भर्खरै :

गठबन्धन : आक्रोश, राजीनामा र विद्रोही उम्मेदवार

गठबन्धन : आक्रोश, राजीनामा र विद्रोही उम्मेदवार

काठमाडौँ, २४ असोज । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आ–आफ्नो निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्तासँगै चुनावी चहलपहल सुरु भयो । उम्मेदवारी मनोनयनको पूर्वसन्ध्या र उम्मेदवारी मनोनयन दर्तासँगै प्रदेश सभा र प्रतिनिधि सभामा टिकट नपाएका नेता तथा कार्यकर्ताहरूले कालो झन्डा देखाई आफ्नै दलका नेताहरूको विरोध गर्न थाले । सीट नपाएकै झोकमा कतिले पार्टी नै छोडे त कति आक्रोसित बन्दै पार्टीको हिसाबकिताब गर्ने वाचा गरे ।
एमालेको स्थायी समिति सदस्य घनश्याम भुसालले आफू एमालेमा नरहेको घोषणा गरे । कतिले दलीय व्यवस्थामा सिद्धान्तको राजनीति गर्नुपर्छ भन्नेहरूलाई किनारा लगाउने पार्टीलाई मतदाताले किन भोट हाल्ने भनी आक्रोश पोखे । प्रतिनिधि सभातर्फ अछाम–१ को टिकट वितरणमा असन्तुष्टि व्यक्त गर्दै एमाले अछामका ३० जना जिल्ला समिति सदस्यले राजीनामा दिएको समाचार असोज २३ गते प्रकाशित गोरखापत्र दैनिकमा छापियो । प्रतिपक्षी र सत्ताधारी दलले निर्वाचनको लागि गरिएको गठबन्धनको कारण आफूहरू उम्मेदवारी हुन नपाएको भन्दै सिराहाका विभिन्न दलका युवाहरूले असन्तोष पोखे । असोज २३ गतेको कान्तिपुरमा ‘कमल थापा सूर्य चिह्नबाट लड्दै, घनश्याम भुसाल स्वतन्त्र’ शीर्षकको समाचार छापियो । सोही पत्रिकामा ‘विचारको प्रश्न उठाउँदा जहिल्यै अपमानित भएँ’ भन्ने समाचार पनि छापियो । सोही दिनको नागरिक दैनिकमा ‘अवसर नपाए स्वतन्त्र बार्गेनिङ’, ‘निर्णय नसच्चिए एमालेका मनोज मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने,’ पार्टी प्रवेशको डेढ महिनामै टिकट ¤’ शीर्षकको समाचार छापियो । यसरी टिकट वितरणसँगै सत्तासीन र ठूला दलका नेताहरूमा व्यापक असन्तुष्टि देखिएको छ ।
पद र पैसाको निम्ति राजनीति गर्ने दलहरूमा यसरी पार्टी छोड्ने, विद्रोही उम्मेदवारी दिने र असन्तोष पोख्ने काम स्वाभाविक हो । जसरी भए पनि जितेर पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउन चाहने नेताहरू पद नभएपछि छटपटिन्छन्, छटपटिएर के कस्तो निर्णयमा पुग्छन् भन्ने कुरा केही भन्न सकिँदैन । दलले सिद्धान्त र विचारको राजनीति गरेको भए यस्ता घटना धेरै नियन्त्रण हुन्थ्यो । दलका धेरै नेता तथा कार्यकर्ताहरू सचेत हुन्थे । यसबारे ठूला दलका शीर्ष नेताहरू गम्भीर बन्दैनन्, सोचेर काम गर्दैनन् । यो देशकै विडम्बनाको विषय हो ।
सत्तासीन दल या अरू दलको निम्ति गठबन्धन दलको अस्तित्व जोगाउन पनि जरुरी थियो । गठबन्धनमा नजुटे कति दलले तीन प्रतिशत पनि ल्याउन सक्दैन । त्यही कारण तिनीहरू जसरी भए पनि गठबन्धनमा लाग्छन्† लागिरहेका हुन् । सरकारमा नगइकन, सरकारको सेवा सुविधा नपाइकन तिनीहरूको राजनीति अघि नै बढ्दैन । पैसा र बलको भरमा चलेको राजनीतिक दलहरूको स्थिति यस्तै हुन्छ । दलका नेताहरूको मन स्थिर हुँदैन । शीर्ष दलका नेताहरू पनि
इमानदारीपूर्वक राजनीति गर्ने नेता तथा कार्यकर्ता छोडेर आफ्ना पक्षधर नेता तथा कार्यकर्ता खोज्छन्, तिनीहरूलाई टिकट दिन्छन् । त्यसकारण, दलमा असन्तोष बढ्छ । विवादको उचाइमा पुगेर अन्ततः दल नै फुटेको हुन्छ । नेकपाबाट माओवादी केन्द्र त्यसै फुटेको होइन । एमालेबाट एकीकृत समाजवादी त्यसै फुटेको होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *