भर्खरै :

प्रतिक्रियावादीहरूको जालझेलबाट जनतालाई जोगाउनुपर्ने

भक्तपुर, १ कार्तिक । “निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारोमिटर भएको र क्रान्तिलाई जति छेक्न चाहे पनि सधैँ छेक्न सकिँदैन ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टीको भक्तपुर जिल्ला अगुवा कार्यकर्ताहरूको भेलामा मङ्गलबार राख्नुभएको हो ।
“पार्टी कार्यकर्ताहरू सक्रिय नभएपछि प्रतिक्रियावादी पार्टीहरूले जनतालाई जालझेलमा पार्छन् । कालाबजारिया, तस्कर, बैङ्क माफियाहरूले कानुनबमोजिमको कर तिरेकै छैनन् । उनीहरूले शासक दलहरूलाई निर्वाचनमा सहयोग गर्छन् । यसकारण, निर्वाचनपछि सामानको मूल्य बढ्छ ।” अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले अगाडि भन्नुभयो, “देश र जनताको पक्षमा निर्वाचनलाई उपयोग गर्ने भएकोले पैसा बाँडेर मत लिनु गलत हो । जनता सचेत भएपछि क्रान्ति हुन्छ । जनता राजनीतिकरूपले सचेत नभएसम्म समाजवाद आइहाले पनि टिक्दैन । कार्यकर्ताहरू जीवित रहेसम्म सङ्घर्षलाई छोड्नुहुँदैन । सङ्घर्षलाई छोड्नु आत्मसमर्पण हो ।”
पञ्चायतकालमै राजतन्त्र र भारतीय विस्तारवाद मुख्य शत्रु भएको निष्कर्ष निकालेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले राजतन्त्र गयो तर, भारतीय विस्तारवादको कारण नेपालीलाई दुःख भइरहेको भन्नुभयो ।
“सिद्धान्त नमिल्नेहरूको निर्वाचन गठबन्धन खिचडीमात्र हो । नागरिकता विधेयकले ट्रम्प र बाइडेनका छोरा नातिलाई नेपालको राष्ट्रपति र प्रधानमन्त्री बनाउन धोका खोल्नेछ । एमसीसी सम्झौता देशको सार्वभौमिकतामाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेप हो,” अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पुँजीपति वर्गको हितमा कानुन बनाउने पुँजीवादी गणतन्त्र हो । यसकारण, कामदार वर्गको हित गर्ने समाजवादी गणतन्त्र जरुरी छ । निर्वाचनमा यही विषय जनताको बीचमा राख्नु आवश्यक छ ।”
पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले बहुदल र गणतन्त्रको ३३ वर्षयता सरकारमा गएका पार्टीहरूले सार्वजनिक ऋण २० खर्ब र व्यापार घाटा पनि २० खर्ब नै पु¥याएको उल्लेख गर्दै पार्टीका कार्यकर्ताहरूलाई निर्वाचन आचारसंहिता पूर्णरूपले पालना गर्न गराउन जोड दिनुभयो ।
निर्वाचनको सिलसिलामा पार्टी कार्यकर्ताहरू देशभरिका जनतालाई राजनीतिकरूपले शिक्षित गर्न लागिपर्नुपर्ने उल्लेख गर्दै सचिव सुवालले युक्रेनमा रुसविरुद्ध अमेरिकी साम्राज्यवादको आक्रमणको कारण रुस र युक्रेनका ४० लाख बालबालिका गरिबी रेखामुनि झरेको, संसारमा नै इन्धन र खाद्यान्न सङ्कट भएको र यसको दोषी अमेरिकी साम्राज्यवाद नै भएको स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित प्रतिनिधिहरूले देशको सीमा रक्षा र सार्वभौमिकताको रक्षाको सङ्घर्ष अघि बढाउन, देशलाई सिक्किम बनाउने, नेपाली लेण्डुपहरूलाई उदाङ्ग्याउने, कृषिमा आत्मनिर्भर बनाउन जोत्नेलाई जमिन वितरण गराउन सङ्घर्ष गर्ने, माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन, स्वास्थ्य सेवा निःशुल्क गराउन, नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती खारेज गराउन, स्वदेशमा रोजगारी बन्दोबस्त गराउन सङ्घर्ष गर्ने उल्लेख गर्दै सचिव सुवालले बढ्दो वातावरण प्रदूषण रोक्न देशको सन्तुलित विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
पार्टी जिल्ला समितिका अध्यक्ष एवम् बाग्मती प्रदेशको भक्तपुर निर्वाचन क्षेत्र नं १ (२) का उम्मेदवार सुरेन्द्रराज गोसाईको सभापतित्वमा भएको सो भेलाले जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजूको संयोजकत्वमा भक्तपुर जिल्ला निर्वाचन परिचालन समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *