भर्खरै :

भक्तपुर साकोसमा शिक्षा शिविर

भक्तपुर साकोसमा शिक्षा शिविर

भक्तपुर, ३ जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा संस्थाका शेयर सदस्यहरूलाई सहकारीका सिद्धान्त, नीति नियम र वित्तीय साक्षरताबारे सुसूचित गर्ने उद्देश्यले शिक्षा शिविर कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सहकारी बचत र ऋण कारोबार मात्र नभएर समुदायको आर्थिक र सामाजिक रूपान्तरणको बलियो माध्यम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वनियम र स्वायत्ततामा संस्थाको नीति र विनियममा सञ्चालित सहकारीहरूलाई वर्तमान समयमा सहकारीमा आएको समस्या समाधानका लागि सरकारले जारी गरेको निर्देशन तथा मापदण्डले सहकारी व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि मार्गनिर्देशन दिनुका साथै संस्था सञ्चालन गर्न चुनौती पनि रहेको अवस्था छ ।”
उहाँले सोही नियमानुसार संस्था सञ्चालन गर्न सहकारीको कार्य प्रणालीलाई नै परिमार्जन गरी सहकारी क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन संस्थाले आफ्नो वित्तीय कारोबारहरू पारदर्शी राख्नुपर्ने, सदस्यहरूको बचतको सुरक्षा गर्दै सही नीति र विधिमा संस्था चलाउनुपर्ने, जथाभावी लगानी नगरी संस्थागत सुशासन कायम राख्नु सहकारीको मुख्य जिम्मेवारी हुने बताउनुभयो ।
कार्यक्रमका सभापति, संस्थाका उपाध्यक्ष तथा शिक्षा उपसमितिका संयोजक लक्ष्मीप्रसाद कुसीले धेरैजसो सहकारीहरू सङ्कटमा पर्नुको मुख्य कारण संस्थाले बनाएको विनियम, आन्तरिक कार्यविधि र सहकारी ऐन नियमहरूलाई बेवास्ता गरी व्यक्तिगत स्वार्थ वा सञ्चालकहरूको मनोमानी ढङ्गले संस्था सञ्चालन गर्नु प्रमुख कारण रहेको बताउनुभयो ।
समुदायमा आधारित सहकारी संस्थाले सदैव सदस्यहरूको हितको लागि कार्य गर्ने, उचित प्रतिफल प्रदान गर्ने, सदस्यहरूलाई वित्तीय साक्षर बनाउने, सदस्यलाई आत्मनिर्भर बनाउन विभिन्न किसिममा तालिमहरू निरन्तर गर्दै जाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
संस्थाका व्यवस्थापक सत्यनारायण साँयजूले संस्थाको वित्तीय अवस्था र हाल सञ्चालन गर्दै आएका विभिन्न गतिविधिहरूबारे विस्तृत जानकारी गराउनुभयो । शिक्षा उपसमितिका सदस्य रामदेवी मानन्धरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षा उपसमितिका अर्का सदस्य हरिराम कुसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *