भर्खरै :

“नागरिकता विधेयकबारे सरकार र जनता गम्भीर हुनैपर्छ”

भक्तपुर, १३ असोज । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजले दसैँको अवसरमा बिहीबार शुभकामना कार्यक्रम ग¥यो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा कार्यरत शिक्षक तथा कर्मचारीहरूले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष रोहितले साम्राज्यवादी शक्तिले नेपाललाई कब्जा गर्ने कुनियतले नै नागरिकता विधेयक ल्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नागरिकता विधेयकबारे सरकार र जनता गम्भीर हुनैपर्छ । जन्मको आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिने बन्दोबस्त ल्याउन खोज्नु खतराको सङ्केत हो ।”
कुनै निश्चित जात र भाषाभाषीहरूको बहुमत भएपछि संविधान संशोधन गर्ने खतरा रहेको चर्चा गर्दै अध्यक्ष रोहितले देशको समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिबारे सबै नागरिकहरू जानकार हुनुपर्ने बताउनुभयो ।
“राष्ट्रपति देशको संरक्षक हो, खोपीको देउता होइन । देशको हरेक विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई नियमित जानकारी गराइरहनुपर्ने संविधानमा बन्दोबस्त छ”, उहाँले भन्नुभयो ।
भक्तपुर नगर एउटा खुला विश्वविद्यालय रहेको धारणा राख्दै अध्यक्ष बिजुक्छेँले पुर्खाले सिर्जेको संस्कृतिलाई जीवन्त राख्नु नगरवासीको कर्तव्य भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा कार्यरत जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूले पारदर्शितालाई जोड दिई इमानदारीपूर्वक कार्य गरेको कारण नै आज भक्तपुर नगर सबैको अध्ययनको विषय बनेको बताउँदै उहाँले इमानदारिता र पारदर्शितालाई सधैँ आत्मसात गरी जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
शासक पार्टी र संसद्मा प्रतिनिधित्व गर्ने बहुमत सांसदहरू जनताप्रति बफादार नभएकै कारण देश भद्रगोलको स्थितिमा पुगेको हो, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
संसद् सदस्यहरूको काम देशको लागि आवश्यक ऐन–कानुन बनाउने हो भन्दै उहाँले विकास निर्माणको काम स्थानीय सरकारलाई दिनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “योजना आयोगले आफ्नो औचित्यता पुष्टि गर्न सकेन । नातावादको आधारमा योजना छनोट हुनु गलत हो । प्राविधिकहरूले योजना आयोगको कमीकमजोरीलाई आलोचना गर्नु आवश्यक छ ।”
आरक्षणको सुविधा कमजोर आर्थिक अवस्था भएका र पिछडिएको वर्गलाई दिनुपर्नेमा शासकहरूले आरक्षणलाई दुरूपयोग गरिरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक बनाएको छ भन्दै राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता गर्नु स्वागतयोग्य कदम भएको बताउनुभयो ।
नागरिकताले देश कब्जा गर्छ भन्ने पछिल्लो उदाहरण फिजी भएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले देशमा भारतीय मूलका नागरिक बढेसँगै विस्तारवादी भारतको प्रभाव अझ बढ्नेछ भन्नुभयो ।
देश र जनताको हितमा चिन्तन गर्नुपर्नेमा केही बुद्धिजीवीहरूले विदेशीका हितमा काम गरी देशप्रति गद्दार गरिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “नेपालका दर्जनौँ लेन्डुप डोर्जेहरूले भारतलाई खुसी पार्ने काम गरिरहेका छन् । सत्ताको लोभमा ती नेता तथा बुद्धिजीवीहरूले देशलाई बन्धकी राख्ने दुष्प्रयास गर्दै छन् ।”
“नेमकिपाका सांसदहरूले संसद्मा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन् । देश र जनताको हितमा संसद्मा प्रस्तुत हुने विधेयकमा संशोधन प्रस्ताव राख्दै आएका छन् । वैज्ञानिक समाजवादबारे जनतालाई सचेत पार्ने काम नेमकिपाले गरिरहेको छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
भनपाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले चाडपर्वलाई सृजनशील कार्यमा लगाउनुपर्ने आवश्यकता औँल्याउँदै स्वस्थवद्र्धक जीवन जिउनेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
कलेज सञ्चालक समितिका सदस्य रवीन्द्र ज्याख्वले युवा पुस्तालाई राजनीतिबाट टाढा राख्न राजनीतिप्रति वितृष्णा पैदा गर्ने प्रपञ्च रचिरहेको तर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, उपप्राचार्य रवीन्द्र फोजू र जिन्सी अधिकृत राजन जतिले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *