भर्खरै :

क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध – ७

क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध – ७

वाटर्स : सोभियत सल्लाहकार र क्युवाली नेतृत्वबीच मतभेद त अरू सन्दर्भमा सतहमा देखिएको थियो, होइन र ?
भिल्लेगस : लडाइँको विषयमा मूलभूत मतभेद यो बहसमा निस्क्रिय भूमिका खेलेका अङ्गोलियालीहरूसँग थिएन, सोभियतहरूसँग थियो । यस्ता मतभेद धेरै पटक सतहमा देखिए । सन् १९८७–८८ मा कुइटो क्वानभालेको अन्तिम लडाइँमा त्यो मतभेद उत्कर्षमा पुग्यो ।
सन् १९८३ को मध्यतिर युनिटाले मध्य अङ्गोलामा हमलाहरू ग¥यो । उनीहरूको दोस्रो मोर्चाले क्वान्जा सुल प्रान्तको मुस्सेन्डे सहरमा कब्जा जमायो । सोभियत सल्लाहकारहरूले त्यो सहर युनिटाको हातबाट फिर्ता लिन एफएपीएलएलाई आक्रमण गर्न प्रस्ताव गरे । यस्तो सामान्यतः पुरानो शैलीको लडाइँमा हुने गथ्र्यो ।
उनीहरूले धेरै वटा ठुल्ठुला निशाना देखाइएको निकै जटिल कारबाही देखाउने नक्साहरू देखाए । उनीहरूको यस्तो योजना थाहा पाएपछि फिडेल क्यास्ट्रोले व्यङ्ग्य गर्दै त्यो प्रस्तावलाई ‘अपरेशन बर्लिन’ भन्नुभयो ।
कलेरो : किन ?
भिल्लेगस : किनभने त्यो बर्लिन थिएन ।
दोस्रो विश्वयुद्धको समयमा भएको बर्लिन लडाइँ ठुलो लडाइँ थियो । लाखौँ सोभियत फौज जर्मनीको राजधानीतिर अघि बढेका थिए । अङ्गोलामा पनि सोभियत सल्लाहकारहरूले मुस्सेन्डे सहर फिर्ता लिने योजना सन् १९४५ मा मार्सल झुकोबले स्तालिनलाई बर्लिनमाथि हमलाको योजना सुनाएजस्तै व्याख्या गरिरहेका थिए । तर, युनिटाविरुद्धको सङ्घर्ष स–साना टुकडीबाट अनियमित लडाइँमार्फत मात्र सफल हुन सक्थ्यो ।
स–साना विजयको गठजोडबाट शत्रुलाई पराजित गर्ने हाम्रो सोचाइ थियो । ‘अयाकुचो’ बाट त्यस्तो विजय सम्भव थिएन । आजभोलि पेरुमा पर्ने अयाकुचो सहरमा दक्षिण अमेरिकी स्वाधीनता सङ्घर्षको अन्तिम निर्णायक लडाइँ भएको थियो । स्पेनको राजावादी फौजलाई सन् १८२४ मा स्वाधीनता पक्षधर शक्तिले नराम्ररी पराजित गरेको थियो ।
अर्को महत्वपूर्ण लडाइँ सन् १९८४ मा भएको थियो । युनिटा फौजले क्वान्जा सुलको सदरमुकाम सुम्बेमा हमला गरेको थियो । सुम्बेमा एफएपीएलएका नियमित सेना थिएन । त्यहाँ तीन सय जना लडाकूहरू मात्र थिए । त्यहाँ २३० जना क्युवाली नागरिक स्वयम्सेवकसहित इटालियाली, पोर्चुगाली, सोभियत र बुल्गेरियाली सर्वसाधारण मजदुरहरू पनि थिए । युनिटाको लक्ष्य त्यो सहर कब्जा गरेर ठुलो सङ्ख्यामा विदेशी सहायताकर्मीहरूलाई नियन्त्रणमा लिने थियो ।
शत्रुतर्फ पन्ध्र सय सिपाही थिए । शत्रु सैनिकरूपमा बलियो भएर पनि क्युवाली निर्माण मजदुर, शिक्षक र स्वास्थ्यकर्मीहरूले आफूसँग भएका हातहतियारबाट साहसका साथ लडाइँ लडे । अङ्गोलाका मिलिसियासँग मिलेर क्युवाली विमान नआउँदासम्म उनीहरूले सोम्बे सहरको रक्षा गरे । युनिटालाई त्यहाँबाट धपाइयो । क्युवाली विमानचालकहरूले पनि वास्तविक बहादुरी देखाए । सोम्बेमा प्रत्यक्ष टेलिफोन सम्पर्क नभएको हुँदा उनीहरूलाई ल्वान्डामा फोन सम्पर्क गरेर सूचना प्राप्त गर्नुपर्ने बाध्यता थियो ।
सोम्बेको लडाइँमा मारिएका नब्बे जनामध्ये सात जना क्युवाली थिए । शत्रुतर्फ ठुलो क्षति भयो ।
दक्षिण अफ्रिकीहरूको साथ सहयोगमा युनिटाले सन् १९८० दसकको मध्यतिर मध्य प्रान्तहरूमाथि हमला ग¥यो । उनीहरूले पुल पुलेसा र जलविद्युत्का बाँधहरू भत्काए । फिडेलले उनीहरूका गतिविधि राजधानी ल्वान्डालाई अन्य ठाउँबाट अलग बनाउने र विद्युत् सेवाबाट बञ्चित गर्ने मनसायबाट अभिप्रेरित भएको देख्नुभयो ।

न्याउरी मुसाजस्तै कसरी बाँच्ने ?
नामिबियासँग जोडिएको अङ्गोलाको दक्षिणी सिमानामा दक्षिण अफ्रिकाले ठाउँ–ठाउँमा सैनिक शिविरहरू बनाएको थियो । उनीहरूका सेनाले हवाइ आक्रमणहरू गर्ने गथ्र्यो र दक्षिण अङ्गोलाको आकाशमाथि कब्जा जमाएको थियो । त्यसको प्रतिरोध गर्न हामीले हाम्रो प्रतिरक्षा रेखा बलियो बनायौँ । त्यो रक्षा दस्ता नामिबेदेखि मेनोनग्वेसम्म फैलिएको थियो । दक्षिण अफ्रिकाबाट हुन सक्ने हमलाबाट जोगिन त्यहाँ क्युवाली सिपाही न्याउरी मुसाजस्तै बस्थे । उनीहरू प्रायशः जमिनमुनि बस्थे ।
सोभियत सल्लाहकारहरूले आफ्नो ‘बर्लिन लडाइँ’ को नीतिलाई निरन्तरता दिएका थिए । वर्षौँदेखि उनीहरूले अङ्गोलाको नेतृत्वलाई युनिटा र दक्षिणपूर्वी क्वान्दो कुबाङ्गोको दुर्गम माभिंगा सहरमा तैनाथ दक्षिण अफ्रिकी फौजमाथि चर्को निर्णायक हमला गर्ने नीतिमा सहमत बनाउन खोजिरहेका थिए ।
एफएपीएलएले माभिंगा सहर कब्जा गर्न सके उनीहरूले साभिम्बीको सदरमुकाम जाम्बामाथि पनि आक्रमण गर्न सक्छन् भन्ने सोभियत सल्लाहकारहरूको जोड थियो । जाम्बा अङ्गोलाको सुदूर दक्षिणपूर्वी कुनामा अवस्थित जङ्गली क्षेत्र थियो । त्यो ठाउँ नामिबिया र जाम्बियाको सीमा नजिकै थियो ।
तर, माभिंगा जालो थियो । त्यो ठाउँ सबभन्दा नजिकको आपूर्ति केन्द्र मेनोनग्युबाट निकै टाढा थियो । हामीले यही कुरा अङ्गोलियालीहरूलाई भन्यौँ । अर्कोतिर युनिटाको फौजलाई भने सीमाको अर्कोतिरबाट रसदपानी र हातहतियारको आपूर्ति हुन सक्थ्यो । आवश्यक परे उनीहरू उतै भाग्न पनि सक्थे । त्यसबाहेक पनि दक्षिण अफ्रिकीहरूले माभिंगामा अघि बढिरहेको फौजमाथि हवाई हमला गरिरहेको थियो ।
सन् १९८४ र सन् १९८५ को अधिकांश समय अङ्गोला, सोभियत र क्युवालीहरूबीच यही विषयमा बहस चलेको थियो । अङ्गोलाको नेतृत्वसँगको बैठकमा पोलोले एफएपीएलएले युनिटालाई मध्य क्षेत्रमा पराजित गर्नुपर्नेमा जोड दिएका थिए । सीमावर्ती क्वान्डो कुबाङ्गो प्रान्तको तुलनामा मध्य क्षेत्र आर्थिक र सैनिकरूपमा अझ महत्वपूर्ण थियो ।
तथापि, सोभियत सल्लाहकारहरूका नेता कोन्स्टान्टिन कुरोच्किनले अङ्गोलाका नेताहरूलाई माभिंगामाथि हमला गर्न सहमत बनाए ।
सन् १९८५ को मध्यतिर अङ्गोलियालीहरूले अपरेसन दोस्रो सम्मेलन सुरु गरे । एमपीएलएको दोस्रो सम्मेलनबाट त्यसको नामाकरण गरिएको थियो । झन्डै ६ हजार एफएपीएलए फौज अघि बढ्यो । सुरुमा कुनै समस्या थिएन । तर, अचानक दक्षिण अफ्रिकी युद्धकविमान र हतियारले उनीहरूमाथि भीषण हमला गरे । एफएपीएलएले बहादुरीका साथ लडे पनि उनीहरू पछि हट्नुप¥यो । झन्डै दुई हजार अङ्गोलियाली सिपाही मारिए ।
वाटर्स : इग्नासिओ रामोनेटसँगको अन्तरवार्तामा फिडेलले इजरायलमार्फत संरा अमेरिकाले दक्षिण अफ्रिकालाई हिरोसिमा र नागासाकीमा प्रयोग भएजस्ता केही परमाणु बम दिएको बताउनुभएको छ । सैनिक रणनीतिको योजना बुन्दै गर्दा क्युवाली र अङ्गोलियाली फौजविरुद्ध दक्षिण अफ्रिकाले ती हतियारको प्रयोग गर्ने सम्भावनाबारे क्युवाली नेतृत्वले विचार गरेको थियो । दक्षिण अफ्रिकाले कदाचित यो हतियार प्रयोग गरे क्षति न्यून गर्न क्युवाले एकै ठाउँमा धेरै लडाकू केन्द्रित गर्न नहुनेमा फिडेलले जोड दिनुभएको थियो हो ?
भिल्लेगस : हाम्रो उच्च नेतृत्वलाई दक्षिण अफ्रिकासँग केही परमाणु हतियार भएको थाहा थियो । उनीहरूले यो लडाइँमा प्रयोग गर्न सक्थे । हामीलाई अहिले थाहा भयो, दक्षिण अफ्रिकालाई इजरायलमार्फत संरा अमेरिकाले छ वटा परमाणु हतियार दिएको थियो ।
अङ्गोलामा हाम्रो सेनाले एक हजारभन्दा बढी सिपाही नहुने गरी समूह विभाजनको रणनीति अङ्गालेको थियो । एउटै हमलामा धेरै सङ्ख्यामा सिपाही मार्न सक्ने खालको कुनै ठुलो आकारको केन्द्रित फौज थिएन ।

कुइटो क्वानाभाले, कालिकी र रङ्गभेदी शासनको पराजय, सन् १९८७–९१
वाटर्स : काङगाम्बापछि र दक्षिणी अफ्रिकाको बढ्दो चुनौतीबीच क्युवाली नेतृत्वले अङ्गोलामा तपाईँले भन्नुभएजस्तै आफ्नो शक्ति बलियो बनाउने निर्णय ग¥यो । मध्य अमेरिका र क्यारिबियाली क्षेत्रमा वाशिङ्टनको बढ्दो सैनिक गतिविधिको कारण क्युवाले सामना गरिरहेको खतराबीच यस्तो निर्णय भएको थियो ।
सन् १९८३ को अक्टोबर अर्थात् काङगाम्बा घटनाको दुई महिनापछि संरा अमेरिकी सेनाले ग्रेनाडामाथि हमला गरी कब्जा जमायो । वाशिङ्टनले निकारागुआमा क्रान्तिकारी सरकारविरुद्ध ‘कोन्ट्रा लडाइँ’ सङ्गठित र लगानी गरिसकेको थियो । एल साल्भाडोर र ग्वाटेमालामा उसले रक्तपिपासु तानाशाही व्यवस्थालाई समर्थन गरेको थियो । क्यारिबियाली समुद्रमा संरा अमेरिकाले ठुलो आकारमा सैनिक गतिविधि गरिरहेको थियो ।
त्यही बेला दक्षिण अफ्रिकाभरि मजदुर र युवाहरूबीच रङ्गभेदविरुद्ध जनआन्दोलन बढिरहेको थियो । प्रिटोरियामा राजनीतिक सङ्कट गहिरिँदो थियो । सन् १९८५ को अक्टोबर महिनामा हवानामा फिडेलले सोभियत विदेशमन्त्री इडुआर्ड शेभार्डनाड्जेलाई भेटेका थिए । दक्षिण अफ्रिकी हमला र सैनिक कारबाहीको एक दसकपछि फिडेलले अङ्गोलाभित्र रङ्गभेदी शासनको ‘हात काट्ने’ उपयुक्त समय भएको विचार प्रस्तुत गर्नुभयो ।
त्यसको एक वर्षपछि सन् १९८६ को सेप्टेम्बर महीनामा ल्वान्डामा दिएको भाषणमा फिडेलले ‘अङ्गोलामा रङ्गभेदी शासन अस्तित्वमा रहँदासम्म अङ्गोलामा अन्तर्राष्ट्रवादी सेना राख्न’ क्युवा तयार रहेको बताउनुभयो ।
अनि सन् १९८६ को नोभेम्बरमा इरान–कोन्ट्रा प्रकरण बाहिरियो । त्यसले संरा अमेरिकी सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्यो । अमेरिकी राष्ट्रपति कार्यालयका अधिकारीहरूले गोप्य रूपमा लेवनानमा तेहरानसमर्थित हजबुल्लाहले नियन्त्रणमा लिएका बन्दीहरूको रिहाइको लागि इरानलाई हातहतियार बेचेको र त्यो पैसा निकारागुआमा प्रतिक्रान्तिकारीहरूको लागि खर्च भएको वास्तविकता खुलासा भएको थियो ।
वाटर्स : फिडेलले त्यो परिस्थितिमा प्रिटोरियाको ‘हात काट्ने उपयुक्त समय’ भनी निष्कर्ष निकाल्नुभएको थियो । तपाईँ त्यो समयलाई कसरी स्मरण गर्नुहुन्छ ?
भिल्लेगस : सन् १९८७ को मध्यतिर एफएपीएलएले ‘ओपरेसन सल्युट टु अक्टोबर’ नामको आक्रामक अभियान थालनी ग¥यो । रुसी अक्टोबर क्रान्तिको सत्तरीऔँ वार्षिकोत्सवको सन्दर्भमा त्यो अभियानको नाम त्यसो जुराइएको थियो । त्यो अभियानको मूल लक्ष्य साभिम्बीको मुख्यालय जाम्बामाथि नियन्त्रण जमाउनु थियो ।
सोभियत पक्षले प्रस्ताव गरेको यो अभियानको हाम्रो नेतृत्वले विरोध ग¥यो । त्यो सन् १९८५ को माभिंगा अभियानकै निरन्तरता हुने थियो । त्यो अभियान नराम्ररी असफल भएको थियो । एफएपीएलएले एघार हजार लडाकूसहित चार उच्चस्तरीय ब्रिगेड परिचालन गरेको थियो । त्यो क्षेत्रमा युनिटाका आठ हजारमात्र लडाकू थियो । सुरुमा एफएपीएलएको अभियानमा थोरै मात्र अवरोध देखाप¥यो । तर, दक्षिण अफ्रिकाले त्यो अभियानको विरोध ग¥यो र विशेष फौजबाट हजारौँ लडाकू पठाएर युनिटालाई साथ दियो ।


दक्षिण अफ्रिकीले एफएपीएलएमाथि भीषण हवाई तथा थलगत हमला ग¥यो । अङ्गोलाका लडाकूहरूले बहादुरीका साथ लडाइँ लड्यो । तर, उनीहरूले ठुलो क्षति भोग्नुप¥यो । लोम्बा नदी तर्ने क्रममा एउटा ब्रिगेडलाई पूरै सखाप भयो । एफएपीएलएका बाँकी फौज कुइटो क्वानाभालेको सानो सहरमा पछि हटे । क्वान्दो कुबाङ्गो प्रान्तमा अवस्थित त्यो एफएपीएलएको सबभन्दा दक्षिणी आधार थियो । दक्षिण अफ्रिकीहरूले कुइटोमाथि कब्जा जमाउने ध्येयले उनीहरूको पछि लागेका थिए ।
नोभेम्बरको मध्यतिर दक्षिणी अङ्गोलाको गम्भीर अवस्थाबारे खबर पाएपछि फिडेलले क्युवाली क्रान्तिकारी सेनाका कमान्डरहरूसँग भेट्नुभयो । उहाँले भन्नुभयो, “के अङ्गोलाका जनतालाई दक्षिण अफ्रिकीहरूले ध्वस्त बनाएको हामी हेरेर बस्न सक्छौँ अथवा हामीले उनीहरूलाई सहयोग गर्नुपर्छ ? हामीले दस वर्षभन्दा लामो समयदेखि अङ्गोलालाई मद्दत गर्दै आएका छौँ । हामीले हासिल गरेका सफलता अहिले निमेषभरमै सकिन सक्छ ।
दक्षिण अफ्रिकीहरूलाई निर्णायक रूपमा पराजित गर्न सामथ्र्य र हातहतियारले सुसज्जित क्युवाली फौज तयार गर्ने निर्णय भएको छ । त्यही फौजले दक्षिण अफ्रिकीहरूलाई अङ्गोलाबाट भगाउने छ । त्यसको निम्ति हामीले दक्षिणको आकाशमाथि नियन्त्रण जमाउनुपर्ने फिडेलको जोड थियो ।
हामीले हाम्रो फौजको सङ्ख्या पचास हजारभन्दा माथि पु¥यायौँ । हामीले सयौँ ट्याङ्क र हजारौँ हातहतियार पठायौँ । हाम्रा सर्वोष्कृट विमानचालक परिचालन ग¥यौँ । हाम्रा आधुनिक विमान, विमानप्रतिरोधी हतियार र ट्याङ्क खटायौँ ।
हाम्रो सेनालाई बलियो बनाउनु पछाडि हाम्रा दुई वटा लक्ष्य थिए । पहिलो, कुइटोको रक्षा गर्न प्रतिरक्षात्मक काम गर्नु र दोस्रो दक्षिणपश्चिम अङ्गोलामा आक्रामक गतिविधि गर्नु ।
फिडेलले भन्नुभएजस्तै हाम्रो सेना मुक्केबाजले एक हातले विपक्षीको प्रहार रोकेर अर्को हातले विपक्षीलाई प्रहार गरेजस्तै थियो ।
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *