भर्खरै :

नागरिकता खुकुलो पारिए बिनालडाइँ देश हार्ने खतरा

नागरिकता खुकुलो पारिए बिनालडाइँ देश हार्ने खतरा

भक्तपुर, १४ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशको राष्ट्रपति संवैधानिक तथा व्यावहारिक हिसाबले देशको संरक्षक भएको विचार व्यक्त गर्नुभएको छ ।
संस्थागत विद्यालय सङ्घ (इसान) द्वारा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले राष्ट्रपति कुनै व्यक्ति नभई सर्वोच्च संस्था हो र देशलाई अप्ठ्यारो पर्दा राष्ट्रपति चुप लागेर बसोस् भन्नु गलत हुने स्पष्ट पार्नुभयो ।
उहाँले नागरिकता खुकुलो पारिए बिनालडाइँ देश हार्ने खतरा हुन्छ भन्नुभयो ।
नागरिकता विधेयककै माध्यमबाट देशको अर्थतन्त्र विदेशीको हातमा जाने र देश लथालिङ्ग हुने सम्भावना रहेकोले नेमकिपा सङ्घर्षमा उत्रेको बताउँदै अध्यक्ष रोहितले राष्ट्रपतिले प्रमाणीकरण गरेको भए देश धेरै अप्ठ्यारोमा पर्ने थियो भन्नुभयो ।
अध्यक्ष रोहितले बेलायत, अमेरिकाको सहयोगमा तयार गरिएको पाठ्यक्रम र पाठ्यपुस्तक पढाएर नेपाली समाजको भलाइ नहुने विचार राख्दै अफ्रिकाका स्वतन्त्रता सेनानी, ल्याटिन अमेरिकाका मजदुर नेता तथा कम्युनिस्ट नेताहरूबारे नयाँ पुस्तालाई शिक्षित गर्न सुझाव दिनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “मुखले साम्राज्यवादको विरोध गर्ने तर साम्राज्यवादी एजेन्टहरूबारे नै पढाउँदा नयाँ पुस्तामा लडाकुपन विकास हुँदैन । त्यसकारण, पुँजीवाद तथा साम्राज्यवाद र समाजवादबीचको भिन्नता विद्यालय तहबाटै सिकाऔँ ।”
नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले बहुदलीय व्यवस्था पुनःस्थापनाको ३३ वर्षमा देश झन् परनिर्भर बनेको प्रस्ट पार्दै नेका, एमाले र माओवादीको गलत नीति, अदूरदर्शिता तथा अकर्मण्यताका कारण देशको अर्थतन्त्र खोक्रो, शिक्षा तथा स्वास्थ्य क्षेत्र तहसनहस भएको उल्लेख गर्नुभयो ।
उहाँले हरेक नागरिक कुनै न कुनै विचार, सिद्धान्त र दर्शनबाट प्रभावित हुने धारणा राख्दै आजको बहसको विषय व्यक्ति स्वतन्त्र हो या होइन भन्दा पनि देश स्वतन्त्र राख्ने या नराख्ने हुनुपर्छ भन्नुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले शिक्षकहरू स्वयम् क्षमता अभिवृद्धिको निम्ति प्रयत्नशील रहनुपर्छ भन्नुभयो ।
इसानका उपाध्यक्ष सनकमान महर्जनले औपचारिक शिक्षामात्र दिएर शिक्षकको कर्तव्य पूरा नहुने विचार राख्नुभयो ।
इसानका कोषाध्यक्ष उकेश कवांले विदेशको निम्ति जनशक्ति निर्माण गर्नुभन्दा विदेश पलायन रोकेर स्वदेश निर्माणको बाटो रोज्न नसकेसम्म परिवर्तन असम्भव हुने विचार व्यक्त गर्नुभयो ।
इसानका जिल्ला अध्यक्ष पुरूषोत्तम ग्वाछाको सभापतित्वमा भएको कार्यक्रममा पुष्पलाल सुजखू र कर्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *