भर्खरै :

देश जोगाउन र बनाउन युवा तयार हुनुपर्ने

देश जोगाउन र बनाउन युवा तयार हुनुपर्ने

किशोर किशोरी र युवाहरूमा देशभक्ति तथा देश र जनताको सेवा गर्नुपर्छ भन्ने भावना जगाउन कम्युनिस्ट पार्टीको शिक्षा दिनु आवश्यक छ । देशमा आमूल परिवर्तनको निम्ति युवाहरूमा सङ्घर्षशील भावना जगाउनुपर्छ । उनीहरूमा राजनीतिक चेत आवश्यक छ । राजनीतिक चेतको कमीले युवाहरू गलत बाटोमा जान सक्छन् । देश बनाउन लाग्नुपर्ने युवाहरू देश जलाउन र जनता भड्काउन लागेमा देशमा गतिरोध उत्पन्न हुन्छ । यसकारण, हरेक राजनीतिक दलले आफ्ना नेता तथा कार्यकर्तालाई सिद्धान्तनिष्ठ बनाउन, इमानदारीपूर्वक राजनीति गर्न अभिप्रेरित गर्नुपर्छ । व्यक्तिगत स्वार्थ राखेर पार्टीमा लागेका लोभी पापीहरू आफ्नो स्वार्थ पूरा भएपछि पलायन हुन्छन् । व्यक्तिगत स्वार्थ पूरा गर्नको निम्ति पार्टीमा लाग्ने र स्वार्थ पूरा भएपछि पार्टी छाड्ने अवसरवादीहरूदेखि सचेत हुनुपर्छ । वर्गशत्रुसँग झुक्न अवसरवादको बाटोमा फसेका र फस्न लागेका कार्यकर्ताहरूदेखि चनाखो हुनुपर्छ ।
घरको सुख सुविधा छोडेर जनताको सेवा गर्न नचाहने, अनुशासनमा नबस्ने, व्यक्तिगत इच्छा र हितलाई प्राथमिकता दिने, पार्टीको विरोध गरेर सन्तोषको सास फेर्ने, कार्यकर्ता तथा शुभचिन्तकहरू पनि समाजमा हुन्छन् । सिद्धान्त र अडान नभएका पद र पैसामा बिक्नेहरू सिद्धान्तनिष्ठ कार्यकर्ता होइनन् । दलले आफ्नो कर्तव्य या जिम्मेवारी पूरा नगरेकै कारण या देश जोगाउन र बनाउने युवा तयार गर्न सरकार चुकेकै कारण देशमा बेथिति बढेको हो, अन्योल छाएको हो । जेठ ३ गते प्रकाशित नेपाल समाचारपत्रमा ‘९ करोडभन्दा बढीका औषधि म्याद गुज्रेर नष्ट : स्वास्थ्य निकायको लापरबाहीले राज्यलाई ठुलो क्षति’ शीर्षकको समाचार छापियो । सोही पत्रिकामा छापिएको ‘सुध्रिएन शिक्षा मन्त्रालय, बेथितिका चाङैचाङ’ शीर्षकको समाचारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा नगरेको थाहा हुन्छ । गोरखापत्रमा लेखियो, ‘सिंहदरबारकै जग्गा अतिक्रमण ।’ कान्तिपुरमा लेखियो, ‘सरकारको निर्णयमा अदालतको रोक : प्रक्रियामा त्रुटि कि न्यायिक सक्रियता ?’
खोलानाला, नदी र सडक किनारको जग्गामात्र होइन सिंहदरबारको जग्गासमेत मिचिएको खबर सरकारी पत्रिका गोरखापत्रले छाप्यो । स्वास्थ्य निकायको बेवास्ता या लापरबाहीको कारण करोडौँ रूपैयाँ बराबरको औषधि तथा औषधिजन्य सामग्री नष्ट भएको खबरले देशको रकम खेर गइरहेको अनुभूति हुन्छ । एकातिर सरकारले निर्णय गर्दै जाने अर्काेतिर अदालतले रोक्दै जाने प्रक्रियाले सरकार सही ठाउँमा नभएको या सरकारको निर्णय हचुवा ढङ्गले भएको जनाउँछ । राजनीतिक दलका नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरू सिद्धान्तनिष्ठ नहुँदा, विचारमा अडान नहुँदा विश्रृङ्खलित हुन्छन् । सरकारले हरेक काम विचार पु¥याएर गर्नुपर्छ । सैद्धान्तिक अस्पष्टता, निःस्वार्थ र इमानदारीपूर्वक देश र जनताको सेवा गर्नुको सट्टा व्यक्तिगत स्वार्थ पूरा गर्न पार्टी र सरकारलाई उपयोग गर्ने, पुँजीवादी र अवसरवादी विचारकै कारण उनीहरू संशोधनवाद, अवसरवाद, सुधारवादको दलदलमा फसेका हुन् ।
सामान्यतया कम्युनिस्ट सिद्धान्त बुझेका र कामदारवर्गको सेवा गर्ने भावनाबाट प्रेरित व्यक्तिहरू पार्टीमा पछिसम्म जुटेका हुन्छन् । सिद्धान्तच्युत र विश्वासघाती नेता तथा कार्यकर्ताहरू लामो समयसम्म पार्टीमा टिक्दैनन् । उनीहरूको भर हुँदैन । विगतमा शासक दलका नेता, मन्त्री र सांसदहरूले जनतालाई राहत हुने खालका काम गर्न सकेनन् । परिणामतः शासक दलका नेताहरू जनतामाझ उदाङ्गिए । धेरै भएपछि अन्न पनि विष हुन्छ भनेझैँ उनीहरूको मनपरीतन्त्र, देशविरोधी र जनविरोधी गलत निर्णयकै कारण शासकहरूको बदनाम भयो र गत फागुन २१ गतेको संसद्को निर्वाचनमा ठुला दलले हार व्यहोर्नुप¥यो । सैद्धान्तिक ज्ञान र राजनीतिक संस्कृतिमा कमजोर मानिसहरू पार्टीमा नटिकेको देखिन्छ । समाजमा देश र जनताको सेवा गर्ने कार्यकर्ताहरू बढी हुन्छन् । तर, उनीहरूलाई हर क्षेत्र र हर प्रयासबाट दुःख दिइएको हुन्छ† निरास पार्ने कुत्सित प्रयास गरिएको हुन्छ । कार्यकर्ता भाँड्ने, भाँड्न षड्यन्त्र गर्ने, निहुँ खोज्ने, देशको वास्ता नगर्ने, परिवारका सदस्यहरूको मात्र स्वार्थ हेर्ने नेता तथा कार्यकर्ताहरू सङ्कीर्ण विचारका हुन्छन् । उनीहरू गहन अध्ययन गर्दैनन्; हचुवाको भरमा सतही टिप्पणी गर्छन् । यस्तै यस्तै प्रवृतिको विकासले देशमा मनोमानी बढेको हो । यसले देश बन्दैन; देश बनाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *