भर्खरै :

ख्वप्रिङ्ग एकेडेमीको २२ औँ वार्षिक समारोह

ख्वप्रिङ्ग एकेडेमीको २२ औँ वार्षिक समारोह

भक्तपुर, १४ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शुक्रबार आयोजित ख्वप्रिङ्ग इङ्गलिश एकेडेमीको २२ औँ वार्षिकोत्सव समारोहमा पाठ्यपुस्तकसँगै व्यवहारिक ज्ञानलाई पनि जोड दिँदै अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष रोहितले भक्तपुर एक सांस्कृतिक सहरको कला र संस्कृति संरक्षण गर्न विद्यालयस्तरबाट पनि पुराना नाच र बाजा सिकाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
देशका ठूला राजनैतिक दलका नेताहरूको अदूरदर्शिताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा बढेको र देश बचाउन नयाँ पुस्तालाई राजनैतिक ज्ञान र समसामयिक विषयवस्तुको ज्ञान पनि दिँदै जानुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
विद्यालयका सल्लाहकार एवं शिक्षक ज्ञानसागर प्रजापतिले कक्षा १२ सम्म अनिवार्य शिक्षा घोषणा गर्नुपर्नेमा जोड दिँदै सरकारले जनतालाई शिक्षाबाट वञ्चित गरिरहेको बताउनुभयो । राज्यले सबैलाई समान शिक्षकको व्यवस्था गरेको भए निजी र सामुदायिक विद्यालयबीचको भेद हट्ने विश्वास व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सरसफाइमा आवश्यक सचेतना नभएको तथा हेलचेक्राइँका कारण डेङ्गु रोग समुदायसम्म फैलिएकोले सबै सचेत रहन आग्रह गर्नुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीपेन्द्र प्रजापति, संस्थागत विद्यालय सङ्घ इसान भक्तपुरका जिल्ला अध्यक्ष पुरुषोत्तम ग्वाछा, ख्वप्रिङ्ग अभिभावक सङ्घका अध्यक्ष रामकृष्ण कुटुवाजू र विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथि बिजुक्छेँले विद्यालयमा १० वर्षभन्दा बढी कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मान, शैक्षिक सत्र ०७५, ०७६, ०७७ र ०७८ मा उत्कृष्टलाई पुरस्कार वितरण तथा एसईई परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्न सफल विद्यार्थीलाई स्वर्णपदक तथा वर्ष उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई कदरपत्र प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *