भर्खरै :

आमालाई उपचार गर्न समयमै अस्पताल नलगेको भए

आमालाई उपचार गर्न समयमै अस्पताल नलगेको भए

मिति : २०७९–०६–२२
आदरणीय दाइ,
नमस्कार !
दशमी भर्खर सकिएको छ । धेरै वर्षपछि तपाईँलाई सम्झँदै यो चिठी लेख्दै छु । तपाईँ कतारमा दसौँ वर्ष बसिसक्नुभएको छ । हाल कतारमा कमाइ कम भयो भनी क्यानाडामा बसाइँ सरेको पाँच छ वर्ष भइसकेको छ । तपाईँ र भाउजू अनि छोराको सु–स्वास्थ्यको कामना व्यक्त गर्न चाहन्छु ।
आदरणीय दाइ, म कक्षा नौ दसमा पढ्दाखेरि तपाईँले अनिवार्य गणित विषयको ट्युसन पढाउनुभएको सम्झना छ । त्यत्तिबेला तपाईँले आफ्नो सानो र अँध्यारो कोठामा मायाले मलाई वर्षौँसम्म ट्युसन पढाउनुभएको थियो । तपाईँले मलाई गणितबाहेक अङ्ग्रेजी, विज्ञान तथा इच्छाधीन गणितको गृहकार्य गर्न पनि सिकाउनुभएको थियो । त्यसबेला तपाईँ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियर अध्ययन गरिरहनुभएको थियो । तपाईँले एसएलसी परीक्षामा भक्तपुर जिल्लामै दोस्रो स्थान हासिल गर्नुभएको थियो । त्यसबेला तपाईँको परिवार र टोलवासीहरू पनि धेरै खुसी देखिन्थे । तपाईँले कहिलेकाहीँ राजनीतिक कक्षाहरू लिनुभएको पनि मलाई याद छ । सायद त्यसबेला तपाईँ विद्यार्थी सङ्घमा काम गर्नुहुन्थ्यो ।
राजनीति भनेको देश र जनताको सेवाको निम्ति हुनुपर्दछ । हामीले उच्च शिक्षा हासिल गरेर जनतालाई राजनीतिकरूपमा सचेत पार्नुपर्दछ । त्यसको लागि हामी राजनीतिक गतिविधिमा लाग्नुपर्दछ । हामीले कुनै न कुनै विषयमा उच्च शिक्षा हासिल गरेर देशमै बसी देश र जनताको सेवा गर्नुपर्दछ । हामीले हासिल गरेको ज्ञान विदेशीको लागि नभई नेपाली जनताको निम्ति हुनपर्दछ भनी तपाईँले राजनीतिक कक्षामा भन्नुभएको कुरा आजसम्म याद छ । आज मैले तपाईँले दिनुभएको शिक्षाअनुसार नै राजनीतिक कार्यकर्ता भई देश र जनताको सेवामा कार्य गरिरहेको छु । तर, तपाईँले कतार र क्यानाडामा बसेर विदेशीहरूको सेवा गरिरहनुभएको छ । तपाईँले दिनुभएको शिक्षा कहाँ गयो ? हामीले हासिल गरेको ज्ञान विदेशीको दास बन्न हो दाइ ? देश र जनताको सेवा भनेको विदेशीको दास भएर सेवा गर्ने होइन । आर्थिक लाभमात्र हुने भए यो धर्ती माता पनि फरक–फरक हुने भयो है ? आज म आफैसँग सोधिरहेको छु कि एक सक्षम, योग्य अनि एक राजनीतिक कार्यकर्ता भएर हिँड्ने मेरो दाइ पैसाको लागि विदेशीको दास बन्न बाध्य हुनुभएको छ ।
तपाईँ कतारमै बस्दा धेरै आर्थिक उपार्जन गरिसकेको खबर सुनेको थिएँ । नेपालमै पनि हाइवेमा धेरै जग्गा जोड्नुभएको छ रे । घर पनि बनाउँदै हुनुहुन्छ रे । अहिले क्यानाडामा पनि घर बनाइसक्नुभएको मैले फेसबुकमा तपाईँले पोस्ट गर्नुभएको फोटो हेरेर थाहा पाएँ । तपाईँ चढ्ने गरेको चिल्ला गाडी पनि देखँे । समय–समयमा ती चिल्ला गाडीहरू चढेर फरक–फरक ठाउँमा घुम्न गएका फोटोहरू पनि मैले फेसबुकमा देखेँ । भाउजू र छोराका साथमा घुमिरहेको देख्दा मन नै कति आनन्द हुन्छ । तपाईँको लोभ्याउने घर, गाडी, अफिस अनि तपाईँको आधुनिक जीवनशैलीले हाम्रो मन पनि नलोभ्याइकन कहाँ बस्न सक्छ र ? तर, अर्को मनले मलाई यस्तो जीवनशैलीसँग वितृष्णा लाग्दछ । यता तपाईँको ८६ वर्षको आमा अस्ति राति शौचालय जाने क्रममा लड्दा झनै प्राण जान लागेको थियो । त्यसभन्दा अगाडि शौचालयमा चिप्लिदाँ बेहोस हुनुभएको थियो । छिमेकीहरूले समयमै चाल पाएर ख्वप अस्पताल लगेर बचाउनुभयो ।
तपाईँले जोडेको जग्गा, घर र पैसाले तपाईँको आमाको उपचार खर्च त पक्कै मिल्यो होला । तर, आमालाई उपचार गर्न समयमै अस्पताल नलगेको भए त्यत्तिखेर नै प्राण जाने थियो । तपाईँको पैसा र जग्गाले आमालाई कसरी बचाउन सक्छ ? तपाईँको वृद्ध आमा तपाईँको पर्खाइमा सधँै झ्यालमा बसी हेरिरहनुहुन्छ । समय–समयमा तपाईँको बारेमा सोधिरहनुहुन्छ । तपाईँको बुबा बिहान खातमै बित्नुभयो । कसैले थाहा नै पाउन सकेनन् । हामी दाजुभाइ र टोलवासी मिलेर घाटमा पु¥याएपछि मात्र तपाईँका दिदीबहिनीहरू आइपुग्नुभयो । तपाईँ त बुबाको अन्तिम संस्कारमा समेत आउनुभएन । दिदीबहिनीहरूले अन्तिम समयमा पनि बुबाको मुख हेर्न पाएनन् । हामीलाई जन्माउने आमाबुबाप्रति हाम्रा केही कर्तव्य रहँदैन र ? आर्थिक लाभमात्र हुने भए बुबाआमाको पनि केही महत्व नरहने भयो र ? तपाईँकी श्रीमती र छोराले भोलि तपाईँलाई नि यस्तो व्यवहार गरे भने तपाईँ सहजरूपमा लिन सक्नुहुन्छ ? सायद तपाईँ अहिले सक्षम हुनुहुन्छ । जीवनमा यस्तो अवस्था आउँदैन होला भन्ने अनुमान गर्दै हुनुहुन्छ भन्ने तपाईँ भ्रममा हुनुहुन्छ । बाजेलाई फाल्न लग्ने डोकोको कथा त हामीले स्कूलमा पढेका थियौँ । यस्तो कथा हाम्रो जीवनमा नदोहोरियोस् ।
तपाईँ विदेश गएदेखि हामीबीच सायदै भेट भएको छैन । नेपाल आउँदा भोजहरूमा कहिलेकाहीँ भेट भएको जस्तो लाग्दछ । तर, म पनि हामीबीच पहिलेजस्तो गहिरिएर छलफल भएन । सायद छलफल गर्न उचित वातावरण पनि भएन । तिमीले पनि त्यस्तो उचित सम्झने होला । मैले उचित ठानिनँ । तपाईँले विदेशमा आफ्नै घर बनाउँदै गरेको, छोरा छोरीहरूलाई राम्रो स्कूलमा हालेको, नेपालमा पनि धेरै जग्गा र घर जोडिसकेका खबरहरू समय–समयमा सुनिरहन्छु । तपाईँले आर्थिकरूपमा प्रगति गरेको खबर सुन्दा एक किसिमले मलाई आनन्द नै लाग्यो । तर, अर्को मनले तिमीले हिजो देश र जनताको सेवामा समर्पित हुने भनी तपाईँले दिनुभएका उपदेशहरू परालको आगोझैँ निभेको देख्दा दुःख पनि लाग्दछ । देशको एकजना होनहार युवा, एक शिक्षित राजनीतिक कार्यकर्ता आज नेपाल र नेपाली जनताको लागि आफ्नो बुद्धि, विवेक र क्षमता प्रयोग गर्नुपर्नेमा विदेशीहरूको सेवा गरिरहेको देख्दा हाँसो उठ्छ । एक उच्च शिक्षा प्राप्त राजनीतिक कार्यकर्ता भई देश र जनताको सेवामा लाग्नुपर्ने मान्छे आज आर्थिक लोभले विदेशीको दास बनेर जीवन बिताइरहेको देख्दा मनमा पीडा हुन्छ । के सबैथोक नै पैसामात्र हो त ? के तपाईँको सीप र क्षमता देशको लागि प्रयोग गर्दा तपाईँले विदेशमा कमाएको पैसा यहाँ पनि कमाउन नसकिने हो र ? सबै नेपाली तपाईँजस्तै विदेशीको दास बन्न गयो भने देश कसले चलाउँछ ? तपाईँको सीप र क्षमता के तपाईँको परिवारलाई सुख सयल दिनमात्र हो त ? यो देश, यो समाज, तपाईँको परिवारले अनि हाम्रो पार्टीले तपाईँलाई यति सक्षम बनाउन गरेको लगानी विदेशीको सेवा गर्न हो त ? विदेशमा घर, चिल्ला गाडी र नेपालमा जग्गा जमिन भएपछि मात्र जीवन सफल हुने हो त ? विगतका ट्युसन कक्षाहरूमा तपाईँले भन्ने गरेका उपदेशहरू कहाँ गयो ? तपाईँलाई यति धेरै पढाउन र सक्षम बनाउन तिम्रो दाइ र आमाबुबाले धेरै मेहेनत र लगानी गर्नुभएको छ । आज ती लगानी र मेहनत तपाईँ एक जनाको खुसी जीवनको लागि मात्र हो ? देशको निम्ति महत्वपूर्ण योगदान गर्नसक्ने तपाईँजस्तो मान्छेले विदेशीको सेवामा बिताएपछि नयाँ पुस्ताले के सिक्ने ? यो देशमा महिला, वृद्धा, बालबच्चामात्र भएपछि देश कसरी उँभो लाग्दछ ? तपाईँ एकजना सचेत र बुद्धिमान हुनुहुन्छ । तपाईँ यो देशको लागि महत्वपूर्ण योगदान दिन सक्नुहुन्छ । नेपाल र नेपालीको निम्ति बाँच्ने हो भने नेपालमै बस्नुपर्दछ । एक राजनीतिक कार्यकर्ता भएर यही देशमा काम गर्न सकिन्छ र आर्थिक उपार्जन गर्न सकिन्छ । त्यसैले तपाईँले ढिलै भए पनि सही निर्णय लिने आशा गर्दछु ।
तपाईँको आज्ञाकारी भाइ

कुशल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *