भर्खरै :

नियमित पारासिटामोल सेवनले ‘रक्तचाप उच्च हुन सक्ने’

लण्डन, २१ असोज (बीबीसी) । उच्च रक्तचाप भएका बिरामीले लामो समयसम्म नियमित पारासिटामोल औषधि खाँदा त्यसले हृदयघात र मस्तिष्कघातको जोखिम बढ्न सक्ने एक अध्ययनले देखाएको छ । एडिनबरा विश्वविद्यालयका अध्ययनकर्ताहरूले बिरामीलाई दीर्घकालीनरूपमा पारासिटामोल खान सिफारिस गर्नुअघि डाक्टरहरूले यसको जोखिम र फाइदालाई विचार गर्नुपर्ने बताएका छन् ।
उनीहरूले टाउको दुख्दा र ज्वरोका लागि पारासिटामोल खाँदा भने सुरक्षित हुनेमा जोड दिएका छन् ।
अन्य विज्ञहरूले यो अध्ययनको नतिजालाई बलियोसँग पुष्टि गर्न यस विषयमा थप धेरै मानिसमा लामो अवधिको अध्ययन आवश्यक भएको बताएका छन् ।
सामान्य दुखाइ कम गर्ने औषधिका रूपमा पारासिटामोल विश्वभर व्यापक प्रयोग गरिन्छ । यसको फाइदा प्रमाणित नभए पनि दिर्घकालीन दुखाइको समस्या कम गर्नका लागि पनि सिफारिस गर्ने गरिएको छ । सन् २०१८ मा स्कटल्यान्डमा पाँच लाख जनालाई पारासिटामोल सिफारिस गरिएको थियो । यूकेमा मात्रै ३३ प्रतिशत जनसङ्ख्यालाई उच्च रक्तचापको समस्या छ ।
एडिनबरा विश्वविद्यालयको अध्ययनले ११० जना स्वयम्सेवीहरूलाई समेटेको थियो जसमध्ये दुईतिहाइ उच्च रक्तचापको समस्या भएका व्यक्ति थिए ।
अध्ययनको परीक्षणमा उनीहरूलाई दुई साता दैनिक चार पटक एक ग्राम पारासिटामोल सेवन गर्न लगाइएको थियो र अर्को दुई साता उनीहरूलाई सेवन नगर्न भनिएको थियो । परीक्षणले पारासिटामोलले रक्तचाप बढाएको देखियो जुन हृदयघात र मस्तिष्कघातको सबैभन्दा महत्वपूर्ण कारक हो । अध्ययनकर्ताहरूले चिकित्सकहरूलाई बिरामीको लागि नियमित पारासिटामोल सेवन गर्न दिँदा सकेसम्म थोरै मात्रा दिन र रक्तचाप एवम् मुटुसम्बन्धी रोगबारे चनाखो रहन सुझाव दिएका छन् ।
“ज्वरो र दुखाइ कम गर्न छोटो अवधिको लागि पारासिटामोल सेवन गर्ने विषयमाथिको यो अध्ययन होइन, त्यसो गर्नु हुन्छ,” प्रमुख अध्ययनकर्ता डा. इयन म्याकइन्टायरले भने ।
लन्डन विश्वविद्यालयका डा. दीपेन्दर गिलले सर्कुलेशन जर्नलमा प्रकाशित अध्ययनले ‘श्वेत स्कटिश जनसङ्ख्यामा रक्तचाप थोरै तर महत्वपूर्ण वृद्धि भएको’ देखाएको तर ‘धेरै कुरा थाहा नभएको’ बताए ।
“पहिलो कुरा त जुन रक्तचाप वृद्धि भयो त्यो लामो समय रहन्छ कि रहँदैन भन्ने स्पष्ट छैन,” उनले भने ।
“दोस्रो कुरो पारासिटामोलका कारण वृद्धि भएको रक्तचापले मुटुसम्बन्धी समस्या बढाउन कारक हुन्छ वा हुँदैन भन्ने निश्चित छैन ।”
अमेरिकामा गरिएको एउटा ठूलो अध्ययनले पारासिटामोलको दीर्घकालीन प्रयोग र हृदयघातको जोखिमबीच सम्बन्ध रहेको पाए पनि त्यसकै कारण हृदयघात हुने कुरा प्रमाणित गर्न सकेको थिएन । अन्य साना अध्ययनहरूले पनि यो सम्बन्धलाई प्रमाणित गर्न सकेका छैनन् ।
एडिनबरा विश्वविद्यालयको टोलीले पारासिटामोलको प्रयोगले रक्तचाप कसरी बढ्छ भनेर पत्ता लगाउन नसकिएको तर अध्ययनले नियमित पारासिटामोल सेवनका बारेमा पुनर्विचार गर्नुपर्ने देखाएको बताएको छ । पारासिटामोललाई अन्य प्रकारका दुखाइ कम गर्ने औषधिभन्दा सुरक्षित ठानिन्छ ।
अध्ययनलाई सहायता गरेको ब्रिटिश हार्ट फाउन्डेसनले पारासिटामोल जस्ता सुरक्षित ठानिएका औषधिहरूको आवश्यकताबारे बिरामी र चिकित्सकहरूले बरोबर पुनर्विचार गर्नुपर्ने बताएको छ ।
स्ट्रोक एसोसियसनका डा. रिचर्ड फ्रान्सिसले ‘पारासिटामोलको जोखिम र फाइदा हेर्नका लागि लामो अवधिको स्वस्थ्य जनसङ्ख्यामा अध्ययन’ आवश्यक रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *