भर्खरै :

चुनाव एक राजनीतिक र वर्गीय सङ्घर्ष

चुनाव एक राजनीतिक र वर्गीय सङ्घर्ष

कञ्चनपुर । नेपाल मजदुर किसान पार्टी कञ्चनपुरको प्रथम जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा महेन्द्रनगरमा एक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा मङ्सिर ४ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरू सहभागी हुनुहुन्थ्यो ।
प्रशिक्षण कार्यक्रममा नेमकिपा सुदूरपश्चिम प्रदेश समितिका संयोजक नवराज कोइरालाले नेपाल मजदुर किसान पार्टी स्थापनाको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।
उहाँले पार्टीको नीति तथा कार्यक्रमबारे प्रस्ट्याउँदै पञ्चायतको क्रान्तिकारी उपयोग एक महत्वपूर्ण कदम रहेको चर्चा गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, “चुनावबाट समाजवाद आउँदैन । यद्यपि, चुनाव एक राजनैतिक र वर्गीय सङ्घर्ष हो ।”
संयोजक कोइरालाले पार्टीले हालैका दिनहरूमा पुँजीवादी संसद्को क्रान्तिकारी उपयोग गरिरहेको चर्चा गर्दै क्रान्तिकारी संसद्वाद, बिप्पा सम्झौता, एमसीसी सम्झौताको अनुमोदन, एसपीपी र देशघाती नागरिकता विधेयक लगायतका विषयमा प्रस्ट्याउनुभयो ।
कार्यक्रममा नेमकिपा कञ्चनपुर प्रथम जिल्ला सम्मेलन तयारी समितिका सदस्य एवम् अधिवक्ता सुरेन्द्रराज भट्टले कञ्चनपुर जिल्लामा साङ्गठनिक विकास र विस्तारको लागि पार्टी गतिविधिमा निरन्तरताको खाँचो रहेको औँल्याउनुभयो ।
कार्यक्रमका सभापति एवम् कञ्चनपुर प्रथम जिल्ला सम्मेलन तयारी समितिका संयोजक दलबहादुर बोहराले जनवर्गीय सङ्गठनका गतिविधिहरूको खाँचो औँल्याउनुभयो ।
पार्टीले कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रचारप्रसारलाई तिव्रता दिएको छ ।
पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं. १ बाट नन्दादेवी जोशी, क्षेत्र नं. २ बाट सीताराम राना र क्षेत्र नं. ३ बाट जानकीदेवी गिरीलाई उम्मेदवार उठाएको छ । त्यसैगरी प्रदेशसभा सदस्यतर्फ क्षेत्र नं. १ (क) मा भागरथीदेवी रावल र (ख) मा हर्कबहादुर क्षेत्री, क्षेत्र नं. २ (क) मा भरत रावल र (ख) मा सञ्जीसिं राना एवम् क्षेत्र नं. ३ को (क) मा सुरेन्द्र दमाइ र (ख) मा लक्ष्मण रोकायाले उम्मेदवारी दिनुभएको थियो । साथै, समानुपातिक उम्मेदवारतर्फ नेमकिपाले हिरादेवी बोहरा, राधिका भट्ट र गायत्री लोहारलाई उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *