भर्खरै :

देश जोगाउन असल जनप्रतिनिधिहरूको खाँचो

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन जनताको असल प्रतिनिधि छान्ने एउटा माध्यम हो । निर्वाचनमा जनताले जनताका असल प्रतिनिधि छान्नुपर्छ । जनताले असल प्रतिनिधि छानेनन् भने देश विकास हुनेछैन र जनताले दुःख पाउनेछन् । निर्वाचन मत हाल्न पाउने प्रजातान्त्रिक अधिकारमात्र होइन, असल प्रतिनिधि जिताउनु पनि हो । नेपाली जनताले असल प्रतिनिधि जिताएनन् भने या खराब आचरणका उम्मेदवारहरू जिते भने सरकार गलत बाटोमा लाग्छ, हाम्रो सानो कमजोरी या बेवास्ताको कारण भोलि नेपाल रहला कि नरहला भन्ने स्थितिमा पुग्छ ।
पद र भागबन्डाको निम्ति भएको राजनीतिले स्थिर सरकार दिन सक्दैन । यसले विकासको गतिमा बाधा पु¥याउँछ । जनताका असल प्रतिनिधि चयन भएन भने सरकारले देशघाती र जनविरोधी ऐन कानुन बनाए पनि संसद्मा विरोध गर्ने दल र दलका प्रतिनिधि हुने छैनन् । विदेशी थिचोमिचो, सीमा अतिक्रमण भए पनि संसद्भित्र सङ्घर्ष गर्ने सांसदहरू हुने छैनन् । बहुमत जनताको हितमा ऐन कानुन बनाउनको निम्ति आवाज उठाउने सांसद हुने छैनन् ।
सत्तारूढ दलहरूले संविधान बचाउनको लागि गठबन्धन गरेको फुक्दै छन् । के उनीहरूको गठबन्धन भएन भने देशको संविधानै हुँदैन ? गठबन्धन सरकारले त संविधानको पनि पालना गरेन । शेरबहादुर देउवाको नेतृत्वमा बनेको यो सरकारले देशलाई बन्धक बनाउने काम गर्न थाल्यो, देशलाई सधैँ परनिर्भर बनाउने षड्यन्त्र रच्यो र देशघाती एमसीसी सम्झौता पारित ग¥यो । देशको असंलग्न परराष्ट्र नीतिविपरीत रूस–युक्रेन युद्धमा युक्रेनको पक्षमा नेपाल सरकारले मतदान ग¥यो । मन्त्रीहरू अनेक भ्रष्टाचार काण्डमा मुछे ।
जनताले सांसदहरूलाई राम्रो ऐन कानुन बनाउन जिताउने हुन् । देश र जनताको सेवा गराउन जनताले निर्वाचित गर्ने हुन् । विडम्बना ¤ देश र जनताको सेवा गराउन निर्वाचित सांसदहरू अनेक भ्रष्टाचार काण्डमा फस्छन् । राजनैतिक र वैचारिकरूपले जनता सचेत नहुँदा, सांस्कृतिक स्तर नहुँदा, सामन्त, पुँजीपति र प्रतिक्रियावादीहरूको जालझेल थाहा नपाउँदा गलत उम्मेदवारहरू जित्छन् । जसरी सरकारको कमजोरीको कारण विस्तारवादी र साम्राज्यवादी देशका शासकहरूले फाइदा लिइरहेका छन्, त्यसरी नै सर्वसाधारण जनताको कमजोरीको कारण देशका शासकहरूले फाइदा लिइरहेका छन् । यसकारण, अबको निर्वाचनमा जनताले असल प्रतिनिधिहरूलाई मतदान गर्नुपर्छ र जिताउनुपर्छ । देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने, लोभलालचमा नफस्ने, शत्रुको अगाडि नझुक्ने उम्मेदवारहरूलाई हामीले जिताउनुपर्छ । संसद् र प्रदेश सभामा देश र जनताको सेवा गर्ने प्रतिनिधिहरूको अभावकै कारण देशघाती सम्झौता र नागरिकता विधेयक पारित भयो । देशलाई जोगाउन, सुख, समृद्धको देश बनाउन असल जनप्रतिनिधिहरूको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *