भर्खरै :

रेबिज : ओझेलमा परेको प्राणघातक रोग

आज सेप्टेम्बर २८ विश्व रेबिज दिवस । ‘एक स्वास्थ्यको कार्यान्वयन ः रेबिजबाट शून्य निधन’ भन्ने नाराका साथ विश्वभर रेबिज दिवस मनाइँदै छ । रेबिज प्राणघातक रोगको रूपमा चिनिन्छ । एकपटक रेबिजको लक्षण देखिएपछि यो रोगबाट मृत्यु निश्चित छ । मृत्यु निश्चित भए पनि खोपद्वारा यो रोगको पूर्णरूपमा रोकथाम गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा विश्वभरमा कुकुरको टोकाइबाट हुने रेबिजको मृत्युलाई शून्यमा झर्ने लक्ष्य लिएको छ । यो भनिरहँदा केही वर्षअगाडिको समाचार याद आयो सिराहाको भगवान गाउँपालिका वडा नम्बर ०३ मा १३ वर्षीय किशोरको कुकुरले टोकेको केही दिनपछि ज्यान गयो । उनले रबिजको खोप लगाएका थिए तर पनि ज्यान बचेन आखिर मृत्युको मुखमा पुग्नुपर्यो । के हो रेबिज ? कसरी बच्ने ?

रेबिजको परिचय
रबिज लिसा भाइरस नामक भाइरसको कारणले हुने स्नायु प्रणालीमा असर गर्ने रोग हो । यो रोग सङ्क्रमित कुकुर, बिरालो, बाँदर, चमेरो र अन्य जङ्गली जनावरको टोकाइबाट हुने गर्छ । नेपालमा रेबिज सङ्क्रमणको मुख्य कारण कुकुरको टोकाइलाई मानिन्छ । सङ्क्रमित जनावरको ¥यालमा भाइरस हुने गर्छ र त्यो भाइरस जनावरको टोकाइबाट शरीरमा प्रवेश गर्छ । सामान्यतया सङ्क्रमित जनावरले टोकेको ३ देखि ८ हप्तासम्ममा यो रोगको लक्षण देखिने गर्छ । यो रोगको लक्षण २ खालका हुन्छन् । ८० प्रतिशतमा पानीदेखि डराउने, आतिने हुन्छ भने २० प्रतिशत रोगीमा क्रमशः प्यारालाइसिस् हुने, अचेत वा अर्धचेत हुने लक्षण देखिन्छ । एक पटक लक्षण देखिएपछि यो रोगबाट बच्न गाह्रो वा असम्भवजस्तै छ । यो रोग मानिसबाट मानिसमा भने सरेको पाइएको छैन । नेपालमा चमेराबाट रेबिज सरेको प्रमाण पनि हालसम्म छैन ।

नेपालमा रेबिजको अवस्था
नेपालमा बर्सेनिं लगभग १०० जनाभन्दा बढी मानिसलाई यो रोग लाग्ने गरेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा ५९ हजार ४१४ जना बिरामी जनावरको टोकाइका कारण स्वास्थ्य सेवा लिन आएको पाइन्छ । जसमध्ये ५४ हजार ९९६ जना कुकुरको टोकाइका थिए । रेबिजको कारणले हुने मृत्युको सङ्ख्या गत वर्षभन्दा यो वर्ष ४ गुणाले बढेको स्वास्थ्य सेवा विभागको प्रतिवेदनले बताएको छ । (स्रोत ः स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन २०७७÷७८) । आर्थिक वर्ष २०७५ ÷७६ मा १८ जनाको यो रोगको कारण मृत्यु भएको तथ्याङ्क थियो । तर, यो यकिन तथ्याङ्क भने होइन । कति मानिस रोग लागे पनि स्वास्थ्य संस्था नजाने र स्वास्थ्य संस्थामा गए पनि उपचार नहुने अवस्थाका कारण घरमै फिर्ता हुने र घरको मृत्युको तथ्याङ्क स्वास्थ्य सेवाको गणनामा आउन नसक्ने हुँदा मृत्युको गणना यकिन हुन नसकेको पाइन्छ । तथ्याङ्क हेर्दा थोरै भए पनि पूर्णरूपमा रोकथाम गर्न सकिने रोगबाट यति मृत्यु हुनु भनेको धेरै नै मान्नुपर्छ ।

बच्ने उपाय
रेबिजबाट बच्ने प्रमुख उपाय जनावरले टोकेपछि गर्नुपर्ने घाउको उचित सफाइ र खोप नै हो । जनावरले टोकी हालेमा, टोकेर हुने घाउलाई १५ मिनेटसम्म साबुन पानीले धुनु ÷पखाल्नु पर्छ । यसरी धुँदा जनावरको ¥याल राम्रोसँग पखालिन्छ र भाइरसको मात्र पनि धेरै हुन पाउँदैन । अर्को उपाय भनेको खोप हो । रेबिजबाट बच्नको लागि २ खालको खोपको व्यवस्था छ । एउटा जनावरको टोकाइहुनुभन्दा पहिले लगाउने खोप । यो खोप जनावरको सम्पर्कमा आउनुपर्ने व्यक्तिले (जस्तै चिडियाखानामा कम गर्ने, वन्यजन्तुसम्बन्धी काम गर्ने, भेटेरिनरी डाक्टर आदि) लगाउने गर्छन् । अर्को भनेको जनावरले टोकिसकेपछि लगाउने खोप । यो खोप जनावरले टोकिसकेपछि सक्दो छिटो लगाउनुपर्छ । यदि घाउ धेरै ठूलो छ, धेरै गहिरो छ, घाँटीभन्दा माथि टोकेको छ, औँलाको टुप्पोमा टोकेको छ भने रेबिजविरुद्धको खोपसँगै घाउ नजिकै इम्युनोग्लोबुलिन नामक विशेष खोप पनि लगाउनुपर्छ । तर, रेबिजविरुद्धको खोप सुरु गरेको ७ दिन कटिसकेको अवस्थामा इम्युनोग्लोबुलिन लगाइँदैन । यसरी लगाइने खोपको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर स्वास्थ्यकर्मीको सल्लाहबमोजिम खोप लगाउनुपर्छ ।

के खोपले काम नगर्ने हुन्छ ?
यदि लक्षण देखिइसकेको अवस्था भए खोपले काम गर्दैन । घाउ ठूलो र गहिरो छ भने र ईम्युनोग्लोबुलिन लगाउन सकिएन भने खोपले मात्र सुरक्षा दिन नसक्ने हुन्छ । खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने हुन्छ । यदि सोही तापक्रममा भण्डारण गर्न नसके खोपको क्षमता घट्छ । खोपलाई घोलेको ६ घण्टाभित्रमा लगाइसक्नुपर्छ र खोपको गुणस्तर राम्रो हुनुपर्छ ।

रेबिजको रोकथाम
रेबिज मानव स्वास्थ्यसँगसँगै पशु स्वास्थ्यसँग पनि जोडिएको विषय हो । रेविजको रोकथामको लागि केन्द्रदेखि स्थानीय तहसम्म मानव र पशु स्वास्थ्यमा दुवैमा काम गर्ने सरकारी, गैरसरकारी निकाय एवं जनशक्तिबीचको समन्वय र साझेदारी हुन जरुरी छ । योसँगै सबै माझ खोपको सर्वसुलभ पहुँच, बेवारिसे कुकुरहरूको उचित व्यवस्थापन र खोप, घरपालुवा जनावरलाई खोप सेवा र आम जनमानसमा रेबिजसम्बन्धी पर्याप्त मात्रामा जनचेतना भएमात्र यसको सही रोकथाम गर्न सकिन्छ । सही रोकथामबाट नै २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजबाटको मृत्युलाई शून्यमा झर्ने लक्ष्य प्राप्ति सम्भव छ ।
(लेखक जनस्वास्थ्यकर्मी हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *