धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
६० वर्ष अगाडिदेखि भक्तपुर नगर र जिल्लामा वैचारिक परिवर्तन देखापरेको आधार मानेमा फरक नपर्ला । भियतनाममा अमेरिकी साम्राज्यवादको आक्रमण भएको बेला थियो त्यो । साथै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादको विरोधमा ठूलो सैद्धान्तिक सङ्घर्ष भइरहेको थियो । त्यही बेला नेपालमा भूमिसुधारको घोषणा भएको थियो ।
भक्तपुर नगरमा जोताहा किसानको रात्रि किसान कक्षा सञ्चालन भएकोे थियो । रात्रि कक्षामा साँवा अक्षर चिन्नु, पुँजीवादी क्रान्ति (बेलायती राज्य क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सेली राज्य क्रान्ति) तथा पेरिस कम्युन (कम्युनिस्ट क्रान्ति), रुसको बोल्शेविक क्रान्ति, कोरियाको मुक्ति युद्ध, चिनियाँ क्रान्ति, भियतनाम, लावस र कम्बोडियाको समाजवादी आक्रमणविरोधी सङ्घर्ष, क्युवाली क्रान्ति, भारतको नक्सलवादी आन्दोलन र भारतीय कम्युनिस्ट आन्दोलनमा संशोधनवादको प्रभावको बारेमा समेत कक्षा सञ्चालन हुन्थ्यो ।
पाठ्यपुस्तकहरूको कमीको कारण पुँजीवादी समाचारपत्रहरूकै समाचार र छापेका छापाहरूबाटै काम चलाइन्थ्यो । किसान तथा विद्यार्थीलाई राजनैतिक कक्षा सञ्चालन गरिन्थ्यो ।
२० वर्षपहिलेका किसान कार्यकर्ता नै भक्तपुरको नयाँ समाज निर्माणका मेरुदण्ड थिए । २० वर्षपछिका किसानका छोरा–छोरीहरू आज शिक्षक, प्राध्यापक, इन्जिनियर, डाक्टर, स्वास्थ्यकर्मी र देश–विदेशमा समेत विज्ञान र प्रविधि क्षेत्रमा कार्यरत छन् । यसको बाछिटा भक्तपुर नगर बाहिर देखिँदै छ– आ–आफ्नै सामाजिक परिवेशका कारण । अब नगरका शिक्षित युवाहरूमा दुई भागमा छुट्टिएको विश्लेषण गर्नु आवश्यक छ । पहिलो एक पक्षमा समाजको प्रगतिप्रति समर्पित र दोस्रो आफ्नै ‘शुभ–लाभ’ लाई प्राथमिकता दिने, चौकी छोड्ने, विश्वासघात गर्ने र पुँजीवादप्रति विश्वास गर्नेहरू अर्को पक्षमा छन् ।
पुँजीवादी समाजमा ‘शुभ–लाभ’ नयाँ विषय होइन । दसैँ र तिहारमा लक्ष्मीको पूजा गर्ने र पसल–पसलमा पहिले ‘शुभ–लाभ’ भनेर तेल मिसाइएकै सिंदुरे रङ्गले पसलहरू सजाइन्थ्यो । त्यही पुँजीवादी र आत्म–केन्द्रित प्रवृत्ति निम्न–पुँजीवादी वर्गमा छ्यास्छ्यास्ती देखाप¥यो । हरेक स–साना व्यापारी, साहु–महाजन, इँटाभट्टाका मालिक, ठेकेदार, घर–जग्गाका व्यापारी, ट्रक र बस व्यवसायीदेखि हवाईसेवालगायतका पुँजीपति वर्ग यही कित्तामा पर्छ । त्रिविका प्राध्यापक, निजी विश्वविद्यालय र खासगरी मेडिकल कलेजका सञ्चालक र यसका हिस्सेदारहरू यही कित्तामा पर्छन् । तिनीहरू जे गरेर हुन्छ, आर्थिकरूपले माथि उठ्न खोज्छन् । ‘जे गरेर हुन्छ’ भन्नुको अर्थ चाकडी–चुक्लीदेखि अनेक अपराध कर्म गरेर, दाजुभाइलाई समेत व्यापारको हिस्सा नदिएर वा राजनैतिक दलबदल गरी हत्याहिंसा र बेइमानीलाई पचाउन र जोगिन राज्ययन्त्रलाई प्रयोग गर्छन् । अध्ययनको नाममा विदेशमा पठाउने म्यानपावर कम्पनीहरू पनि यसै कित्तामा पर्छन् ।
आफ्नो ज्यान जोगाउन वा पैसाको निम्ति अमेरिकी स्वतन्त्रता आन्दोलनमा केही सैनिक कमान्डरहरूले आफू खटिएको चौकी छोडेर’ बेलायती शत्रु सेनालाई बाटो छोडिदिएका थिए । यसरी, स्वतन्त्रता आन्दोलनलाई विश्वासघात गरिएको थियो । यसैलाई लडाइँमा ‘चौकी छोड्नु’ भनिन्छ । ती विश्वासघातीमध्ये केही शत्रुसँग मिल्न गए, केहीलाई ज्यान सजाय दिइयो । बेलायती घूस खोलेर हेर्दा केहीले नक्कली नोट भिडाइएको पाए ।
दोस्रो विश्वयुद्धमा शत्रुलाई बाटो छोड्ने र भाग्नेहरूलाई सोभियत सङ्घमा आफ्नै साथी (सिपाहीहरू) ले गोली हानेर मार्थे ।
समाजको विकास उत्थानको निम्ति समर्पित हुनुपर्नेमा केही कर्मचारीले विदेश पढ्न जाने र आफ्नो चरित्र निर्माणको नाममा शत्रुको दलाललाई’ पदमा राखेर जाने गर्छन् । केही स्कूल, विश्वविद्यालय, अस्पताल र प्रहरी–सेनाको सेवासमेत छोडेर विदेशको सेवा गर्न पुग्छन् र तिनीहरूबाटै विदेशीले आफ्नो स्वार्थको काम गर्न लगाउँछन् । नेपाल–अङ्ग्रेजको लडाइँको बेला यस्ता घटनाहरू भएका थिए । तिब्बत–अङ्ग्रेज युद्धमा कतिपय विश्वासघाती तिब्बती ठूला–बडाले कलकत्तामा गई देशको विरोधमा हस्ताक्षर गरी देशलाई विश्वासघात गरे । बेलायती उपनिवेशवादको कारण आजसम्म पनि चीन–भारत सीमा विवाद बाँकी छ ।
अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव नेपालमा पर्नु स्वाभाविक हो । शेरबहादुर देउवाको सरकार आएपछि एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरियो । नागरिकता विधेयक पारित गरियो । युक्रेनको समर्थन गरियो । चीनसँगको घनिष्ठतामा खुकुलोपन देखिएको छ । यसबाट शासक दलहरूको ‘गठबन्धन’ प्रतिगामी र अमेरिका–भारत एसिया–प्रशान्त गठबन्धनकै सहयोगी हुने त होइन भन्ने प्रश्न गर्ने प्रशस्त सम्भावना देखिएको छ । ‘सौताको रिसले पोइको नाक काट्ने’ उखानअनुसार ‘कम्युनिस्ट – समाजवादी माओवादीहरू’ ले सानो स्वार्थको कारण ठूलो भड्खालोमा जाने तयारी त गर्दै छैनन् भनी ध्यान पु¥याउनुपर्ने देखिँदै छ ।
माथिका सबै पृष्ठभूमिलाई ध्यानमा राख्दा नेमकिपालाई जिल्ला–जिल्लामा ‘समूल नष्ट’ गर्ने उद्देश्यले ‘पञ्चायतको बदला लिने’ भित्री मनसाय राख्नेहरू आज त्रिविमा विराजमान छन् । तिनीहरूको हरेक गतिविधि र विचार प्रतिगामी छ भनी अड्कल काट्न ख्वप विश्वविद्यालयबारेको पक्षपाती नीतिले नै प्रस्ट छ । साथै जिल्लाजिल्लामा नेमकिपालाई शिक्षा क्षेत्रबाटै र शिक्षित भनिने कार्यकर्ताहरूलाई नै अन्तरध्वंशको गोटीको रूपमा प्रयोग गरेको जानकारहरूलाई प्रस्ट छ । ‘प्राध्यापक’ पद नै घूस र प्रतिगामी राजनीतिक ‘ग्लुकोज’ बनाइँदै छ । यस अर्थमा शिक्षा क्षेत्र आफै ‘क्रान्तिका बारुद खाना’ नभई प्रतिगामी कार्यकर्ता र ‘एजेन्ट’ तयार गर्ने कालकोठरी बन्दै छ ।
दलालहरू भौतिक संरचनालाई क्षति पु¥याउन सक्छन् तर विचारको स्पष्टता र दृढतालाई कमजोर बनाउन सक्दैनन् । एमाले र एमाओवादी केन्द्रको कुन गुट ठीक कुन बेठीक भन्ने कुराको छिनोफानो समयले गर्नेछ, त्यसबेला नेमकिपालाई अन्तरध्वंश गरेर कुन वर्ग र शक्तिलाई मलजल गर्ने अपराध क–कसले गरे प्रस्ट हुँदै जानेछ । हो, जनताको आँखा दूरबीनसरह हुन्छ । ५–१० जनालाई ‘एजेन्ट’ बनाएर इतिहासको पाङ्ग्रालाई मोड्न सकिन्न । आ–आफ्नो चौकी छोड्नेलाई एक दिन सजाय मिल्ने नै छ । समयमा आत्मआलोचना गर्नेहरू जोगिनेछन् । सुधारका विपक्षमा रहनेहरू परिवर्तनको बाढीबाट बगाउनेछन्– तिनीहरूलाई कुनै पनि पदधारी ‘एजेन्ट’ हरूले जोगाउन सक्ने छैनन् ।
Leave a Reply