भर्खरै :

सी.एन.बी.एम. प्रविधिबाट उत्पादित कम्पोस्ट मलको प्रयोगबारे कृषकहरूलाई अभिमुखीकरण

भक्तपुर, ३१ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपाबाट सी.एन.बी.एम. प्रविधिबाट उत्पादित कम्पोष्ट मल प्रयोगबारे सोमबार भक्तपुर नगरपालिकाभित्रका कृषकहरूलाई अभिप्रेरित गर्ने उद्देश्यले कृषकहरूको भेला भयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले स्वच्छ र सफा वातावरणमा बस्ने सबै नागरिकको आवश्यकता र चाहना भएको बताउँदै भक्तपुर नपाले यहाँका जनतालाई सभ्य, सुसंस्कृत र स्वस्थ बनाउन नगरको सरसफाइलाई विशेष प्राथमिकता दिएर अगाडि बढिरहेको बताउनुभयो ।
फोहोर व्यवस्थापन संसारकै निम्ति चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा भक्तपुर नपाले फोहोरबाट मल उत्पादन गरी यहाँका किसानहरूलाई सहुलियत प्रदान गर्दै आएको बताउँदै उहाँले भक्तपुरलाई सफा नगर बनाउने अभियानमा निरन्तर लागिपरेको बताउनुभयो ।
भक्तपुर नपाले कुहिने फोहरबाट कम्पोष्ट मल निर्माण गरी प्रतिकेजी २० रूपैयाँमा किसानहरूलाई कम्पोष्ट मल बिक्री गर्दै आएको उपप्रमुख जोशीले बताउनुभयो ।
जनतालाई दण्ड जरिवानाभन्दा सचेतनालाई नै नगरपालिकाले जोड दिँदै आएको बताउँदै उहाँले कुहिने र नकुहिने फोहर सङ्कलन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्वले मौलिक प्रविधिसँग मिल्दोजुल्दो जापानीज प्रविधिबाट भक्तपुर नपाले फोहोरबाट मल बनाउने कार्य गर्दै आएको बताउँदै फोहोर व्यवस्थापन राम्रोसँग गर्न सके धेरै समस्याहरू आफै समाधान हुँदै जाने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले भक्तपुर नपाले फोहारबाट निकालेको मल यहाँको किसानलाई मात्र नभई बहुमत जनताको समस्या समाधान गर्ने उद्देश्यले अगाडि सारेको बताउँदै नपाले गरेको काम जनताको हिमा लक्षित छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष एवम् कृषि समितिका संयोजक राजकृष्ण गोराले पनि बोल्नुभएको उक्त कार्यक्रममा रिकिसी कम्पोष्ट प्रा.लि.का प्रबन्ध निर्देशक उषा गिरी, ख्वप कलेज वातावरण विज्ञानका विद्यार्थीद्वय रमिता तमखू र नसला सुवाल, वडा सदस्य इन्द्रबहादुर प्याठ र श्यानिटेसन शाखा प्रमुख दिलिपकुमार सुवालले सी.एन.बी.एम. प्रविधिबाट उत्पादन गरिएको मल बनाउने प्रविधि, यसको फाइदा र प्रयोगबारे अवगत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *