक्ति राष्ट्रिय मोर्चा (एफएनएलए) र अङ्गोला पूर्ण स्वाधीनता राष्ट्रिय सङ्गठन (युनिटा) साम्राज्यवादकै पछि लागेका सङ्गठनहरू थिए । दुवैलाई संरा अमेरिकी गुप्तचर विभाग सीआईएको साथ थियो । होल्डेन रोबर्टोले नेतृत्व गरेको एफएनएलएलाई जायरको मोबुटु अधिनायकवादी सरकारले सैनिक र अरू बन्दोबस्तीका सामना दिएर सहायता गथ्र्यो । जोनास साभिम्बीले नेतृत्व गरेको युनिटालाई दक्षिण अफ्रिकी जातिवादी शासनको समर्थन थियो ।
तीन वटै सङ्गठनको अलगअलग जातीय साङ्गठनिक आधार थिए । एफएलएनएको उत्तरपूर्वी अङ्गोलाका बाकङ्गो जातिका जनताबीच बलियो सङ्गठन थियो । एमपीएलएको शक्ति उत्तर–मध्य क्षेत्रकै प्रमुख जातीय समुदाय एमबन्डुमा आधारित थियो । युनिटाको आधार दक्षिणी क्षेत्रका ओभिमबुन्डु जातिबीच थियो ।
अन्य दुई सङ्गठनको तुलनामा नेटो र एमपीएलएका नेताहरूले साँघुरो जातीय मुद्दालाई कम प्राथमिकता दिन्थे । एमपीएलएमा अफ्रिकी र पोर्चुगली मूलको मिश्रित समुदाय मेस्टिकोका पनि सदस्य थिए । त्यसले जातीय विभाजनभन्दा माथि उकासिने प्रयास गरेका थिए ।
सन् १९७५ को सुरुआतमा पोर्चुगलले एमपीएलए, एफएनएलए र युनिटासँग सहमति ग¥यो । त्यसलाई अल्भोर सहमति भनिन्छ । सो सम्झौताअनुसार त्यही सालको नोभेम्बर ११ बाट अङ्गोलालाई पोर्चुगलको उपनिवेशबाट मुक्त घोषणा गरियो । तीनवटै सङ्गठनका प्रतिनिधिहरू राखेर गठबन्धन सरकार बनाइयो ।
तर, तीन वटै सङ्गठनबीच केही समयभित्रै सशस्त्र द्वन्द्व चर्कियो । पोर्चुगलले सत्ता हस्तान्तरण गरेको दिनबाटै तीनवटै सङ्गठनले राजधानी ल्वान्डामाथि कब्जा जमाउने प्रयास गरे ।
राजधानी ल्वान्डामा एमएलपीएको बलियो आधार थियो । एफएनएलएले जायर र उत्तरी अङ्गोलाबाट आफ्नो फौजलाई राजधानीतिर अघि बढायो । युनिटाको साङ्गठनिक आधार अङ्गोलाको दक्षिण–मध्य क्षेत्रको ह्वाम्बोमा थियो । दक्षिण अफ्रिकी सेनाले युनिटा र एफएनएलएका लडाकुलाई दक्षिणी अङ्गोलामा तालिम दिएको थियो ।

कसरी सुरु भएको थियो अङ्गोला मिसन ?
कलेरो : अङ्गोलामा क्युवाली सैनिक मिसनको सुरुआत कसरी भएको थियो ?
भिल्लेगस : एमपीएलएका नेता नेटोले अङ्गोला मुक्तिको लागि बनेको जनसेना (एफएपीएलए) लाई तालिम दिन र गुरिल्ला सेनालाई राष्ट्रिय सेनामा रूपान्तरण गर्न क्युवासँग सैनिक प्रशिक्षक मागेका थिए । सन् १९७५ को अगस्टमा क्युवाली सैनिक कमान्डर राउल डाएज अर्गुलसको नेतृत्वमा क्युवाली प्रतिनिधिमण्डल अङ्गोला गएको थियो ।
त्यहाँ पुगेको पहिलो टोली क्युवाली प्रशिक्षकहरू थिए । पछि अक्टोबर महिनामा दक्षिण अफ्रिकाले हमला गरेपछि मात्र अङ्गोलामा क्युवाली लडाकुहरू गएका थिए । एफएपीएलएले क्युवाली प्रशिक्षकहरूलाई स–साना समूहमा छरेर अङ्गोलाका हरेक प्रान्तमा पठाउने प्रस्ताव ग¥यो । फिडेलको सोच बेग्लै थियो । समयान्तरमा उनको त्यो सोच नै सही प्रमाणित भयो । उहाँले कम्तीमा सत्तरी जना क्युवाली लडाकु भएका तालिम केन्द्रहरू स्थापना गर्ने प्रस्ताव गर्नुभयो । त्यसो गर्दा प्रस्ताव कदाचित हमला भएको अवस्थामा प्रत्येक एकाइ आफैँसँग लड्ने क्षमता पनि हुन्थ्यो ।
अङ्गोलियालीहरूले फिडेलको सो प्रस्ताव स्वीकारे । क्रान्तिकारी प्रशिक्षकहरूसहितका चारवटा केन्द्रहरू स्थापना गरियो । कालिन्डा, सौरिमो, एनदालातान्डो र बेनग्युलामा ती केन्द्र स्थापना भए । सबै गरेर त्यहाँ जम्मा पाँच सय क्युवाली प्रशिक्षक थिए । नेटोले एक सय जना मागेका थिए । त्योभन्दा धेरै सङ्ख्यामा क्युवालीहरूले अङ्गोलामा काम गरे ।
आधाभन्दा बढी प्रशिक्षकहरू कालिन्डामा थिए । त्यहाँ किन ? किनभने अङ्गोलाको अर्थतन्त्रको आधार भनेकै तेल बेचेर हुने आम्दानी थियो । कालिन्डाबाट तेल निकालिन्थ्यो र अहिले पनि त्यहाँ तेल निकाल्ने गरिन्छ । जायरबाट त्यहाँ हमला हुनसक्ने र अङ्गोलाका अन्य ठाउँको भन्दा त्यो ठाउँको अवस्था जटिल भएकोले फिडेलले त्यहाँ सैनिक उपस्थिति बलियो बनाउन जोड दिनुभएको थियो । कालिन्डालाई अङ्गोलाको बाँकी भूभागबाट जायरको साँघुरो पट्टीले छुट्याउँछ । त्यो साँघुरो पट्टी एटलान्टिक तटसम्म जोडिन्छ ।
अक्टोबर महिनाको सुरुमा क्युवाली प्रशिक्षकहरू विमानमा उडे । हातहतियार र अन्य बन्दोबस्तीका सामान पानीजहाजमा पठाइयो । ती सामान कङ्गो–ब्राज्जभिलेको पोइन्ट–नोइरे र मध्य अङ्गोलाको तटीय पोर्टो एमबोइममा झारियो ।
सन् १९७५ को १४ अक्टोबरमा संरा अमेरिकाले साथ दिएको दक्षिण अफ्रिकीहरूले नामिबियाको सीमा नाघेर दक्षिणबाट अङ्गोलामाथि हमला गरे । युनिटाका फौजको सहयोगमा उनीहरू तीव्र बेगमा उत्तरतिर लम्किए र राजधानी ल्वान्डा पुगे ।
हमलाकारीहरू काटेन्गी पुगे । त्यो ठाउँ बेनग्युलास्थित तालिम केन्द्र नजिक थियो । तालिम केन्द्रका एफएपीएलए र क्युवाली प्रशिक्षकहरूले दक्षिणी अफ्रिकीहरूको प्रतिकार गरे । तर, उनीहरूले दक्षिणी अफ्रिकीहरूको अगाडि लम्काइलाई भने रोक्न सकेनन् । दक्षिण अफ्रिकीहरू सङ्ख्या र हातहतियार दुवै हिसाबले अगाडि थिए । अङ्गोला र क्युवाली लडाकुहरू पछाडि हट्न बाध्य भए । चार जना क्युवाली प्रशिक्षकहरूले ज्यान गुमाए । अङ्गोलामा मारिने क्युवालीहरू उनीहरू नै थिए ।
त्यो घटनापछि अङ्गोला सरकारले क्युवालाई आक्रामकलाई पराजित गर्न मद्दतको लागि सेना मागेको थियो । हाम्रो नेतृत्वले त्यो माग पूरा गरे । सन् १९७५ को ५ नोभेम्बरमा अपरेसन कार्लोटा आरम्भ भयो ।
त्यसको केही दिनपछि पहिलो सबलीकरण सेना विमानबाट पठाइयो । त्यो टोली गृहमन्त्रालयले पठाएको विशेष सेनाको बटालियन थियो । हातहतियार पानीजहाजबाट पठाइएको थियो ।
अङ्गोलाको रक्षाको लागि क्युवाली अन्तर्राष्ट्रवादीहरू जानुलाई साम्राज्यवादी सरकारहरूले सोभियत सङ्घमाथि दोष थोपरेर दक्षिण अफ्रिकालाई आफूले गर्दै आएको समर्थनलाई जायज ठह¥याउन प्रयास ग¥यो । खासमा फिडेल क्यास्ट्रोले भन्नुभएजस्तै अङ्गोलामा लडाकु पठाउने क्युवाको निर्णय स्वाधीन र सार्वभौम कदम थियो । अङ्गोलामा लडाकुहरू पठाउनुअघि होइन, पठाइसकेपछि मात्र क्युवाले त्यसबारे सोभियत सङ्घलाई जानकारी दिएको थियो ।

दक्षिण अफ्रिकी हमलाको पराजय
कोपेल : गृहमन्त्रालयको विशेष सेनाको बटालियन पुगेपछि के भयो ?
भिल्लेगस : दक्षिणबाट दक्षिणी अफ्रिकी सेना अघि बढ्दै गर्दा होल्डेन रोबर्टो र जायरियाली सेना उत्तरबाट राजधानी ल्वान्डा आउँदै थिए । राजधानीबाट उनीहरू पच्चीस किलोमिटर (पन्ध्र माइल) मात्र टाढा थिए । अङ्गोलाको स्वाधीनता घोषणा हुन एक दिनअघि छुइफान्गोन्डोको लडाइँ भयो ।
छुइफान्गोन्डोमा क्युवाली सिपाहीहरूले भर्खरमात्र समुद्री बाटो हुँदै आइपुगेका छ वटा सोभियत सङ्घमा बनेका बीएम–३१ बहुमारक प्रक्षेपक हतियार प्रयोग गरेका थिए । केही घण्टाअघि राजधानी ल्वान्डा आइपुगेका क्युवाली सेनालाई जगेडा शक्तिको रूपमा राखिएको थियो ।
बीएम–२१ लाई एफएनएलएका सिपाहीहरू नाम बिगारेर फेनुलस भन्थे । उनीहरूले त्यो हतियार त्यसअघि कहिल्यै पनि देखेका थिएनन् । प्रक्षेपकको प्रक्षेपणले उनीहरूको साटो खायो र उनीहरू आत्तिएर कुलेलाम ठोके । अनिमात्र एफएनएलएका सिपाहीहरूलाई राजधानी ल्वान्डा पस्नबाट रोक्न सम्भव भयो ।
अर्को दिन नोभेम्बर ११ मा एमपीएलएका नेता नेटोले अङ्गोलाको स्वाधीनता घोषणा गरे । एमपीएलएको सरकार बन्यो । देशभर ठूलो उत्सव मनाइयो ।

क्युवाली मिसनको नाम ओपरेसन कार्लोटा रहनेछ
राउल क्यास्ट्रो (सन् १९९१ २७ मार्च)
“क्युवामा हामीले यो अन्तर्राष्ट्रवादी मिसनको नामकरण ‘कार्लोटा’ राख्यौँ । उपनिवेशवादी उत्पीडनको विरोधमा दुईपटक विद्रोही गर्ने क्युवाली माटोकी एक जना दासी महिलाको नाममा यो नामकरण गरिएको हो । सन् १९७५ मा क्युवालीहरूले अङ्गोलामा पनि त्यही गर्ने लक्ष्य राखेका थिए । कार्लोटालाई दोस्रो विद्रोहको क्रममा हत्याराहरूले पक्राउ गरेका थिए र उनलाई टुक्राटुक्रा पारेर मारेका थिए ।”

क्युवालीहरूले अतुलनीय योगदान गरे
नेल्सन मन्डेला (सन् १९९१ २६ जुलाइ/मातान्जस, क्युवा)
क्युवाली अन्तर्राष्ट्रवादीहरूले अफ्रिकी स्वाधीनता, स्वतन्त्रता, न्यायको लागि योगदान गरे । त्यो योगदानको सिद्धान्तनिष्ठता र निःस्वार्थ चरित्र अतुलनीय छ । क्युवाली क्रान्तिका सुरुका दिनदेखि नै सबै स्वतन्त्रताप्रेमी जनताको निम्ति प्रेरणाको स्रोत बन्दै आएको छ ।
क्युवासँग सहयोग मागेको र नपाएको त्यस्तो कुनै देशको उदाहरण देखाउनुस् ? साम्राज्यवादको चुनौती झेलिरहेका वा राष्ट्रिय मुक्तिको लागि लडिरहेका कति देशले क्युवाबाट साथ र समर्थन पाए ? …
हामी अफ्रिकीहरू अरूले हाम्रो भूभाग बन्डा गरिने वा हाम्रो सार्वभौमिकतामाथि थिचोमिचो गर्ने घटनामा अभ्यस्त भइसकेका छौँ । हामीमध्ये कसैको लागि अर्को देशका जनता उठ्ने घटना अफ्रिकी इतिहासमा पहिलो पटक भइरहेको छ ।

नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *